१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मार्सी जोगाउन डीपीआर

एलपी देवकोटा

जुम्ला — एक वर्षमा झन्डै ६ करोड रुपैयाँको मार्सी चामल बिक्री भएको छ । चर्चासँगै बिक्री बढेको हो । ‘जिल्लाभरि नै उत्पादन हुने मार्सी चामल सुर्खेत, नेपालगन्ज र काठमाडौंलगायत देशका विभिन्न सहरमा पुगेको छ,’ कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ बालकराम देवकोटाले भने, ‘कोसेलीका रूपमा पनि ठूलो परिमाणमा बाहिर गइरहेको छ ।’ मार्सी जोगाउन डीपीआर बन्दै छ । 

मार्सी जोगाउन डीपीआर

केन्द्रका अनुसार जुम्लाको २ हजार ९ सय हेक्टर खेतीयोग्य जमिनमध्ये १ हजार ३ सय हेक्टरमा मार्सी उत्पादन भइरहेको छ । त्यसबाट वार्षिक १ हजार १ सय ४४ टन चामल उत्पादन हुन्छ । जसमध्ये ६ सय टनभन्दा धेरै चामल बिक्री हुने गरेको केन्द्रको तथ्यांक छ ।


समुद्र सतहदेखि २ हजार ९ सय मिटर उचाइको छुमचौर ज्युलोमा विश्वकै अग्लो स्थानमा धान फल्ने गरेको छ । पछिल्लो समय मार्सी चामलको माग बढ्दै गएकाले किसानले बिक्री गर्न थालेको कृषि अर्थविज्ञ देवकोटाले बताए । उनका अनुसार व्यापारीले पछिल्लो समय जुम्लाबाट मार्सी बाहिर पठाएर तराईको सेतो चामल उपभोग गरिरहेका छन् ।


धान खेतीमा धेरै दुःख हुने र चामल कम उत्पादन हुन भएकाले बिस्तारै मार्सी छाडदै गएका किसान पछिल्लो समय मार्सीप्रति उत्साही बनेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख डा. तपेन्द्र शाहका अनुसार माग बढदै गएपछि स्थानीय किसानमा मार्सीप्रति रुचि बढेको छ । ‘रैथाने बाली मार्सीको मूल्य राम्रो भएकाले नगदे बालीका रूपमा किसानले लगाउने गरेका छन्,’ उनले भने, ‘यसको संरक्षण र प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं ।’


केही वर्षअघिसम्म दुःख धेरै हुने तर उत्पादन कम हुने भएकाले किसानले मार्सीको विकल्पमा कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको उन्नत जातको धान खेती गर्न थालेका थिए । यसपटक १२ भारी खेतमा मार्सी उत्पादनका लागि बीउ राखेको सिंजा क्षेत्रका किसान पुन्न शाहीले बताए । ‘अघिल्लो वर्ष चार भारी खेतमा मात्रै मार्सी खेती गरेको थिए,’ उनले भने, ‘यसपटक व्यापारी मार्सी किन्न घरमै आएपछि मार्सी खेती बढाएको छु ।’


बजारमा एक सय रुपैयाँ प्रतिकिलो बिक्री हुने चामल अहिले किसानले घरमै १५० रुपैयाँमा बिक्री गर्न थालेका छन् । १५० देखि १८० रुपैयाँसम्ममा खलंगामा मार्सी बिक्री हुने गरेको एमटी अर्गानिक हाउसका सञ्चालक मयालाल देवकोटाले बताए । ‘कोसेलीका रूपमा मार्सी चामल नै सबैको रोजाइ र प्राथमिकतामा पर्ने गरेको छ,’ उनले भने, ‘यस वर्ष १३० क्विन्टलभन्दा बढी चामल बेचिसकें ।’


