नेपालगन्जमा पाँचतारे सोल्टी

मधु शाही

बाँके — नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको ५ तारे ग्रिन होटल ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ सञ्चालनमा आएको छ । एक वर्षदेखि परीक्षणमा रहेको उक्त होटलले अहिले अन्तर्राष्ट्रिय ग्रिन होटलको मान्यता पाएको हो । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरे । 

नेपालगन्जमा पाँचतारे सोल्टी

कार्यक्रममा सहभागी प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाँचतारे होटल यहाँ खोलिनुले प्रदेशको गौरव बढेको बताए ।

प्रधानमन्त्री ओलीले भने वातावरणीय दृष्टिले स्वस्थ मानिएको ग्रिन होटललाई यहाँका स्थानीय खाद्य सदुपयोग गर्न अनुरोध गरे । यसका लागि किसानसँग साझेदारी गरेर अर्गानिक उत्पादनमा जोड दिन सुझाव दिए ।


‘ठूला होटलले पर्यटक प्रवर्द्धनका साथै स्थानीय किसानलाई समेत टेवा पुर्‍याउनुपर्छ’, उनले भने, ‘आन्तरिक उत्पादन प्रयोग गर्नुहोस् । रसायन नमिसिएका परिकार पकाउनुहोस् ।’ १ अर्ब २५ करोडको लगानीमा होटल निर्माण भएको अध्यक्ष दिनेशबहादुर विष्टले बताए । निकट भविष्यमा लाइभ क्यासिनो सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । क्यासिनो सञ्चालनपछि झन्डै २ सय जना स्थानीयले रोजगार पाउनेछन् ।


होटल सञ्चालनपछि पर्यटकको आकर्षण बढ्ने विष्टले दाबी गरे । ‘हामीकहाँ स्तरीय र वातावरणमैत्री होटलको कमी छ’, उनले भने, ‘सोल्टीले यसैको कमी पूरा गर्न खोजेको हो ।’ होटलमा सुविधा सम्पन्न ८१ कोठा छन् । होटल परिसरभित्रै पर्यटनलाई आवश्यक प्राविधिक जनशक्ति तयार गर्न हस्पिटालिटी भोकेसनल ट्रेनिङ सेन्टर डिभिजनसमेत सञ्चालनमा छ । यो डिभिजन गेट कलेजले सञ्चालन गर्छ ।


होटलमा स्वीमिङ पुलसहित स्पा तथा वेलसेन सेन्टर छन् । ठूला र साना समारोह, सम्मेलन गर्न दुईवटा सभा हल रहेको विष्टले बताए ।


अमेरिकाको वासिङटनस्थित यूएस ग्रिन विल्डिङ काउन्सिलबाट पर्यावरणमैत्री ग्रिन होटल लिड ‘लिडरसिप इनर्जी एन्ड इन्भ्वारोमेन्टल डिजाइन’ बाट प्रमाण होटलले पाएको छ । विष्टका अनुसार यस्तो प्रमाणपत्र पाउने यो होटल पहिलो हो । होटललाई भारतको बिजनेस टेलिभिजनले ‘नेपालको पहिलो ग्रिन होटल’ नामक अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्रदान गरेको छ ।


विष्टले होटल पूर्वाधार निर्माणकै क्रमदेखि पूर्ण वातावरणमैत्री बनाएको दाबी गरे । रेडियन टेक्नोलोजी, फोहोर व्यवस्थापन प्रविधि, वायु प्रशोधन गरी पुनःप्रवाह, वर्षातको पानी पुनर्भरण व्यवस्था, पानी शुद्धीकरण संयन्त्र, ध्वनि प्रदूषण नियन्क्रण, रिजेन टेक्नोलोजीयुत्त लिफ्ट, सौर्य ऊर्जा र स्वचालित कम्प्युटर प्रविधियुक्त भवन व्यवस्थापन सिस्टम होटलमा जडान गरिएको छ । मानवीय संस्कारसहितको पाहुना सत्कारमा होटल सचेत हुने महाप्रबन्धक इन्द्र खड्काले बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?