हुवावेको आम्दानी बढ्यो

चीन — चिनियाँ कम्पनी हुवावेको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको सन् २०१९ को पहिलो त्रैमासिक आर्थिक प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा आम्दानी र नाफा दुवै बढेको हो ।

हुवावेको आम्दानी बढ्यो

यो त्रैमासिकमा हुवावेले १ खर्ब ७९ अर्ब ७० करोड चिनियाँ यूयान (करिब २७ अर्ब डलर) रुपैयाँ आम्दानी गरेको कम्पनीले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।


यो आम्दानी गत वर्षको भन्दा ३९ प्रतिशतले बढी हो । यही अवधिमा कम्पनीको खुद नाफा पनि बढेको छ । तीनमहिने अवधिमा कम्पनीको खुदा नाफा अनुपात ८ प्रतिशत रहेको छ ।


यो अघिल्लो त्रैमासको भन्दा केही बढी भएको कम्पनीले जनाएको छ । ‘हुवावेले सूचना प्रविधि पूर्वाधार, स्मार्ट डिभाइसमा केन्द्रित भएर सञ्चालनको प्रभावकारिता वृद्धि गरेका कारण यो नतिजा आएको हो,’ कम्पनीले जारी गरेको प्रतिवेदनमा भनिएको छ ।


यो वर्ष फाइभजी प्रविधिको हुने कम्पनीले जनाएको छ । यो प्रविधिका कारण हुवावेको हुवावे क्यारियर बिजनेस ग्रुपको बढोत्तरीको सम्भावना रहेको प्रतिवेदनमा जनाइएको छ । ‘मार्चको अन्त्यसम्ममा हुवावेले फाइभजी प्रविधिका लागि विश्वभरका ४० वटा क्यारियरसँग व्यावसायिक सम्झौता गरेको छ,’ प्रतिवेदनमा भनिएका छ ।


हुवावेको इन्टरप्राइज बिजनेस ग्रुपले विश्वकै पहिलो वाइफाइ सिक्स एक्सेस प्वाइन्ट सुरु गरेको छ । यो फाइभजी केन्द्रित प्रविधि हो । यो अवधिमा हुवावेले अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी वाईफाई सिक्स उत्पादनहरू बिक्री गरेको प्रतिवेदनमा जनाइएको छ ।


हुवावेले यो त्रैमासिकमा विश्वभर ५ करोड ९० लाख स्मार्टफोन बिक्री गरेको कम्पनीले जनाएको छ । ‘कम्प्युटर, वेरेवल र स्मार्ट होमजस्ता हुवावेका उत्पादनहरूलाई पनि उपभोक्ताले मन पराएका छन्,’ प्रतिवेदनमा भनिएको छ ।


‘सरकारी लगानी छैन’

हुवावेले आफ्नो कम्पनीमा सरकारी लगानी नभएको जनाएको छ । सञ्चारमाध्यममा हुवावेमा सरकारी लगानी भएको समाचारहरू प्रकाशित भएपछि नेपालस्थित कार्यालयले विज्ञप्ति जारी गर्दै सरकारी लगानी नभएको प्रस्ट्याएको हो ।


‘हुवावे एक निजी कम्पनी हो, जसमा यसका कर्मचारीहरूको स्वामित्व छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीले सुरु गरेको कर्मचारीलाई सेयर दिने अभियानका कारण अहिले ९६ हजार बढी कर्मचारीको कम्पनीमा सेयर छ ।’ यस्ता अभियान कर्मचारीको लागि मात्रै भएकाले कुनै सरकारी अधिकारी वा संस्थाले यसमा सेयर नपाउने कम्पनीले जनाएको छ ।


कम्पनीका सेयर प्राप्त कर्मचारीहरूले एक सय १५ जना प्रतिनिधि चुन्ने र यी चुनिएका प्रतिनिधिले कम्पनीको अध्यक्ष चुन्ने परम्परा रहेको हुवावेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


‘सेयर धनीबाट चुनिएकाहरूले अध्यक्ष र १६ जना सञ्चालक समिति सदस्यहरू चुन्छन्, सञ्चालक समितिले चार उपाध्यक्ष र तीन कार्यकारी निर्देशक चयन गर्छन्,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?