कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मौरी पाल्छन् कुस्ती खेलाडी

प्रतिघार ८ हजार रुपैयाँका दरले ५ घारबाट व्यवसाय सुरु गरेका खत्रीले अहिले ८० घार मौरी पालिरहेका छन्
भवानी भट्ट

कञ्चनपुर — कुस्तीका अब्बल खेलाडी थिए नरेन्द्र खत्री । चौथो र पाँचौं राष्ट्रिय खेलकुदमा लगातार पदक जितेका थिए । केहि वर्ष उनी कुस्तीका प्रशिक्षक पनि भए त्यसपछि उनको मन कृषितर्फ मोडियो । ४ वर्षअघि भैंसी र मौरीपालन सुरु गरेका उनी हाल जिल्लाकै नमुना मह उत्पादक कृषकका रूपमा चिनिएका छन् । 

मौरी पाल्छन् कुस्ती खेलाडी

कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वनगाउँका खत्री अहिले भैंसी र गाईपालनसँगै मौरीपालनमा रमेका छन् । यही व्यवसायले उनलाई खेलकुदभन्दा बढी आनन्द दिएको छ । छोराछोरीको पढाइसँगै घरपरिवारको खर्च पनि यसैबाट चलेको छ ।

५ घारबाट मह उत्पादन सुरु गरेका खत्रीसँग अहिले ८० घार मौरी छन् । वार्षिक २० क्विन्टल हाराहारीमा मह उत्पादन हुन्छ । प्रतिकिलो ८ सयका दरले मह बिक्री भइरहेको छ । ८० घारमध्ये केही घरमै राखेका छन् । बाँकी चराउनका लागि विभिन्न ठाउँमा राखेका छन् । उनले चुरे फेदीको हल्दुखाल, तिलकेनी जिमुवामै आफन्तको घरमा चराउनका लागि राखेका छन् ।

‘आफन्तकै घरमा राखेर चराउने गरेको छु,’ खत्री भन्छन्, ‘सिजनअनुसार चराउनका लागि अन्यत्र पनि लैजान्छु ।’ एक घारमा १० गोला हुन्छन् । राम्रो चरनसँगै उचित व्यवस्थापन र वातावरण भएमा एउटा घारबाट वर्षमा दुई/अढाई क्विन्टल मह उत्पादन गर्न सकिने उनले बताए । कुनैबेला चरन नभएर उत्पादन गरेको महसमेत मौरी जोगाउन घारमै राख्नुपर्ने उनले बताए ।

४३ वर्षीय खत्रीले मौरीपालन सुरु गर्दा कतै पनि कुनै किसिमका तालिम लिएका थिएनन् । इन्टरनेट र मौरीपालक कृषकहरूबाट जानकारी लिएर उनले काम सुरु गरेका हुन् । अहिले उनी मह मात्रै उत्पादन गर्नेभन्दा पनि औषधीय गुण भएको मह उत्पादनमा बढी लागेका छन् । पछिल्लो समयमा परिमाण वृद्धिभन्दा पनि गुणस्तरमा जोड दिएको उनले बताए ।

शुद्ध मह सेवनले ५० प्रतिशतभन्दा बढी रोगबाट बच्न सकिने उनको विश्वास छ । त्यही भएर मह उत्पादनमा यसलाई पनि ख्याल गर्नुपर्ने उनको जोड छ ।

विभिन्न प्रविधिहरू अपनाएर उनी आफैं मौरीको रानी उत्पादन पनि गरिरहेका छन् । हरेक वर्ष हरेक गोलामा रानी परिवर्तन

गर्नुपर्ने हुन्छ । यदि रानी परिवर्तन नभए मह उत्पादन राम्रो हुँदैन । उत्पादन गरेको रानी एकको मात्रै एक हजार लाग्ने गर्छ । पुरानो रानीलाई भगाएर मात्रै नयाँ रानी फेर्न पाइन्छ ।

खत्रीले तराईमा सम्भावना भए पनि चुनौतीका रूपमा हेरिएको युरोपियन मिलिफेरा जातको मौरीपालन सुरु गरे । कैलालीको मसुरियाबाट प्रतिघार ८ हजारका दरले उनले ५ घार मौरी ल्याएका थिए । अहिले त्यही ५ घारबाट उनले ८० घार पुर्‍याएका छन् । ‘यसलाई अझै व्यवस्थित गरेर पाल्ने सोचमा छु,’ उनले भने, ‘मौरीबिना कृषि नै सम्भव छैन, त्यही भएर मौरीको संरक्षणका लागि पनि यसमा जोड दिनुपर्ने देखिएको छ ।’

मह मिठोका लागि मात्र नभई औषधिका लागि सेवन गर्न सकिने भएकाले मह उत्पादक कृषकहरूले पनि यसलाई मध्यनजर गरी उत्पादन गर्नुपर्ने बताए । घारमा मौरीले बच्चाका लागि राख्ने र अभावका बेला खानका लागि राख्ने ठाउँ छुट्याइएको हुन्छ । बढी र चाँडोचाँडो मह उत्पादनका लागि कतिपयले बच्चालाई खुवाउन राखिएको मह निकाल्ने गरेको पाइन्छ । त्यो मह राम्रो हुँदैन । अभाव भएका बेला खान भनेर राखेको मह नै उच्च गुणस्तरको हुने उनले बताए ।

तराईमा लिची, आँप, जामुन, तोरी, सिसम र टिक मौरी चर्ने प्रमुख स्रोत हुन् । कतिपयले चुरे क्षेत्रमा लगेर पनि चराउने गरेका छन् । मौरीले मह उत्पादन गरेर आम्दानी मात्रै दिँदैन । कुनै बेला त्यसलाई पाल्नुपर्ने पनि हुन्छ । प्रायः असारदेखि असोजसम्म मौरीलाई त्यसैले उत्पादन गरेको मह खुवाएर जोगाउनुपर्ने उनले बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?