१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

धान आयात घट्यो

विनोद भण्डारीे

विराटनगर — प्रदेश १ मा यो वर्ष धान उत्पादन वृद्धि भएसँगै जोगवनी र काँकडभिट्टा नाकाबाट धान र चामलको आयात गतवर्षको दाँजोमा केही घटेको छ । 

प्रदेश कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार यो प्रदेशमा गतवर्षको तुलनामा यस वर्ष ७५ हजार ३५ टन धान बढी उत्पादन भएको छ । यो गतवर्षको तुलनामा १३ दशमलव ८० प्रतिशतले बढी हो । गतवर्ष यो प्रदेशमा ११ लाख ८६ हजार ६ सय ३१ टन धान उत्पादन हुँदा यस वर्ष १२ लाख ६१ हजार ६ सय ६६ टन धान उत्पादन भएको छ ।


जोगवनी नाकाबाट चालु वर्षको फागुनसम्ममा १ अर्ब ९ करोड ७६ लाख २३ हजार मूल्य बराबरको ४ करोड १० हजार ९ सय ५३ किलो धान र १ अर्ब २७ करोड ५९ लाख ८७ हजार मूल्य बराबरको ३ करोड १७ लाख ७६ हजार ३ सय ४८ किलो चामल आयात भएको भन्सारको तथ्यांक छ ।


गतवर्ष यही अवधिमा यो नाकाबाट १ अर्ब १४ करोड १ लाख ४५ हजार मूल्यको ४ करोड २० लाख ५७ हजार किलो धान र १ अर्ब २८ करोड ५३ लाख ३७ हजार मूल्य बराबरको ३ करोड १९ लाख ५३ हजार किलो चामल आयात भएको थियो । गत आर्थिक वर्षभरिमा यो नाकाबाट १ अर्ब ५५ करोड ७८ लाख मूल्यको ५ करोड ५८ लाख ६१ हजार किलो धान र २ अर्ब ११ करोड ३५ लाख मूल्यको ५ करोड २५ लाख ६३ हजार किलो चामल आयात भएको थियो ।


गतवर्षको आठ महिनाको तुलनामा यो वर्ष काँकडभिट्टा नाकाबाट धानको आयात घटेको र चामलको आयातमा केही वृद्धि भएको मेची भन्सारको तथ्यांक छ । गतवर्ष यो नाकाबाट आठ महिनामा १७ करोड ७६ लाख ३७ हजार मूल्यको ५९ लाख ४५ हजार ६ सय किलो धान आयात भएकोमा यस वर्ष सोही अवधिमा १३ करोड २ लाख ७६ हजार मूल्यको ३९ लाख ३९ हजार ५ सय किलो धान आयात भएको छ ।


गतवर्ष १७ करोड ७० लाख ८५ हजार मूल्यको ४८ लाख १४ हजार ४ सय किलो चामल आयात हुँदा यस वर्ष सोही अवधिमा २० करोड ८८ लाख ५३ हजार ८ सय मूल्यको ५३ लाख ४९ हजार ३ सय २५ किलो आयात भएको मेची भन्सारको तथ्यांक छ ।

धान/चामल सम्बद्ध व्यवसायीका अनुसार अहिलेसम्म स्थानीय उत्पादनले नै मिल र बजार धानेकाले आयात न्यून देखिएको हो ।


चामलका थोक विक्रेता राजकुमार अग्रवालले भने चाडपर्वको सुरुवातसँगै चामल र धानको आयात ह्वात्तै बढ्छ । धान खेत प्लटिङ गरेर घर निर्माण गर्नेक्रम हरेक वर्ष बढ्दै गर्दा यो प्रदेशमा हरेक वर्ष खेतीयोग्य जमिन घट्दो छ । कृषि विकास निर्देशनालयको तथ्यांकअनुसार विगतमा यो प्रदेशमा ३ लाख ५० हजार हेक्टरमा धान खेती हुन्थ्यो ।


अहिले ३ लाख २५ हजार ३ सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती सीमित भएको निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलको भनाइ छ । उनका अनुसार दशकमा यो प्रदेशमा करिब २५ हजार हेक्टर धान खेत घटेको छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?