कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'हुवावेमा सरकारी लगानी’

रोयटर्स

न्युयोर्क — अमेरिकी अनुसन्धान संस्था सीआईएले चिनियाँ दूरसञ्चार कम्पनी हुवावे टेक्नोलोजीमा चीन सरकारको लगानी रहेको आरोप लगाएको छ । सीआईएका अनुसार चीनको राष्ट्रिय सुरक्षा आयोग, पिपल्स लिबरेसन आर्मी र चाइनिज स्टेट इन्टेलिजेन्स नेटवर्कबाट हुवावेले लगानी प्राप्त गरिरहेको छ । 

बेलायत, अस्ट्रेलिया, क्यानडा र न्युजिल्यान्डसमेत सदस्य रहेको फाइभ आइज इन्टेलिजेन्ससँगै अमेरिकाले यसबारे गत वर्ष नै दाबी गरेको थियो । हुवावेले यी आरोप मिथ्या भएको बताउँदै आएको छ ।


टाइम्स म्यागजिनसँगको कुरामा हुवावेका प्रतिनिधिले अपुष्ट र बिनाआधारका आरोपमा प्रतिक्रिया नजनाउने बताएका छन् । चीन र अमेरिकाबीच जारी व्यापार युद्ध सल्टिएला कि भन्ने बेला सीआईएको पछिल्लो आरोप बाहिर आएको हो । अमेरिकी अधिकारीले हुवावेले अन्तर्राष्ट्रिय नीति उल्लंघन गरेको बताइरहेका छन् ।


अर्को चिनियाँ प्रविधि कम्पनी जेडटीई कर्पसमेत अमेरिकामा यस्तै प्रकारको विवादमा फसिरहेको छ । अमेरिकाले जेडटीईलाई गत अप्रिल र जुलाईबीच उसका अधिकांश व्यापार बन्द गर्न आदेश दिएको थियो ।


सम्झौता विपरीत काम गरेको र अमेरिकी सामानलाई अवैधानिक रूपमा इरान र उत्तर कोरिया पठाएको भन्दै अमेरिकी वाणिज्य विभागले जेडटीएविरुद्ध आवाज उठाएको थियो । जेडटीएले १.४ अर्ब जरिवाना तिरेपछि प्रतिबन्ध फुकुवा गरिएको थियो ।


आउँदो महिना प्रागमा हुने कार्यक्रममा अमेरिकाले आफ्ना समर्थक राष्ट्रलाई साझा सुरक्षासम्बन्धी नीति अवलम्बन गर्न अनुरोध गर्ने योजना छ । यसले हुवावेलाई फाइभजी टेलिकम्युनिकेसन्स नेटवर्कमा प्रभुत्व कायम गर्न थप अप्ठ्यारो पार्नेछ । यस्तोमा हुवावेले भने आफ्ना फाइभजी फोनहरू सस्तोमा बेच्न लागेकोबारे समाचार बाहिर आएका छन् । द फाइनान्सियल टाइम्सका अनुसार हुवावले ६ सय डलरमा फाइभजी फोन बेच्नेछ, यो मूल्य प्रतिस्पर्धीको भन्दा आधा हो ।

फाइभजी प्रयोगका लागि महँगा फोन पनि चुनौती रहेको बेला हुवावेले यस्तो रणनीति बनाइरहेको स्रोतको दाबी छ । हुवावेको वायरलेस मार्केटिङका प्रमुख मार्केटिङ अधिकृत पिटर झाउका अनुसार चिनियाँ समूहले यो वर्ष ६ सय डलरमै फाइभजी फोन बेच्न सक्नेछन् ।


‘कतिपयले अर्को वर्ष ३ सय डलरमै फाइभजी फोन उपलब्ध हुन सक्छ भन्छन्,’ पिटरको भनाइ छ, ‘मलाई पनि यो सम्भव छ भन्ने लाग्छ ।’ हुवावेको सस्तो दर एप्पललगायत प्रतिस्पर्धी कम्पनीका लागि ठूलो चुनौती हुन सक्ने उनले बताए । दूरसञ्चार उपकरणमा सर्वाधिक ठूलो बजार ओगटेको हुवावे गत वर्ष अमेरिकी कम्पनी एप्पललाई जितेर दोस्रो ठूलो स्मार्टफोन निर्माता बनेको थियो ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?