३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रेमिट्यान्स अस्थिर

यज्ञ बञ्जाडे

काठमाडौँ — पछिल्ला पाँच महिनायता रेमिट्यान्स वृद्धिदर निरन्तर घट्दो छ । चालु आर्थिक वर्षका अघिल्ला तीन महिना (साउन, भदौ र असोज) मा लगातार बढेको रेमिट्यान्स वृद्धिदर त्यसपछिका महिनामा घटेको हो ।

अमेरिकी डलरको मूल्यमा आएको गिरावटसँगै, बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर घटेकाले रेमिट्यान्स वृद्धिदर पनि घटेको जानकारहरू बताउँछन् ।


राष्ट्र बैंकका अनुसार गत फागुनसम्म ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर २३.४ प्रतिशतले बढेको हो । ०७४ फागुनमा यस्तो वृद्धिदर ४.९ प्रतिशत थियो । गएको आठ महिनामा रेमिट्यान्सको औसत वृद्धिदर ३२.७७ प्रतिशत छ । गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह बढेको देखिए पनि पछिल्ला महिनामा वृद्धिदर निरन्तर रूपमा घटिरहेकाले यसलाई अस्थिर मान्नुपर्ने अर्थविद्हरू बताउँछन् ।


निर्यात, पर्यटनलगायत बाह्य क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेको बेला विदेशी मुद्राको प्रमुख स्रोत रेमिट्यान्स मात्र बनेको छ । विगतमा व्यापार घाटाभन्दा रेमिट्यान्स आप्रवाह धेरै रहेको अवस्था थियो । त्यतिबेला व्यापार घाटाको कमीलाई रेमिट्यान्सले क्षतिपूर्ति गरेकाले चालु खाता र शोधानान्तरमा चाप परेको थिएन ।


केही वर्षयता परिस्थिति बदलिएको छ । व्यापार घाटा अकासिएको छ । रेमिट्यान्स वृद्धिदर घट्दो क्रममा छ । गएका दुई वर्षका प्रायः सबै महिना चालु खाता र शोधनान्तर ऋणात्मक हुनु यसैको प्रभाव भएको अर्थविदहरू बताउँछन् ।


पछिल्ला महिनामा अमेरिकी डलरको विनिमय दर घट्नुका साथै निक्षेपको ब्याजदरमा पनि कमी आएकाले रेमिट्यान्स आप्रवाह वृद्धिदर घटेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख गुणाकर भट्टले बताए । ‘डलर कमजोर हुनुको प्रभाव रेमिट्यान्समा परेको देखिन्छ,’ उनले भने, ‘बैंक ब्याजदरमा कमी अर्को कारण हो ।’


यसअघि ब्याजदर उच्च हुँदा राम्रो प्रतिफल कमाउने आसले आएको रेमिट्यान्स अहिले ब्याजदर कम भएको समयमा घटेको हुन सक्ने उनको भनाइ छ । योसँगै सरकारले अनौपचारिक व्यापारमा कमी गरेकाले पनि चालु आर्थिक वर्षको सुरुमा रेमिट्यान्स आप्रवाह बढेको हुन सक्ने भट्टले बताए ।


गत फागुनसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.५ प्रतिशतले बढेको थियो । डलरको तुलनामा नेपाली मुद्रा बलियो बन्नुका साथै रोजगारीमा विदेश जाने नेपालीको संख्या घटेकाले रेमिट्यान्स आप्रवाह दर घटेको रेमिटर्स एसोसिएसनका अध्यक्ष सुमन पोखरलले बताए ।


‘पहिलो कारण डलरको मूल्य घट्नु हो भने दोस्रो कारण विदेश काम गर्न जाने कामदार घट्नु हो,’ उनले भने, ‘अमेरिकी डलरको विनिमयदर घटेसँगै रेमिट्यान्स भित्रिने अनौपचारिक माध्यम सक्रिय हुँदै जान्छन् । अहिले पनि त्यही भएको हो ।’ केही वर्षयता रोजगारीका लागि बिदेसिने नेपाली घटिरहेकाले त्यसको प्रत्यक्ष प्रभाव रेमिट्यान्समा परेको पोखरेलले बताए ।


चालु आर्थिक वर्षको आठ महिनाका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८.३ प्रतिशतले घटेको छ । रोजगारीका लागि अन्तिम श्रम स्वीकृतिका आधारमा उक्त तथ्यांक निकालिएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले घटेको थियो । सो अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४.६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।


नेपाल भित्रने रेमिट्यान्समध्ये करिब ७० प्रतिशत भन्दा बढी खाडी मुलुकबाट आउने गरेको छ । खाडी राष्ट्रहरूमध्ये पनि साउदी अरब, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स (दुबई) र बहराइनबाट मात्र उक्त रकम नेपाल भित्रिएको हो । सो क्षेत्रका सदस्य राष्ट्रहरू ओमनबाट औपचारिक माध्यमबाट रेमिट्यान्स भित्रने गरेको छैन । हाल परिस्थिति बदलिएको छ । पछिल्ला एक/डेढ वर्षयता साउदी र कतारको हिस्सा घट्दै छ भने मलेसियाको अंश बढ्न थालेको तथ्यांकहरूमा देख्न सकिन्छ ।


अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानडा, अमेरिका आदि) बाट करिब १२ प्रतिशत रेमिट्यान्स मात्र मुलुक भित्रिँदै गरेको सरकारी तथ्यांक छ ।


खाडी राष्ट्रहरूको तुलनामा ती मुलुकमा नेपाली कामदारको संख्या कम भए पनि आम्दानी निकै धेरै हुन्छ । त्यो आम्दानीको ठूलो हिस्सा नेपाल पनि भित्रन्छ । त्यो रकमलाई वैधानिक बाटो (फर्मल च्यानल) मा समेट्न सकिएको छैन । यसले एकातिर नेपालमा अनौपचारिक अर्थतन्त्रले प्रश्रय पाइरहेको छ भने अर्कातिर रेमिट्यान्सको वास्तविक अवस्था र योगदानको सही मूल्यांकन हुन नपाएको विज्ञहरू बताउँछन् ।

प्रकाशित : वैशाख ९, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?