२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

रत्न तथा खनिजमा लगानी गर्न ८ विदेशी कम्पनी इच्छुक, लगानी भित्र्याउन एक्स्पो आयोजना गरिँदै

काठमाडौँ — स्वदेशी रत्न, पत्थर तथा खनिजलाई प्रवर्द्धन र निर्यात गर्न खानी तथा भूगर्भ विभागले जेम एण्ड ज्वेलरी एक्स्पो गर्ने भएको छ । नेपाल सुनचाँदी तथा रत्न आभूषण महासंघको सहकार्यमा आयोजनामा हुने एक्स्पोले विदेशी उद्यमी व्यवसायीलाई पुँजी तथा प्रविधि निवेष गर्न प्रोत्साहन गर्ने जनाएको छ । 

आयोजकका अनुसार लगानी सम्मेलन पश्चात् मलेसियादेखि हङकङसम्मका करिब ८ उद्योगीले यस क्षेत्रमा लगानी गर्न इच्छा देखाएका छन् । अन्य उद्योगीलाई पनि आकषिर्त गर्न एक्स्पो आयोजना गर्न लागेको जनाएको छ ।


'स्वदेशी काइनाइट बिश्व बजारमा प्रसिद्ध छ । रत्न, पत्थर तथा खनिजको पूर्वदेखि पश्चिमसम्म सम्भावना छ,' खानी सम्पदा महाशाखा प्रमुख तथा विभागका उपमहानिर्देशक रामप्रसाद घिमिरेले भने, 'यी विषय जानकारी गराउन एक्स्पो गर्न लागेका छौ । लगानी गर्न अव्हान गर्छौं । लगानी नगरे स्वदेशी पत्थर तथा खनिज खरिद गर्न आग्रह गर्छो ।' एक्स्पोमा भारत, श्रीलंका लगायत सबै सार्क राष्टसहित चीन, थाइल्याण्ड र जापान तथा युरोपियन राष्ट्रहरुलाई पनि सहभागी गराइने जनाएको छ ।


विभागका अनुसार रत्न तथा पत्थरमा बिदेशी लगानी आएको छैन । 'भारतीय र चिनियाँ बढी इच्छुक छन् । चुनढुङ्गा, मेटलमा बढी आउन चाहेका छन,' उनले भने, 'अन्य क्षेत्रमा पनि लगानी गर्न आग्रह गर्छो ।'


महासंघका अध्यक्ष रमेश महर्जनले मलेसिया देखि हङकङसम्मका करिब ८ जना उद्योगीहरु लगानी गर्न इच्छुक रहेको बताए । 'दार्चुला, जाजरकोट, मनाङ, धादिङ, सिन्धुपाल्चोक, लाङटाङ, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम लगायत स्थानमा रत्न तथा पत्थरको सम्भावना छ । यी क्षेत्रमा रत्न तथा पत्थरको अर्बो डलरको बजार छ,' अध्यक्ष महर्जनले भने, 'एक्स्पोबाट बहुमुल्य तथा अर्धबहुमुल्य रत्न पत्थर, स्वदेशी कच्चा प्रदार्थको अन्वेषण, उत्खनन्, प्रशोधन र प्रयोगको सम्भावनालाई स्पष्टपारी आन्तरिक तथा बाह्य प्रविधि एवम् पुँजीलाई आकषिर्त गर्छो ।'


विभागका अनुसार २०६५/६६ सम्ममा २४ वटा खानी सञ्चालनमा थिए । कच्चा पदार्थ पनि सीधै निर्यात हुन्थ्यो । सरकारले २०७१ मा एक तह भए पनि प्रशोधन गर्नुपर्ने निर्णय गरेको थियो । 'त्यसपश्चात आर्थिक क्षमता नभएकै कारण उद्योगहरु प्रभावकारी भएन । उत्पादन हुन सकेको छैन,' उपमहानिर्देशक घिमिरेले भने, 'एक्स्पोले उत्खनन्मा केही सहयोग पुग्नेछ ।'


एक्स्पोमा सहभागिता जनाउन साउथ अफ्रिका, थाइल्याण्ड, बेल्जियम, अमेरिका लगायत मुलुकलाई निम्तो दिइने उनले बताए । 'एक्स्पोमा सीप, र स्वदेशी बजार देखाउँछौ । खनिज तथा आभूषण व्यवसायीहरु बीच व्यापारिक सम्बन्ध बिस्तारका लागि अवसर जुटाउँछौ,' उनले भने । एक्स्पोमा स्वदेशी तथा बिदेशी गरी करिब ७० कम्पनी सहभागि हुनेछन् । एक्स्पो जेठ ३ गतेदेखि सुरु हुने जनाएको छ ।

प्रकाशित : वैशाख ५, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?