मध्य भोटेकोसी सक्नुपर्ने बेलामा आधा मात्रै 

विजय तिमल्सिना

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी विद्युत् आयोजनाले असार १५ मा विद्युत् उत्पादन गर्ने मिति तोकिएको छ ।

मध्य भोटेकोसी सक्नुपर्ने बेलामा आधा मात्रै 

आयोजनाको सिभिल र हाइड्रो मेकानिकल संरचनाको ठेक्का पाएको चिनियाँ कम्पनीले काममा ढिलाइ गर्दा आधा मात्रै काम भएको छ ।


गत वर्ष असोजदेखि ठेकेदार कम्पनीले रकम अभाव देखाउँदै काम लगभग ठप्प पारेको मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मणि काफ्लेले बताए । उनका अनुसार आयोजनाको भौतिक प्रगति अहिले ५० प्रतिशतको हाराहारीमा छ ।


‘आयोजनालाई पटकपटक काम सुधार्न सचेत गराउँदै आएका छौं,’ उनले भने, ‘पछिल्लो दुईपटक पठाएको पत्रको जवाफसमेत दिएको छैन ।’ आयोजनाको सिभिल र हाइड्रो मेकानिकल कामको जिम्मा चिनियाँ कम्पनी क्वाङ्सी हाइड्रोइलेक्ट्री कन्स्ट्रक्सन ब्युरोले पाएको छ । आयोजनाले चिनियाँ कम्पनीसँग २०७० पुस १७ गते सम्झौता गरेको थियो ।


आयोजना र ठेकेदारबीच भएको सम्झौतामा २०७४ जेठ २६ गते काम सकाउने उल्लेख छ । भूकम्प, जुरो पहिरोजस्ता कारण देखाउँदै ठेकेदारलाई यही असारसम्म म्याद दिइएको थियो । थपिएको म्यादमा समेत ठेकेदारले कामको गति नबढाउँदा आयोजना अन्योलमा परेको छ ।


एक साताअघि मात्रै ठेकेदार कम्पनीलाई काम सुधार नगरे ठेक्का रद्द गर्ने चेतावनीसहित पत्र पठाइएको मध्य भोटेकोसी जलविद्युत् कम्पनीका सीईओ काफ्लेले जानकारी दिए । यसअघि फागुन ११ गते पनि कम्पनीले ठेकेदारलाई सचेत गराउँदै पत्र पठाएको थियो । ‘हामीले काम सुधार्न पठाएको पत्रको जवाफ नै ठेकेदार कम्पनीले दिएको छैन,’ काफ्लेले भने, ‘यो साता आधिकारिक जवाफ आउने खबर पाएका छौं ।’


चिनियाँ कम्पनीले अमेरिकी डलर ६ करोड २० लाख ९१ हजार र २ अर्ब ५७ करोड ९४ लाख रुपैयाँमा कामको ठेक्का पाएको हो । ठेकेदारले निर्माणका लागि आवश्यक पर्ने सामान र औजार नै आयोजनामा स्थलमा ल्याइसकेको छैन । क्वाङ्सीले सिभिल तथा हाइड्रो मेकानिकल काम इन्जिनियरिङ, खरिद र निर्माण (ईपीसी) ढाँचामा जिम्मा लिएको हो । आयोजनाको इलेक्ट्रो मेकानिकल कामको जिम्मा भने एन्डिङज हाइड्रोले पाएको छ ।


आयोजनाका लागि खन्नुपर्ने कुल ७ हजार १ सय २६ मिटर सुरुङमध्ये अहिलेसम्म जम्मा ४ हजार ६ सय ४३ मिटर मात्रै खनिएको छ । गत महिना ठेकेदार कम्पनीको उच्च अधिकारीहरू नेपाल आएर कामलाई तीव्रता दिने प्रतिबद्धता जनाए पनि हालसम्म काम द्रुत हुने संकेत छैन ।


आयोजनाको हेडवर्क्स संरचनाका लागि खोलाको दिशा परिवर्तन गरिएको भए पनि हेडवर्क्स संरचनाको मुख्य काम सुरु भएको छैन । पावर हाउस निर्माणको काम पनि भर्खरै सुरु भएको छ ।


चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीका रूपमा स्थापित मध्य भोटेकोसी जलविद्युत् कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग २०६८ कात्तिकमै विद्युत् खरिद सम्झौता गरेको थियो । आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत् उत्पादन हुनेछ ।


प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् प्रतियुनिट हिउँदमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ । विद्युत् बिक्रीबाट आयोजनालाई वार्षिक २ अर्ब ९० करोड आम्दानी हुनेछ ।


आयोजनाको वित्तीय व्यवस्थापनका लागि कर्मचारी सञ्चय कोषसँग २०६८ कात्तिकमा सम्झौता भएको थियो । सम्झौताको बखत आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड अनुमान गरिएको थियो ।


आयोजना निर्माणमा भएको ढिलाइले लागत निर्माण अवधिको ब्याजबाहेक नै १४ अर्ब ८४ करोड नाघ्ने अनुमान छ । गत आर्थिक वर्षसम्म आयोजनामा करिब ६ अर्ब खर्च भइसकेको छ । आयोजनाको सुरुको लागतमध्ये ५० प्रतिशत स्वपुँजी र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । आयोजनाका लागि आवश्यक ऋण कर्मचारी सञ्चय कोषले उपलब्ध गराउने गरी सम्झौता भएको हो ।


आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३८ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १० प्रतिशतसहित सञ्चय कोषका सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत, स्थानीय जनताको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व रहनेछ ।


योबाहेक नेपाल अरनिको हाइड्रो पावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट प्रालि, सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर १–१ प्रतिशत सेयर स्वामित्व हुनेछ । प्रवर्द्धक र आयोजनामा लगानी गर्ने कम्पनीका कर्मचारीको ४ दशमलव ५ प्रतिशत सेयर रहनेछ ।

प्रकाशित : वैशाख १२, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?