कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

तनहुँ जलविद्युत् आयोजना : सीएमसीसँग ठेक्का तोडेपछि अर्को टेन्डर

काठमाडौँ — इटालीको कम्पनी सीएमसीसँग ठेक्का तोडेपछि तनहुँ जलविद्युत् आयोजनाले बाँधसहितको संरचना निर्माणका लागि बिहीबार पुनः टेन्डर आह्वान गरेको छ । आयोजनाले आह्वान गरेको अन्तर्राष्ट्रिय टेन्डरमा बोलपत्र पेस गर्ने म्याद जेठ २६ सम्म छ ।

तनहुँ जलविद्युत् आयोजना : सीएमसीसँग ठेक्का तोडेपछि अर्को टेन्डर

आयोजनाको बाँधसहितको पहिलो प्याकेजको संरचना निर्माणका लागि सीएमसीसँग १५ असोजमा सम्झौता भए पनि सम्झौताअनुसार काम सुरु नगरेपछि आयोजनाले ठेक्का सम्झौता तोडेको थियो । आयोजनाले फागुन २३ गते सीएमसीसँग ठेक्का तोडेको हो ।

पहिलो प्याकेजअन्तर्गत आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नुपर्नेछ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरू एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक (ईआईबी) को सहुलितपूर्ण ऋण परिचालन हुने आयोजनाले जनाएको छ ।

टेन्डर प्रक्रियामा सहभागी हुन चाहने कम्पनीहरूले एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्नुपर्ने तनहुँ हाइड्रो पावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले जानकारी दिए । दातृ निकाय एडीबीको खरिद निर्देशिकाअनुसार एकैपटक दुई प्रस्ताव माग गरिएको हो ।

‘पहिले प्राविधिक प्रस्ताव मूल्यांकन गरी प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिनेछ,’ उनले भने, ‘कात्तिकको दोस्रो साताभित्रमा ठेक्का सम्झौता गर्ने र पुसको दोस्रो साताभित्रमा आयोजनास्थलमा निर्माण व्यवसायी कम्पनी परिचालन गर्ने लक्ष्य छ ।’ आयोजनाको निर्माण २०८१ को असार दोस्रो साताभित्र सक्ने लक्ष्य छ ।

तनहुँ हाइड्रो पावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्थाअनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रूपमा समस्यामा परी ऋणदाताहरूलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेकोलगायतका कारण देखाउँदै सीएमसीसँग ठेक्का तोडेको हो ।

ठेक्का तोडेलगत्तै सीएमसीले नेपाल इन्भेस्टमेन्ट बैंकमा राखेको बैंक ग्यारेन्टी (कार्यसम्पादन जमानत) बापतको करिब २ अर्ब रकम आयोजनाले लिइसकेको छ । इन्भेस्टमेन्ट बैंकले इटालीको इन्टेसा सान पाओलोको ग्यारेन्टीमा सीएमसीका लागि बैंक ग्यारेन्टी जारी गरेको थियो ।

सीएमसीले ठेक्काका लागि इन्भेस्टमेन्ट बैंकबाट ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरोको कार्यसम्पादन जमानत जारी गराएको थियो । सीएमसीले आयोजनाले छलपूर्ण तरिकाले आफूसँगको ठेक्का तोडेको

भन्दै इटालीको अदालतमा मुद्दा दायर गरेको छ । उक्त रिटको सुनुवाइ गर्दै इटालीको ट्रिब्युनल डी बोलोग्नालेले अदालतले वैशाख पहिलो साता इटालीको बैंक इन्टेसा सान पाओलोलाई ग्यारेन्टी रकम इन्भेस्टमेन्ट बैंकलाई नदिन वैशाख १ मा निर्देशन दिएको थियो ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केईसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको सर्भे गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख हुने अनुमान छ ।

प्रकाशित : वैशाख १३, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?