विदेशबाट फर्केका १९ हजारको आवेदन, एउटैले ऋण पाएनन्

सजना बराल

काठमाडौँ — पाँच वर्ष विदेश बसेर फर्किएका सिन्धुली दुधौली ५ का पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि ऋण चाहिएको छ । गत पुसमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि आवेदन खुला गरेपछि उनले दिनभरि लाइन बसेर आवदेन बुझाएका थिए ।

त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण पाइएला भनेर सोधिरहेका छन् । बोर्डले बैंकमा जान आग्रह गरेको छ ।
‘बिनाधितो सहुलियत कर्जा पाइन्छ भनेर त्यत्रो लाइन बसिएको थियो,’ उनले भने, ‘सरकार संलग्न भएपछि सहज होला भन्ठानेको थिएँ तर अहिलेसम्म केही प्रगति भएको छैन । बेरोजगार छु ।’ पुष्करजस्ता कुल १८ हजार ७ सय ६७ युवा आफूले बुझाएको आवेदन के भयो, ऋण पाइएला कि नपाइएला भन्नेमा अनविज्ञ छन् । प्रवर्द्धन बोर्ड भने यसबारे चासो राख्नेलाई बैंकमा गएर आफ्ना परियोजना देखाउन आग्रह गर्दै आएको छ ।

‘बोर्ड वा नेपाल सरकारले ऋण दिने होइन,’ बोर्डका लेखा अधिकृत नारायणप्रसाद दहालले भने, ‘आवेदकले आफ्ना परियोजना र आवश्यक कागजपत्र बैंकलाई देखाएर ऋण लिन सक्छन् । त्यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ ।’ राष्ट्र बैंकले पुसमै शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, व्यावसायिक कृषि क्षेत्रमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ यथाशीघ्र लागू गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

आवेदन भर्नेहरू भने बोर्डले प्रदान गर्ने टोकन (सिरियल नम्बर) हेर्दै परिणाम आउनेमा आशावादी छन् । बोर्डले गोरखापत्रमा परिणाम निकाल्छ भन्ने सुनेको पुष्करले बताए । यता बोर्डले भने आवदेकको विवरण कम्प्युटरमा इन्ट्री गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको जानकारी दियो । श्रमले अर्थ मन्त्रालयमा विवरण पठाएको छ । ‘अर्थले राष्ट्र बैंकलाई पठाउनेछ,’ श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यसबारे जानकारी देला ।’

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आफूहरूले यसअघि नै बैंक तथा वित्तीय संस्थालाई झकझकाइसके पनि उनीहरू इच्छुक नदेखिएको बताए । सरकारको आग्रहमा आवेदन बुझाएकाहरू ऋण पाउने/नपाउनेमा दोधारमा रहेका बेला यी सरकारी निकायहरू अस्पष्ट कुरा गर्दै बसिरहेका छन् । बोर्ड सचिवालयले आफ्नो काम भनेकै निवेदन आह्वान गरेर न्यूनतम मापदण्ड पूरा गरेका निवेदन संकलन गरी श्रम मन्त्रलायलाई पठाउने भएको र सो काम पूरा गरेको जनाएको छ ।

श्रमले ती निवेदन दुई हप्ताअघि नै सर्लक्क अर्थलाई पठाएको प्रवक्ता रेग्मीले बताए । ‘अर्थले कहिले राष्ट्र बैंकलाई पठाउँछ त्यो उसैलाई सोध्नुहोस्,’ उनले भने । यी विवरणका आधारमा अर्थ मन्क्रालयले आगामी बजेट र नीति तथा कार्यत्रममा यो क्षेत्रलाई सम्बोधन गर्न सक्ने केहीको अनुमान छ । ‘वैदेशिक रोजगारबाट फर्केकाका लागि नीति तथा कार्यक्रममा केही आउँछ कि भन्ने छ,’ बोर्डका लेखा अधिकृत दहालले भने, ‘अहिलेलाई भने आवदेकले बैंकबाट ऋण लिने हो ।’

