१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

खाद्यले चामल बेच्न सकेन

राजु चौधरी

काठमाडौँ — सरकारले चालु आर्थिक वर्षमा सवा दुई लाख क्विन्टल धान खरिद गरे पनि चामल बिक्री गर्न सकेको छैन । सरकारी लक्ष्यअनुसार न्यून मूल्यमा धान खरिद गरेको खाद्य संस्थानले चामलको मूल्य बजार भाउभन्दा महँगो भएपछि बिक्री गर्न नसकेको हो । 

खाद्यले चामल बेच्न सकेन

संस्थानका प्रवक्ता शंकर सापकोटाका अनुसार खरिद गरिएको धान ढुवानी, कुटानी, प्याकिङ गर्दा प्रतिकिलो बजारको भन्दा ३ देखि ४ रुपैयाँ महँगो भएको छ । ‘यस वर्ष फागुनसम्म २ लाख २५ हजार क्विन्टल धान खरिद भएको थियो । कुटानी गर्दा करिब १ लाख ४० हजार क्विन्टल चामल हुन्छ,’ उनले भने, ‘बजार मूल्यभन्दा प्रतिकिलो ३ देखि ४ रुपैयाँ महँगो पर्ने देखियो ।’


किसानबाट धान खरिद गरेपछि संस्थानले चामल बनाएर बिक्री गर्छ । राजापुर र जनकपुरमा उसको आफ्नै मिल छ । मिल नभएको स्थानमा टेन्डर गरेर कुट्न दिन्छ । प्याकिङ र ढुवानी गरेर मूल्य निर्धारण हुन्छ । कुटानी गरेका चामलको मूल्य बजार भाउभन्दा महँगो देखिएको हो ।


संस्थानका विभागीय प्रबन्धक सुरेन्द्र विष्टका अनुसार धनगढीमा खाद्यको चामलको मूल्य प्रतिक्विन्टल मोटा चामल ४१ सय ७८ रुपैयाँ, महेन्द्रनगरमा ४१ सय २६ रुपैयाँ, नेपालगन्जमा ४ हजार ७६ रुपैयाँ छ ।


नेपालगन्जमा मध्यम चामल प्रतिक्विन्टल ४२ सय ९३ रुपैयाँ, लहानमा मोटा चामल ४१ सय ७३, वीरगन्जमा मध्यम ४१ सय ९९ रुपैयाँ, भैरहवामा ४३ सय ९० रुपैयाँ, बिर्तामोडमा ४३ सय ९ रुपैयाँ पर्छ । निजी व्यापारीले योभन्दा सस्तोमै बिक्री गर्दै आएका छन् ।


‘राजापुर र जनकपुरमा आफ्नै मिल भएकाले बजार मूल्यभन्दा केही सस्तो हुन सक्छ,’ विष्टले भने । संस्थानले मुख्यतः चामल कर्णाली, भेरी, सेती, महाकाली, गण्डकी, धौलागिरि, राप्तीलगायत क्षेक्रमा सहुलियत दरमा बित्री गर्दै आएको छ । फुड बैंकमा पनि मौज्दात गर्नुपर्छ ।


अहिले लागत मूल्य नै बजारभाउभन्दा महँगो परेको हो । खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यका अनुसार मोटा र मध्यम चामल उपत्यकामा थोरै बिक्री हुन्छ । मुख्यतः तराई र दुगर्ममै खपत हुन्छ । उक्त क्षेत्रमै चामलको मूल्य बढी हुँदा उपभोक्तालाई थप मार पर्ने जानकार बताउँछन् ।


लागत मूल्य नै महँगो पर्दा दुगर्मका जनतालाई थप भार पर्ने संस्थानका अधिकारीहरू बताउँछन् । संस्थानका महाप्रबन्धक योगेन्द्र गौचनले खरिद मूल्य नै बढी हुँदा चामल महँगो परेको बताए । ‘सरकारले हिउँदे धान मोटाको न्यूनतम मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यमको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको थियो । किसानले राम्रो मूल्य पाए,’ उनले भने, ‘धान महँगोमा खरिद भएपछि चामलको मूल्य पनि बढी देखिएको छ ।’


लागत मूल्य बढी भएपछि संस्थानले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत ५ करोड ६४ लाख निकासा गरिदिन अर्थ मन्त्रालयसँग माग गरेको छ । अर्थले रकम निकासा गरिदिँदा उपभोक्तालाई केही सस्तो पर्ने संस्थानको दाबी छ । ‘लागत मूल्यमा बिक्री गर्नै सक्दैनौं,’ महानिर्देशक गौचनले भने, ‘अर्थले निकासा गरेपछि केही राहत होला ।’


सरकारले धानको समर्थन मूल्य तोकेपछि सोही मूल्यमा खरिद गर्न नसक्ने जनाउँदै आएको थियो । महँगोमा खरिद गरिएको धान दुगर्मममा पठाउँदा थप महँगो हुने संस्थानको दाबी थियो । ‘अर्थमन्त्रीले रकम निकास गर्ने प्रतिबद्धता जनाएपछि सरकारकै मूल्यमा खरिद गरेका थियौं,’ उनले भने, ‘अहिले चामल महँगो परेको छ । अर्थले रकम उपलब्ध गराए मूल्य घट्छ ।’ संस्थानका अनुसार हाल संस्थानसँग पुरानै १ लाख ८० हजार क्विन्टल चामल स्टक छ । चामल बिक्री नभएपछि संस्थानले सहकारीमार्फत बिक्री गर्ने तयारी गरेको छ ।


निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसक्दा संस्थानको चामल गोदाममै थन्किएको छ । संस्थानलाई व्यावसायिक प्रतिस्पर्धा बनाउन सहकारीमार्फत बिक्री आवश्यक रहेको महानिर्देशकको दाबी छ । सोहीअनुसार कमिसन दिएरै बित्री गर्ने योजना बनााएको हो ।


सहकारीले डिपो, गोदाम तथा कारखाना मूल्यमा प्रतिकेजी ५० रुपैयाँभन्दा कम मूल्य भएकामा ७ प्रतिशत र त्यसभन्दा बढी मूल्य भएकामा ६ प्रतिशतका दरले कमिसन पाउने व्यवस्थासहित निर्देशिका बनाएको छ ।


संस्थानको चामल महँगो भएपछि सहकारीमार्फत बिक्री प्रक्रियामा पनि अन्योल देखिएको छ । ‘सहकारीले संस्थानले तोकेकै मूल्यमा बिक्री गर्नुपर्छ । अहिले बजार मूल्यभन्दा बढी छ,’ महाप्रबन्धक गौचनले भने, ‘सहकारीलाई प्रतिकिलो ४२ रुपैयाँभन्दा घटाउन सक्दैनौं । घटाउनका लागि अर्थले रकम उपलब्ध गराउनुपर्छ ।’ गौचनका अनुसार सहकारीमार्फत खाद्यान्न बिक्री गर्न जिल्ला/जिल्लामा सूचना प्रकाशित भइसकेको छ । सहकारीले चासो पनि दिएका छन् ।’

प्रकाशित : वैशाख १२, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?