कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पुनर्निर्माणलाई साढे चार खर्ब पुगेन

विजय तिमल्सिना

काठमाडौं — २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा करिब साढे चार खर्ब अपुग हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणले मंगलबार पत्रकार सम्मेलन गर्दै पुनर्निर्माणको अवस्थाबारे जानकारी गराएको हो । सम्मेलनमा बोल्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका लागि बजेट अभाव हुने बताए ।

पुनर्निर्माणलाई साढे चार खर्ब पुगेन

‘आवश्यक बजेटका लागि दातृ निकाय र अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,’ उनले भने, ‘केही दातृ निकाय प्रतिबद्धताभन्दा बढी रकम दिन तयार भएका छन् ।’ पुनर्निर्माणका लागि ४ खर्ब २९ अर्ब अपुग हुने देखिएको ज्ञवालीले जानकारी दिए ।

पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजनाअनुसार पुनर्निर्माणका लागि ९ अर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पुनर्निर्माणमा आवश्यक बजेटमध्ये १ खर्ब ८६ अर्ब गत आर्थिक वर्षमा र १ खर्ब २३ अर्ब चालु आर्थिक वर्षमा खर्च भएको प्राधिकरणले जनाएको छ । पुनर्निर्माणका लागि सहकारी तथा निजी क्षेत्रबाट करिब २ खर्ब खर्च हुने प्राधिकरणको अनुमान छ ।

पुनर्निर्माणका लागि अपुग रकम अर्थ मन्त्रालय र दातृ निकायसँग व्यवस्थापन गर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए । विश्व बैंकसँग ५० अर्ब ऋण सहायता (५०० मिलियन डलर) ऋण सहायताका लागि छलफल भइरहेको उनले जानकारी दिए । विश्व बैंकले भूकम्पलगत्तै पनि पुनर्निर्माणका लागि ५० अर्ब ऋण सहायता उपलब्ध गराएको थियो । भारतले प्रतिबद्धता जनाएको १ खर्ब सहायतामध्ये २५ अर्ब अनुदान परिचालनको प्रयास भइरहेको ज्ञवालीले जानकारी दिए । भूकम्पपछि आयोजित लगानी सम्मेलनमा भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र ७५ अर्ब ऋण सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

ज्ञवालीका अनुसार भारतले उपब्ध गराउने भनेको सहायता रकममध्ये १० अर्ब रकम परिचालनका लागि आयोजना व्यवस्थापन परामर्शदाता छनोट भइसकेको छ । यो रकमबाट ७० वटा विद्यालय भवन निर्माण गर्ने योजना छ । ८ वटा विद्यालयको भवन निर्माण गर्न बोलपत्र आह्वान भइसकेको ज्ञवालीले जानकारी दिए ।

भारतले दिने अनुदानबाट स्वास्थ्य संस्थाका भवन र सम्पदा पुनर्निर्माणका लागि पनि सहमति जुटेको उनले जानकारी दिए । भारतले उपलब्ध गराउने ७५ अर्ब ऋण सहायता एक्जिम बैंकबाट आउने उनले बताए ।भारतबाट आउने ऋण सहायतामध्ये ६० अर्ब रुपैयाँ पछि अर्थ मन्त्रालयले अन्य आयोजनामा लगानी गर्ने गरी अहिले मन्त्रालयसँग ६० अर्ब रुपैयाँ माग गरिएको ज्ञवालीले जानकारी दिए । भूकम्पपछि दाताबाट आएको प्रतिबद्धतामध्ये कतिपय रकम समाजकल्यण परिषद्मार्फत आएको उनले बताए । ‘समाज कल्याण परिषद्मार्फत आएका रकम प्राधिकरणसँगको सहकार्यमा खर्च हुन्छ,’ उनले भने ।

पुनर्निर्माण प्राधिकरणलाई ५ वर्षभित्र काम सक्ने जिम्मेवारी दिइएको भन्दै उनले अब बाँकी रहेको २० महिनामा पुनर्निर्माणको सबै काम सक्ने गरी काम गर्ने दाबी गरे । ‘सम्पदा पुनर्निर्माणको काम मिहिन ढंगले गर्नुपर्ने भएकाले केही समय बढी लाग्न सक्छ,’ ज्ञवालीले भने, ‘बाँकी काम पुरातत्त्व विभागसहितका सरकारका निकायले पनि गर्न सक्छन् ।’

५० प्रतिशत निजी आवास निर्माण सम्पन्न भूकम्पपछि प्राधिकरणसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेकामध्ये ५० प्रतिशत प्रभावितले घर पुनर्निर्माण सम्पन्न गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणसँग हालसम्म ७ लाख ६२ हजार ३ सयले अनुदान सम्झौता गरेका छन् । तीमध्ये ३ लाख ८२ हजार घर पुनर्निर्माण भइसकेको प्राधिकरणले जनाएको छ ।अनुदान सम्झौता गरेकामध्ये ३० प्रतिशत घर निर्माणाधीन अवस्थामा छन् । २ लाख ३० हजार ६ सय घर पुनर्निर्माण भइरहेको प्राधिकरणको तथ्यांक छ ।

भूकम्पमा भत्किएका ७ हजार ५ सय विद्यालय भवनमध्ये ५६ प्रतिशत भवन पुनर्निर्माण सम्पन्न भइसकेको प्राधिकरणको तथ्यांक छ । पुनर्निर्माण गर्नुपर्ने विद्यालय भवनमध्ये २१ प्रतिशत भवन पुनर्निर्माण भइरहेको अवस्थामा छन् ।


भूकम्पमा पूर्ण रूपमा क्षतिग्रस्त ५ सय ४४ वटा स्वास्थ्य संस्थाका भवनमध्ये ३ सय १२ वटा भवनको पुनर्निर्माण सकिएको र ५१ वटा भवनको पुनर्निर्माण भइरहेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?