मार्सीको संरक्षण र प्रवर्द्धनका लागि गुठीचौर गाउँपालिकामा पकेट क्षेक्र घोषणा गरेर कृषि ज्ञान केन्द्रले कार्यत्रम सञ्चालन गरिरहेको छ । जुम्ली किसानले वार्षिक झन्डै ६ करोडको मार्सी चामल बिक्री गर्ने गरेको केन्द्रले जनाएको छ ।


यस्तै अर्गानिक र स्वास्थ्यवर्द्धक भएकाले बजारमा माग बढेपछि मार्सी किन्न व्यापारी किसानको देलौमै पुग्ने गरेका छन् । बजार मागकै कारण मार्सी चामलको अभाव हुन थालेको छ । मार्सी धान जोगाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न थालिएको छ ।


जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि गाउँपालिकाले अहिले डीपीआर तयार गर्न थालेको हो । यो कालीमार्सीको गुणस्तर, उत्पादन परिणाम तथा उत्पादकत्व बढाउन र यसको संरक्षण गर्न आधार हुने जनप्रतिनिधिको भनाइ छ ।


संरक्षणमा सहकारी

जुम्लाको पहिचानका रूपमा रहेको मार्सी संरक्षणमा सहकारीले अग्रसरता देखाएको छ । लोप हुँदै गएको मार्सी धान संरक्षणका लागि चन्दननाथ बहुद्देश्य सहकारी संस्थाले मार्सी धान जोगाउन अभियान नै चलाएको छ ।


चन्दननाथ भैरवनाथ मन्दिरको जग्गामा मार्सी धानको खेती गरेर बीउ जोगाउने अभियान सुरु गरिएको हो । सबैभन्दा उच्च स्थानमा फल्ने कालीमार्सी धान चन्दननाथ बाबासँग जोडिएकाले गुठीको जग्गामा मार्सी धान फलाएर निरोगी बीउ उत्पादन गर्न पहल गरिरहेको सहकारीका प्रबन्धक ऋषिराम पाण्डेले जानकारी दिए । ‘मार्सी धान रोपेर उत्पादित चामल सहकारीले नै सुपथ मूल्यमा बेच्नेछ,’ उनले भने, ‘अहिले सुर्खेतमा सुपथ मूल्यको अर्गानिक पसल स्थापना गरेर मार्सी धानको चामल र बीउ बेच्दै आएका छौं ।’


बिमा गर्दै किसान

मार्सी बचाउनका लागि बिमा गर्न स्थानीय किसान लागिपरेका छन् । धान खेती गर्दा धेरै दुःख गर्नुपर्ने अनि दुःखअनुसारको उत्पादन नहुने भएपछि हैरान भएका किसान मार्सीको बिमामा उत्साही भएका हुन् ।


शिखर इन्स्योरेन्सले जुम्लामा मौसममा आधारित स्याउ खेती बिमा सुरु गरेपछि किसानले मार्सीको पनि बिमा गर्न आग्रह गरेका थिए । जेठ/असारमा रोपिने मार्सी धान कात्तिकमा घर भित्र्याउँदा किसानले अपेक्षा गरेअनुसार हुन नसकेको स्थानीय कृषक अम्मरसिंह रावतले बताए । ‘धान भित्र्याउँदा रोगले सखाप हुने, असिनोले धान झारिदिनेलगायत समस्याले हामी हैरान भएका थियौं,’ उनले भने, ‘अब धानको बिमा गरेपछि केही राहत मिल्ने आशा गरेका छौं ।’


जिल्लाका अधिकांश किसान मार्सी धानको उत्पादनलाई सुनिश्चित गर्न बिमातर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका प्रमुख शाहले बताए । ‘धानखेतीको बिमा गर्दा मार्सी बचाउन सकिने देखिन्छ,’ उनले भने, ‘रोग, असिना, खडेरी,

सुक्खा, धान झर्नेलगायत समस्याबाट पनि किसानले बिमा गर्न जरुरी छ ।’

प्रकाशित : वैशाख १४, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?