२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खरायोले दिलायो आम्दानी

विनु तिम्सिना

विराटनगर) — कुनै बेला खरायो सोखका लागि पालिन्थ्यो । अचेल मोरङमा भने व्यावसायिक रूपमै पाल्न थालिएको छ । मोरङ कटहरी गाउँपालिका ३ का २७ वर्षीय सञ्जय राजवंशीले युट्युबमा राखिएको सामग्री हेरेरै खरायोपालन सुरु गरेका छन् । 

खरायोले दिलायो आम्दानी

सुरुवातमा उनले पनि सोखकै लागि खरायो पाले । थोरै लगानी र मिहेनत पनि धेरै गर्न नपर्ने भएपछि दुई वर्षदेखि व्यावसायिक रूपमै खरायोपालन सुरु गरेका छन् । इटहरीस्थित खरायो संकलन केन्द्रबाट तालिम लिएर एन्जल कृषि फार्म दर्ता गरे । सुरुमा १५ वटा खरायो पाले । अहिले उनीसँग सयभन्दा बढी खरायो छन् ।


राजवंशीले चिचिल्ला, ह्वाइट न्युजील्यान्ड, क्यालिफोर्निया र डज जातका खरायो पालेका छन् । ‘नेपालमा पाइने प्रजातिका खरायो हुन्,’ उनले भने, ‘वयष्क हुँदासम्म ४ देखि ५ केजीसम्म तौलका हुन्छन् ।’ व्यावसायिक रूपमा पालिएका खरायोले ६ महिना पालेपछि प्रत्येक १ महिनादेखि ४० दिनभित्रमा बच्चा जन्माउने गर्छ । ‘एउटा खरायो माउ बन्न ६ महिना पाल्नुपर्छ,’ उनले भने, ‘त्यसपछि बच्चा जन्माउँछ ।’


खरायोले एकपटकमा १२ वटासम्म बच्चा जन्माउने गर्छ । एक महिनासम्म माउले दूध खुवाएर हुर्काउँछ । अनि माउबाट छुट्याएर घाँस खुवाएर व्यवस्थित खोरमा ती बच्चा राखिन्छन् । यसरी हुर्काएका खरायो ६ महिनामा मासुको लागि उपयुक्त मानिन्छन् । राजवंशीले माउ खरायो राख्ने छुट्टै कोठा बनाएका छन् भने हुर्किंदै गरेका बच्चा खरायो र भाले खरायो पनि छुट्टाछुटै स्थानमा राख्ने गर्छन् ।


उनको फार्ममा अहिले २२ वटा माउ खरायो छन् । ‘खरायोले प्रशस्तै बच्चा जन्माउने भएकाले व्यवसाय विस्तार गर्न ठूलो पुँजी खर्चिनु पर्दैन,’ उनले भने, ‘खरायोको मासुको माग बजारमा बढदै छ, किसानले उत्पादन गरेको खरायोले बजार नपाउने अवस्था छैन ।’ खरायोपालनमा खासै धेरै मेहेनत पनि नपर्ने उनी बताउँछन् ।


राजवंशीले पालेको खरायोको मासु प्रतिकेजी १ हजार रुपैयाँमा स्थानीय बजारमै बिक्री हुन्छ । फेसबुकमा पेज बनाएर पनि उनले आफ्नो व्यवसायको प्रवर्द्धन गर्दै आएका छन् । ‘अचेल त फेसबुकको जमाना छ, मैले पनि मेरो फार्मको फेसबुक पेज बनाएको छु,’ उनले भने, ‘फेसबुकमै हेरेर इलाम, बिर्तामोड, बुटवल, नारायणघाटबाट खरायोको माग आउँछ ।’ जिउँदो खरायो प्रतिगोटा १ हजार ८ सय रुपैयाँमा बिक्री गर्छन् । सबै खर्च कटाएर मासिक ३० देखि ४० हजारसम्म नाफा हुने गरेको उनले बताए ।


थोरै लगानी र कम मिहिनेतमा पनि राम्रै नाफा हुने खरायोपालन व्यवसाय हेर्न राजवंशीको फार्ममा दैनिक भीड लाग्छ । उनको सिको गर्दै अहिले मोरङको रङगेली, जहदा, अमरदहलगायत क्षेत्रका कृषकले पनि खरायो पाल्न सुरु गरेका छन् । खरायोको मासु निकै पौष्टिक हुने भएकाले पनि यसको माग बढदै गएको छ । रातो मासुले स्वास्थ्यलाई फाइदा नगर्ने र खरायोको मासु सेतो हुने भएकाले यसको माग बढिरहेको राजवंशी बताउँछन् ।


(प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ८, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?