बोर्डले केही दिनमै आवदेकको सूची आफ्नो वेबसाइटमा राख्न लागेको पनि उनले जानकारी दिए । ‘यसो हुँदा बैंकले पनि विवरण हेर्न सक्छन्,’ उनले भने, ‘मापदण्ड पूरा भए/नभएको जाँचिरहनु परेन ।’ श्रमका रेग्मीले पनि आफूहरूले विवरण संलकन गरेर अर्थ हुँदै राष्ट्र बैंकमा पठाउनु नै ऋणका लागि बैंक तथा वित्तीय संस्थालाई सिफारिस गरेको हुने भनाइ राखे ।

‘कृषिबाहेक अन्य क्षेत्रमा माग नआएकाले अपेक्षित रूपमा ऋण दिन सकिएको छैन,’ एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने । योग्य प्रस्ताव आए ऋण दिन सकिने दाबी उनले गरे ।

कृषि र पशुपालनमा बढी इच्छुक
सहुलियत कर्जाका लागि ऋण लिन चाहनेमध्ये अधिकांशले कृषि तथा पशुपालनसम्बन्धी परियोजना पेस गरेको बोर्डले जनाएको छ । कुल १८ हजार ७ सय ६७ मध्ये ७ हजार ६ सय ७५ जनाले कृषि तथा पशुपालनमा लगानी गर्न चाहेको विवरण छ । यसमा पनि कुखुरापालन गर्न चाहनेको संख्या २ हजार ८ सय ९५ छ भने गाई, भैंसी, बंगुर र बाख्रापालन गर्न चाहनेहरू २ हजार ६ सय ३७ जना छन् । खेती किसानीमा २ हजार २९ जना र माछापालनमा इच्छा देखाउनेको संख्या ११४ जना छ ।

होटल व्यवसाय, यातायात, उद्योग र अन्य व्यवसायमा युवाले विभिन्न खाले परियोजना पेस गरेका छन् । आवदेन भर्नेमा १७ हजार ८ सय ७४ जना पुरुष र ८९३ जना महिला रहेको बोर्डको तथ्यांक छ । यीमध्ये सर्वाधिक ६ हजार ४ सय १७ जना मलेसियाबाट फर्केका छन् ।

साउदी अरबबाट फर्केकाको संख्या ४ हजार ३ सय ९९ र कतारबाट ३ हजार ६ सय १६ जना छन् । यूएई, कुवेत, ओमान, बहराइन, जोर्डन, जापान, दक्षिण कोरियालगायत देशमा श्रमको अनुभव बटुलेका सयौं युवाले स्वदेशमा काम गर्ने इच्छा देखाएका छन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

असारदेखि पाइपलाइनबाटै अमलेखगन्ज डिपोमा तेल भित्र्याउने तयारी

साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न बाँकी 
पवन यादव

सिमरा — असारदेखि पाइपलाइनबाटै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा तेल भित्र्याउन तयारी थालिएको छ । पाइपलाइन रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी छ ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाअन्तर्गत पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रको आधाभार क्षेत्रमा पाइप बिछ्याउँदै । तस्बिर : पवन/कान्तिपुर 

भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालयका प्रमुखसमेत रहेका अमलेखगन्ज आयल निगमका प्रमुख इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।

अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी छ । वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने उनले बताए । ‘जेठ महिना टेस्टिङ गर्नमै लाग्छ,’ उनले भने, ‘असारबाट पाइपलाइनबाटै तेल भित्रिन्छ ।’ अहिले भइरहेको कामको गतिअनुसार असारबाटै तेल भित्रिने अनुमान गरिएको यादवले जानकारी दिए । उनका अनुसार अबको १५ दिनभित्र रूख काटेर रुट क्लियर गरिनेछ ।

वैशाखभित्र पाइप गाड्ने काम पूरा हुनेछ । रूख कटानसँगै पाइपलाइन वेल्डिङ गर्ने र गाड्ने काम पनि भइरहेको मोतीहारी–अमलेखगन्ज परियोजना कार्यालय सिमराका इन्जिनियर शरद पौडेलले बताए ।

यो पनि पढ्नुहोस् :

पाइपलाइलन विस्तार धमाधम, भाडा बचत वार्षिक २ अर्ब


वन क्षेत्र भएकै कारण पथलैया–अमलेखगन्ज निकुञ्ज क्षेत्रमा पाइपलाइन गाड्ने काम ३ महिना पछाडि धकेलिएको परियोजनाका अधिकारीले बताए । संघीय सरकारको मन्त्रिपरिषद्ले गत माघ ३ गतेको बैठकको निर्णयअनुसार पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभार बाराले निकुञ्ज क्षेत्रको रूख काटेर पेट्रोलियम पाइपलाइन गाड्ने अनुमति दिएको थियो ।

