माथिल्लो तामाकोसीलाई 'पेनस्टक पाइप’ चुनौती

जटिल संरचना निर्माण र जडानको काम सकेको माथिल्लो तामाकोसी आयोजनामा अब बाँकी चुनौतीपूर्ण काम पेनस्टक पाइप जडान मात्रै हो
हेडवर्क्स संरचनाको परीक्षण आगामी महिना 
विजय तिमल्सिना

दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडानको काम चुनौतीपूर्ण भएको आयोजनाले जनाएको छ । ४ सय ५६ मेगावाटको यो आयोजनाको हेडवर्क्स, पावर हाउस र सुरुङ निर्माणको काम लगभग पूरा भइसके पनि ठाडो सुरुङमा पेनस्टक पाइप राख्न भने चुनौतीपूर्ण देखिएको हो । 

माथिल्लो तामाकोसीलाई 'पेनस्टक पाइप’ चुनौती

यो काम अहिले भारतीय कम्पनी टेक्सम्याको र अस्ट्रियन कम्पनी एन्ड्रिजले गरिरहेका छन् । आयोजनास्थलमा पेनस्टक पाइपहरू पुगिसकेका छन् । वैशाखको तेस्रो साताभित्रमा पेनस्टक पाइपको काम सुरु गर्न ठेकेदार र आयोजनाबीच सहमति जुटेको नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजना निर्माण गरिरहेको हो ।


आयोजनाको माथिल्लो र तल्लो पेनस्टक सफ्टमा पेनस्टक पाइप जडान गर्नुपर्नेछ । जडानको पेनस्टक पाइपहरू आयोजनास्थल पुर्‍याइसकिएको छ । ५ मिटर लम्बाइ भएका एउटा पाइपको तौल २७ टन हुने आयोजनाले जनाएको छ ।


सुरुङभित्र पाइप जडानका लागि क्रेन जडान र पूर्वतयारी भइरहेको आयोजनाका सहायक प्रबन्धक विमल गुरुङले जानकारी दिए । माथिल्लो र तल्लो सुरुङलाई जोड्ने गरी वेन्ड पेनस्टक पाइप भने जडान भइसकेको छ । ‘बाँकी भएका काममध्ये सबैभन्दा जटिल काम पेनस्टक पाइप जडान मात्रै हो,’ उनले भने, ‘आयोजनास्थलसम्म यी पाइप ल्याउने जटिल काम पूरा भएको छ, अब जडान बाँकी छ ।’ उनले आयोजनाका पावरहाउस, हेडवर्क्स संरचना लगभग पूरा भइसकेकाले पाइप जडानको काम पछि आयोजना परीक्षणको चरणमा प्रवेश गर्ने बताए ।


आयोजनाको हेडवर्क्स संरचनाको परीक्षण भने आगामी महिना सुरु गर्ने तयारी छ । हेडवर्क्समा बाँधको संरचना र पानी नियन्त्रणका लागि हाइड्रोलिक गेट जडान गर्ने काम सकिएको छ । आयोजनामा पेनस्टक पाइप जडानसहित हाइड्रोमेकानिकल कामको जिम्मा भारतीय कम्पनी टेक्सम्याकोले पाएको थियो ।


भारतीय कम्पनीले काममा ढिलाइ गरेपछि आधा कामको जिम्मा एन्ड्रिज हाइड्रोलाई दिइएको छ । आयोजना, टेक्सम्याको र एन्ड्रिजबीच पुस २३ मा पेनस्टक पाइपको काम मिलेर गर्ने गरी त्रिपक्षीय सम्झौता भएको थियो ।


अहिले माथिल्लो सुरुङमा पेनस्टक पाइप जडान एन्ड्रिज र तल्लो सुरुङमा टेक्सम्याकाले काम गरिरहेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शनिबार आयोजनास्थलको निरीक्षण गरी सबै काम निर्धारित समयमा सम्पन्न गर्न आयोजना र ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएका छन् । ‘धेरै जनताको पैसा र आशा जोडिएको राष्ट्रिय गौरवको यो आयोजनामा सबैको ध्यान छ,’ उनले भने, ‘सबै मिलेर तोकिएको समयमै काम सक्नुपर्छ ।’


शनिबार आयोजनास्थलमै ठेकेदार कम्पनीका प्रतिनिधि र आयोजना पक्षबीच बैठक गरिएको थियो । उक्त बैठकमा टेक्सम्याकोका प्रमुख कार्यकारी अधिकृत जीसी अग्रवाल र अन्य ठेकेदार कम्पनीका प्रतिनिधिहरू सहभागी थिए । टेक्सम्याकोका प्रमुख कार्यकारी अधिकृत अग्रवालले आफ्नो कम्पनीको काममा ढिलाइ भएको स्विकार्दै बाँकी काम निर्धारित समयमै सकाउने गरी आयोजनास्थलमा खटिएका आफ्नो व्यवस्थापनलाई निर्देशन दिने प्रतिबद्धता जनाए ।


आयोजनाको निर्माण गत पुसमा सक्ने लक्ष्य लिइएको भए पनि ठेकेदार कम्पनीको ढिलाइ कारण आगामी पुसमा पहिलो युनिटबाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ तालिका निर्धारण गरिएको छ ।


२०६५ चैतमा आयोजनाका लागि ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान तयार गरिएको थियो । ६ वर्षमा आयोजनामा निर्माण हुने अपेक्षासहित तयार पारिएको अनुमानमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएको थियो ।


पूर्णतः नेपाली लगानीमा निर्माण भइरहेको यो आयोजनाको लागत बढेर करिब ७० अर्ब पुग्ने अनुमान छ । निर्माणमा भएको ढिलाइले निर्माण अवधिको ब्याज साढे ६ अर्ब थपिने र कुल लागतमा साढे २० अर्ब थपिने संशोधिन अनुमान गरिएको छ । महँगी, विदेशी मुद्राको विनियम दरमा आएको परितर्वन, आयोजनाको ढिलाइका कारण लागत महँगो हुन गएको आयोजनाले जनाएको छ ।


आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थानले लगानी गरेका छन् । आयोजनामा प्राधिकरणको ४१ प्रतिशत, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाको लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ ।


पिकिङ रन अफ रिभर प्रकृतिको यो आयोजनाले निर्माण पूरा भएपछि नेपाल ऊर्जामा भारत निर्भर हुनु नपर्ने अनुमान छ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?