कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

मकैको मःम, मकैकै पकौडा

सजना बराल

काठमाडौँ — केरा, स्याउ, चिकेन वा मःमकै मात्र विविध परिकार पाइने ठाउँ थुप्रै छन् । मकैको परिकारका लागि पनि अब नयाँ गन्तव्य खुलेको छ, चाबहिल चोकमा । यहाँको ‘मिस्टर कर्न’ रेस्टुरेन्टले मकैका दर्जनौं परिकार तयार पार्छ । अमेरिकन कर्न, कर्न डग्स, कर्न मःम, कर्न फ्रिटर, कर्न चाउमिन, कर्न राइस विद लोकल कुखुराजस्ता परिकार धेरैको जिब्रोमा झुन्डिन थालेका छन् । 

मकैको मःम, मकैकै पकौडा

‘युनिक खालका खानेकुरा खान पाइएको छ,’ शुक्रबार दिउँसो रेस्टुरेन्टमा अर्डर दिँदै गरेका कामना विकास बैंकका कर्मचारी दिनेश दाहालले भने, ‘नयाँ स्वाद छ । पहिले पोलेको मकै मात्र खाएको थिएँ । यसरी मकैका मिक्स्ड परिकार पहिलोपटक खाइरहेको छु । मन पर्‍यो ।’ उनी अचेल खाजामा मकैको मःम, मकैको पकौडा र कर्न डग्सलगायत खान्कीको मजा लिन्छन् । यी स्वस्थकर र मीठो भएको उनले बताए । मेनुमा अझै परिकार थप्न सुझावसमेत दिए । मिस्टर कर्नमा २० देखि २ सय ५० रुपैयाँसम्मका परिकार पाइन्छन् । वैशाख १५ सम्म ३० प्रतिशत छुट दिइएको छ ।


मकैलाई ब्रान्डका रूपमा स्थापित गर्न यसका सञ्चालकद्वय राज अधिकार र दुर्गाबहादुर सुवेदी लागिपरेका छन् । ‘हाम्रो कन्सेप्ट नयाँ छ तर कन्सेप्ट मात्र होइन स्वाद नै बेच्न चाहन्छौं,’ अधिकारीले भने, ‘खानेहरूले मन पराइरहनुभएको छ ।’ उनी आफ्ना परिकारबारे धेरैलाई जानकारी दिन खोज्दै छन् ।


चाहबिलबाट बौद्ध जाँदा बायाँतिर रहेको कामना विकास बैंकको भुइँतलामा यो रेस्टुरेन्ट छ । हरियो रङको गेटमा ढाका टोपी लगाएर दंग हाँसेको मकैको लोगो देखिन्छ । खुटकिला टेकेर उँधो झरेपछि मकैकै रङका टेबुल–कुर्सी, भित्ता र बोर्डहरू भए ठाउँ पुगिन्छ । भन्नै परेन, मिस्टर कर्न त्यही हो । अधिकारी र सुवेदीले चैत २४ मा १० लाख रुपैयाँ लगानी गरेर यो रेस्टुरेन्ट सुरु गरेका थिए । तीन जनालाई रोजगारी दिएका छन् ।


सुवेदीका अनुसार रेस्टुरेन्टको व्यापार खासै सप्रिहालेको छैन । दैनिक ४/५ हजार रुपैयाँ मात्रै कमाइ भइरहेको बताए । उनीहरूको लक्ष्य दिनको १० हजार रुपैयाँसम्म आर्जन गर्ने हो । त्यो लक्ष्य चाँडै पूरा हुनेमा विश्वस्त छन् । ‘नयाँनयाँ छौं, प्रचार भइसकेको छैन,’ उनले भने, ‘अरू ठाउँमा पनि चेन खोल्ने योजना छ ।’ उनीहरू नयाँ बानेश्वरतिर ठाउँ खोज्दै छन् । यसपछि अन्य ठाउँ र सहरमा फैलिन चाहेको बताए । मकैका परिकारलाई स्थापित गरिछाड्ने अठोट यी दुईको छ ।


ललितपुरको महालक्ष्मी नगरपालिकाका स्थानीय यी दुई छिमेकी पनि हुन् । मर्निङ वाकका क्रममा यो रेस्टुरेन्टबारे आइडिया फुरेको बताए । वैदेशिक रोजगारीबाट फर्किएका सुवेदी र इन्जिनियर अधिकारीले रेस्टुरेन्ट खोल्नुअघि मकै र मकैका परिकारबारे थोरबहुत अध्ययन गरेछन् । चामलपछिको महत्त्वपूर्ण अन्न रहे पनि यसलाई ब्रान्डिङ गर्न नेपाल चुकिरहेको देखे । ‘मकै छोडाएर प्याक गर्ने एउटा कम्पनी समेत छैन हामीकहाँ,’ अधिकारीले भने, ‘बजार उपलब्ध स्विट कर्न सबै आयातित हुन् ।’


मिस्टर कर्नमा गुलियो मकैका परिकार धेरै बन्छन् । जापानमा रेस्टुरेन्टमै काम गरेर फर्किएका कमल सुवेदीसहित दिल तामाङ र बालकिशोर बराल मकैलाई विविध स्वादमा उर्तान खप्पिस देखिन्छन् । चाबहिल गणेशथानतिरै पाइने हरिया मकैलाई समेत उनीहरू उसिन्ने, भुट्ने, पकौडा, चाउमिन आदि बनाउन प्रयोग गर्छन् । हामीकहाँ विशेषतः मकैलाई उसिनेर, भुटेर, पोलेर वा ढिँडो/रोटी बनाएर खाने चलन छ । नेपालमा यसलाई यतिमै सीमित राखे पनि भारत, अमेरिका, इजरायल, भेनेजुएलातिर मकैका अनेकौं परिकार बन्ने गरेका छन् । कपितय रेसेपी युट्युबबाट सिक्ने गरेको सुवेदीले बताए ।


रेस्टुरेन्ट सञ्चालमा ल्याउनुअघि सुवेदी र अधिकारीले मकैलाई लिएर रोचक अनुभव सुनेछन् । रेस्टुरेन्ट दर्ता गर्न गएका बेला कम्पनी रजिष्ट्रारको कार्यालयका एक कर्मचारी उनीहरूको योजना सुनेर रन्किएछन् । ‘पहाडमा यही मकै खाएर वाक्क भइएको थियो,’ तिनलाई उद्रित गर्दै सुवेदीले भने, ‘अब फेरी हामीलाई १५ वर्ष अगाडी धकेल्न खोज्ने ?’


यो सुनेर उनीहरू हाँसे । यसले मकैका परिकारलाई लिएर आम मानिसको बुझाइ झल्काउने बताए । यसबाट सातु, ढिँडो वा रोटी मात्रै बन्दैन सी मःमदेखि हट डग्स, चाउमिन र बर्गरसमेत बनाउन सकिन्छ भनेर प्रमाणित गर्न चाहेको बताए ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?