अनुमति पाएपछि परियोजनाका अधिकारीले अमलेखगन्ज आयल निगमभन्दा दक्षिण क्षेत्रको झाडी सफा गरेर १० दिनदेखि पाइपलाइन गाड्ने काम सुरु गरेका थिए । त्यही क्रममा पुरानो ठेकेदारले ठेक्का लिन पेस गरेको कागजात फर्जी देखिएपछि उक्त ठेक्का दोस्रो ठेकेदारले पाएका थिए ।उनले पनि प्रक्रिया पूरा गरेर काम सुरुगर्दा अझ केही दिन ढिलो हुन गएको जानकारी दिए ।

मोतीहारी–अमलेखगन्ज पाइपलाइनको दूरी ६९ किलोमिटर रहेको नेपाल आयल निगम अमलेखगन्ज डिपोले जनाएको छ । ३२ दशमलव २० किलोमिटर पाइपलाइन भारतीय क्षेत्रमा र ३६ दशमलव २० किलोमिटर पाइपलाइन नेपाली क्षेत्रमा पर्छ । भारतको रक्सौलदेखि पथलैयासम्म पर्ने २७ किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम वैशाखअगाडि नै सम्पन्न भइसकेको छ । निकुञ्ज क्षेत्रबाहिरको ६० किलोमिटर दूरीमा पाइपलाइन गाड्ने काम सम्पन्नभइसकेको छ ।

पथलैयादेखि अमलेखगन्जसम्मको निकुञ्ज क्षेत्रको पाइपलाइन गाड्ने रुटबाट ८ वटा ब्लक मार्फत ६ हजार ५ सय ६३ वटा रूख तथा पोल काटिंदै छ । यस्तै उक्त रुटबाट ८१ हजार ६ सय पोथ्राहरूको कटान, मुछान, ढुवान, पाइलिङ, घाटगद्दी, जरा उखेल्नेलगायतका काम भइरहेको बीआर सप्लायर्सका सञ्चालक विदुरकुमार विष्टले जानकारी दिए ।

पाइपलाइन विस्तारका तस्बिरहरु :

पेट्रोलियम पाइपलाइन विस्तारकाे काम धमाधम


निकुञ्ज कार्यालयबाट खटिएका कर्मचारीको रोहवरमा टिम्बर कर्पोरेसन शाखा कार्यालय पथलैयाको आदेशअनुसार ठेकेदारले रूख कटान, मुछान गर्ने काम सुरु गरेका हुन् । ८ वटै ब्लकबाट काटिएको रूखबाट ५२ हजार १ सय २४ दशमलव २४ क्युफिट काठ र १ सय ८८ दशमलव ८६ चट्टा दाउरा संकलन हुने अनुमान टिम्बर कर्पोरेसनले गरेको छ ।

निकुञ्ज क्षेत्रमा पाइप गाडिएपछि बरौनी–पटना–कानपुर पाइपलाइनमध्ये पटनाबाट सिधै तेलका लागि यहाँको पाइपलाइन जडान गरिने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराले जनाएको छ ।

तेल भण्डारण गर्न यसअघि अमलेखगन्ज डिपोमा रहेको ४ वटा पुराना ट्यांकीलाई भारतीय ठेकेदार मार्फत मर्मत कार्य अन्तिम चरणमा पुगेको छ, जसमध्ये यसअघि नै २ वटा ट्यांकीको मर्मत कार्य सम्पन्न भइसकेको परियोजना कार्यालयले जनाएको छ ।पहिलो चरणमा १६ हजार किलोलिटर तेल भण्डारण गर्न सक्ने पूर्वाधार तयार गरिएको छ ।

तेल भण्डारण गर्न थप ६/७ वटा भर्टिकल ट्यांक बढाउने योजना नेपाल आयल निगमले बनाएको छ । अहिले दैनिक २ सय ट्यांकर रक्सौलस्थित डिपोबाट इन्धन भर्छन् । वैशाखदेखि इन्धन भर्न रक्सौल पुग्नुपर्ने बाध्यता हट्नेछ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT