‘यार्सा हिउँले खाने भयो’

सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँकेखोला, हयाजिङथान, हाङदाङलगायत क्षेत्रमा अझै करिब आठ फिटसम्म हिउँ 
राजबहादुर शाही

मुगु — मुगमकार्मारोङ गाउँपालिकाको उच्च हिमाली क्षेत्रमा हिउँ नपग्लिदा यार्सा उम्रिन र टिप्न समस्या हुने भएको छ । पुसदेखि चैत महिनासम्म पटकपटक परेको हिउँ अझै बिलाएको छैन ।

‘यार्सा हिउँले खाने भयो’

सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँकेखोला, हयाजिङथान, हाङदाङलगायत क्षेत्रमा अझै करिब आठ फिटसम्म हिउँ जमेको छ । हिउँ नपग्लिएपछि स्थानीयलाई याार्सा संकलन गर्न अन्योल भएको हो ।


अझै हिउँ नपग्लिएकाले यार्सा उम्रिन समस्या भएको स्थानीयले बताए । यार्सा संकलन गरेको रकमले वर्षभरिको खाद्यान्न र दैनिक उपभोग्य सामग्रीको जोहो गर्ने स्थानीयवासी हिउँका कारण चिन्तित बनेका छन् । गर्मी मौसम सुरु भएसँगै उम्रिन सुरु गर्ने यार्सा स्थानीयले वैशाख अन्तिम सातादेखि संकलन गर्ने गरेका छन् । ‘योपटक यार्सा पाउन मुस्किल हुने भयो,’ मुगु गाउँका गुरुराउटे लामाले भने, ‘पाटन क्षेत्रमा बाक्लो हिउँ पग्लिएको छैन, कसरी यार्सा उम्रिएला ?’ उनका अनुसार तातोले हिउँ पग्लिँदै जाने र यार्सा उमि्रँदै जाने भए पनि वैशाख महिनासम्म हिउँले जमिन नछोड्दा यार्साको जीवाणु जमिनमै कुहिने सम्भावना छ । उनले भारी हिमपातले यस वर्ष यार्सा उम्रिने सम्भावना कम भएको जनाए ।


वैशाख लागेपछि यार्सा टिप्न पाटन उक्लिने स्थानीयवासी पाटनमा बाक्लो हिउँ जमेपछि निराश भएका छन् । ‘अहिलेको यार्सा हिउँले खाने भयो,’ किम्री गाउँका फोन्जोक लामाले भने, ‘यार्सा उम्रिने क्षेत्रमा सात फिट बढी हिउँ जमेको छ, यार्सा टिपेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई धेरै समस्या हुने भयो ।’ समुद्र सतहदेखि करिब ४५ सय मिटर उचाइमा यार्सा उम्रिने गरेको छ । कात्तिक मंसिरमा पुतलीले फूल पार्ने र पुस माघको हिउँले च्यापिएर पग्लदै जाँदा लार्भा यार्सा भएर जमिनमा उम्रिने गरेको अनुसन्धानकर्ताले जनाएका छन् ।


बाक्लो हिउँले गर्दा यो वर्ष स्थानीयलाई यार्सा टिप्न समस्या हुने देखिएको मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘हिउँ पग्लेसँगै स्थानीयलाई यार्सा संकलनको अनुमति दिने हाम्रो तयारी छ तर, हिउँ नपग्लँदा यार्सा कम उत्पादन हुने सम्भावना देखिएको छ,’ उनले भने, ‘यार्सा टिप्न जाने स्थानीयबाट राजस्व कसरी उठाउने भन्नेबारे समेत छलफल चलाइरहेका छौं ।’ उनका अनुसार मुगुमकार्मारोङ गाउँपालिकाको उच्च हिमाली पाटनमा २०५६ सालदेखि यार्सा टिप्न सुरु गरिएको हो ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?