कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ करोडको क्षति ८ करोड राहत

रमेशकुमार पौडेल

चितवन — अघिल्लो वर्षको वैशाख २३ गते साँझपख आएको हावाहुरी र असिनाले पदमपुर, रत्ननगर, खैरहनी र भरतपुर क्षेत्रमा केरा खेतीलाई ठूलो नोक्सानी गर्‍यो । 

३३ करोडको क्षति ८ करोड राहत

तत्कालीन जिल्ला कृषि विकास कार्यालयको मूल्यांकनअनुसार हावाहुरी र असिनाले गर्दा केरा खेतीमा मात्रै ३३ करोड १९ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भयो । ‘३३/३४ करोड रुपैयाँ बराबरको नोक्सानी हुँदा बाली बिमा गरेकाहरू जो जो छन् उनीहरूले मात्रै राहत पाए ।


बिमामार्फत लगभग आठ करोड रुपैयाँ मात्रै राहत उपलब्ध भयो । अरूले केही पाएनन्,’ चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले भने । पदमपुरका नारायण पुडासैनीको हावाहुरीका कारण केराका झन्डै ४५ सय बोट नष्ट भए । असिनाले लागेर बेच्ने तयारी अवस्थामा रहेका केराका सबै फल क्षतविक्षत भए ।


‘एक घरी केरा सरदर चार सय रुपैयाँमा बजारमा बेच्न सकिन्छ । मैले एउटो कोसो बेच्न सकिनँ । त्यो बेला १८ लाख रुपैयाँको नोक्सान भयो,’ पुडासैनीले भने । उनले केराको बाली बिमा गरेका थिएनन् । त्यसैले कुनै राहत पाएनन् । चितवन केरा उत्पादक संघका पूर्वअध्यक्ष लक्ष्मण सुवेदीको केरा पनि हावाहुरी र असिनाको मारमा पर्‍यो ।


बजार मूल्यअनुसार झन्डै एक करोड रुपैयाँको केरा नष्ट भयो । उनले केरा खेतीको बाली बिमा गरेका थिए । त्यसैले बिमा कम्पनीमार्फत ३७ लाख रुपैयाँ बराबर राहत बुझे । बाली बिमाको चलन ०७० सालबाट सुरु भएको हो । त्यो वर्ष चितवनका कुनै पनि केरा किसानले बाली बिमा नगरेको चितवन केरा उत्पादक संघका अध्यक्ष महतो बताउँछन् । महतोले नै अर्को वर्षबाट बाली बिमा गर्न थालेका हुन् । पहिलो बाली बिमाबापतको प्रिमियम रकम सरकार र किसानले आधा आधा तिर्नुपथ्यो ।


एक वर्षपछि सरकारले ७५ प्रतिशत र किसानले २५ प्रतिशत मात्रै तिरे बिमा हुने नीति आयो । त्यसपछि किसानहरूमा बाली बिमातर्फ चासो बढेको अध्यक्ष महतोले बताए । ‘बेला बेलामा हावाहुरी र असिनाले भसक्कै नोक्सान गराउँछ । यस्तो घटना बर्सेनि हुन्छ । अघिल्लो वर्ष त निकै ठूलो घटना भयो । यस्तो आपतविपतले गर्दा बिमाको आवश्यकता बोध हुने हो । धेरैलाई समेट्न अझै सकिएको छैन,’ महतोले भने ।


महतोका अनुसार जिल्लामा २८ सय बिघामा केरा खेती हुन्छ । ६३५ जना किसान यो खेतीमा आबद्ध छन् । अघिल्लो वर्षसम्म १७० जना किसानको साढे चार सय बिघा केरा खेतीको मात्रै बिमा भएको थियो । यो वर्ष २८० जना किसानले नौ सय बिघा केराखेतीको बिमा गरेका छन् । अवस्था सुधार उन्मुख भए पनि सन्तोषजनक नभएको महतो बताउँछन् । जानकारीको अभाव र प्रक्रियामा हुने झन्झटले बिमा कम भएको उनले बताए ।


अघिल्लो वर्ष लाखौंको केरा भसक्कै भएका कारण नारायण पुडासैनी योपटक बिमा गर्न सक्रिय भए । ‘मेरो १२ बिघामा केरा खेती छ । साढे चार बिघाको बिमा गरिसकेको छु । अरू त पुरानो पनि भयो तर थप दुई बिघाको भने गर्नै पर्ने छ । गर्न खोजेको कहिले के पुगेन कहिले के पुगेन भनेर दौडधुपमै धेरै समय लागेको छ,’ पुडासैनीले भने । प्रायः किसानले जग्गा भाडामा लिएर केरा खेती गर्छन् ।


बिमा गर्दा लालपुर्जा र करार सम्झौतापत्र पेस गर्नुपर्ने हुन्छ । यस्ता कागजपत्र जुटाउन नसक्दा बिमा गर्न गाह्रो हुने गरेको अध्यक्ष महतोले बताए । ठूला केरा किसानहरू धेरैले बिमा गर्छन् । ५५ बिघामा केरा खेती गरेका पूर्वअध्यक्ष लक्ष्मण सुवेदीले सबैको बिमा गरेका छन् । हालका अध्यक्ष महतोले पनि सबै २२ बिघाको बिमा गरेका छन् । चितवनमा केरा खेतीको विस्तार हुँदै गरेको छ ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भरतपुर महानगर १ र कालिका नगरपालिकाको १ देखि ८ नम्बर वडा तथा रत्ननगर र खैरहनी पूरै नगरपालिकालाई जोडेर ‘केरा जोन’ कार्यक्रम सञ्चालन भएको छ । आयोजनाका सूचना अधिकारी इन्द्र ढुंगनाका अनुसार ६८२ किसान र १ हजार ३५ हेक्टर जमिन जोनमा सूचीकृत भएको छ । बिमा गरे नगरेको विवरण भने छैन ।


‘बिमाका लागि हामीले अभिप्रेरित भने गरेका छौं । जोखिम कम गर्न बिमा आवश्यक छ भनेका छौं । बिमा कार्यक्रम नै चलाउने योजना हाम्रो छैन,’ ढुंगानाले भने । चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोका अनुसार संघमार्फत एक बिघा खेतीको बिमा गराउँदा किसानले प्रिमियमबापत तीन हजार ६ सय रुपैयाँसम्म तिर्नुपर्छ । बिमा गरेर नोक्सान भएमा एक बिघाको दुई लाख ८० हजार रुपैयाँसम्म पाइन्छ ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?