२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एनसेललाई कर–‘समीक्षा गर्दै छौं’

काठमाडौँ — एनसेलको मातृ कम्पनी आजियटाले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरसम्बन्धी पत्र पाएको जनाएको छ । आजियटाले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट सात दिनभित्र कर बुझाउने म्यादसहित पत्र पाएको जानकारी गराएको हो ।

एनसेललाई कर–‘समीक्षा गर्दै छौं’

ठूला करदाता कार्यालयको पत्रमा सात दिन अर्थात् वैशाख ९ गते भित्रमा बाँकी कर दाखिला गर्न भनिएको छ । ‘आजियटा र एनसेलले अहिले पत्रको समीक्षा गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।


एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनो होल्डिङ्सलाई नर्वेली कम्पनी टेलिया सोनेराबाट आजियटाले २०७२ चैत २९ मा खरिद गरेको थियो । टेलिया सोनेराले नेपालमा भएको स्वामित्व बिक्री गर्दा लाभांश नतिरेको भन्दै लामो समय मुद्दा सर्वोच्च अदालतमा विचाराधीन थियो ।


सर्वोच्चमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलसहितले एनसेललाई विपक्षी बनाएर दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले केही महिनाअघि टेलिया नेपाल छाडिसकेको अवस्थामा तिर्नुपर्ने पुँजीगत लाभकरको दायित्व आजियटा र एनसेलको जिम्मेवारी भएको फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार ठूला करदाता कार्यालयले एनसेलको कर निर्धारण गरेको हो ।


एनसेलको ८० प्रतिशत सेयर १ खर्ब ४४ अर्ब रुपैयाँमा बिक्री भएको थियो । बिक्री हुँदा लाभ भएको रकममा २५ प्रतिशत पुँजीगत लाभकर लाग्छ । ठूला करदाता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार रुपैयाँ निर्धारण गरिसकेको छ । ठूला करदाता कार्यालयका अनुसार समयमै कर नबुझाएकाले त्यसमा ५० प्रतिशत अर्थात् १८ अर्ब ३३ करोड ठ लाख ३६ हजार रुपैयाँ जरिवाना लगाइएको छ ।


यो अवधिको ब्याज ८ अर्ब ३९ करोड ८ लाख लगाइएको छ । जरिवाना र व्याजसहित कर निर्धारण गर्दा एनसेलको कर दायित्व ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार पुगेको हो । एनसेलले यसअघि नै २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ बुझाइसकेको छ । बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ बुझाउन ठूला करदाता कार्यालयले पत्राचार गरेको हो ।


आजियटाले जारी गरेको विज्ञप्तिमा हालसम्म नेपालको कानुन नियमनलाई पूर्ण रूपमा पालना गरेको बताइएको छ । ‘चार वर्षयता एनसेलले १ अर्ब १७ करोड अमेरिकी डलर कर तिरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष मात्रै एनसेलले २५ करोड अमेरिकी डलर बढी कर तिरेको छ जुन नेपालको कल राजस्वको ४ दशमलव २ प्रतिशत हो ।’

प्रकाशित : वैशाख ७, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?