२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

ककनीमा जापानी च्याउ

कृष्ण थापा

नुवाकोट — ककनी स्ट्रबेरीले चिनिए पनि पछिल्ला दिनमा यो ठाउँको परिचय विस्तार भइरहेको छ । अब यहाँ मिठो स्ट्रबेरी मात्र होइन, जापानी च्याउ पनि पाइन्छ । ककनी २ काउलेका प्रेमबहादुर तामाङ यसको व्यावसायिक खेतीमा जुटेका छन् । उनी जापानी सिताके च्याउ खेती गरिरहेका छन् । पारिवारिक आयस्तर बढ्दै गएको छ ।

ककनीमा जापानी च्याउ

काठमाडौंका अशोक शाहीलगायतले गरेको च्याउ खेतीको प्रविधि हेरेर तामाङले सुरु गरेका हुन् । सिताके च्याउ लगाइने काठ ९/१० महिनासम्म पानीले भिजाइराख्नुपर्छ । ‘६ भागमा एक भाग मात्र फलेको छ,’ उनले भने, ‘अझै फल्दै छ । सिजनमा २०/३० किलो बेच्न सकिन्छ ।’


होलसेलमा काठमाडौंमा ८ सय रुपैयाँ किलोमा बिक्री भइरहेको छ । उक्त च्याउ खाँदा सुगर, प्रेसर र क्यान्सर रोगीका बिरामीलाई फाइदा हुने गरेको अनुभव तामाङले सुनाए । ‘मैले सुनेअनुसार सुगर र प्रेसरलाई यसले बढ्नै दिँदैन,’ उनले भने, ‘क्यान्सर रोगका बिरामीलाई पनि फाइदा गर्छ भनेको पाएँ ।’


उनले च्याउखेती गर्न कटुसको गोलो आकारको काठ प्रयोग गरेका छन् । ती एक मिटर लम्बाइ र बोक्रा नताछिएका छन् । त्यसैलाई तामाङले एक वर्षसम्म सफा पानीको आलमा डुबाए ।


काठ झिकेर कालो प्लाष्टिक टनेलभित्र कैंची पारेर च्याउखेती गर्न प्रयोग गरेका छन् । त्यसपछि ठाउँठाउँमा प्वाल बनाई च्याउको बीउले भरे । प्वाल टालेपछि बेलाबेलामा पानी हाल्दै गरेपछि कटुसको काठ फुल्दै च्याउ उम्रिने तामाङले बताए । अन्य च्याउखेती गर्दा भने परालका टुक्राहरू प्रयोग गरिन्छ ।


यो च्याउ पोलेर खान मिल्ने उनले बताए । च्याउखेती गर्न २०/२५ लाख रुपैयाँ खर्चेर प्लास्टिक टनेल बनाएका छन् । टनेल बनाउन पनि एक वर्ष लागेको तामाङले बताए । एक रोपनी जमिनमा टनेलभित्र प्लास्टिक ओछ्याएर ती काठमा सिताके च्याउ लगाएका छन् । ‘यो च्याउलाई मेहनत धेरै चाहिने रहेछ,’ तामाङले भने, ‘फलेपछि बिक्री हुँदैन भन्ने चिन्ता छैन ।’


केही गर्छु भन्ने जोस जाँगर भएका किसानलाई सक्दो सहयोग प्रदान गरिएको तरकारी जोनका कार्यालय प्रमुख डा. कमलराज गैरेले बताए । उक्त च्याउखेती जिल्लाको पञ्चकन्या गाउँपालिकामा पनि थालिएको छ । १८ वर्ष अघि तामाङको बारीमा ४० भारी मकै फल्थ्यो । ज्याला मजदुरी गर्न सहर पसेका थिए । तैपनि जहान पाल्न धौधौ थियो । अहिले ६ जनाको परिवार च्याउखेती र फलफूल खेतीले पालिएको छ । उनले यही ठाउँमा ‘पैसाको बोट’ देखिएको बताए । ‘मकै र कोदोले ३/४ महिना मात्रै खान पुग्थ्यो । सीप र मेहनत भए गाउँमै पैसा रहेछ,’ उनले भने ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?