सेजमा १० उद्योग स्थापनाको तयारी

अधिकांश उद्योगले आवश्यक पूर्वाधारका लागि सम्झौता गरिसकेका छन
माधव ढुंगाना

भैरहवा — निर्माण सुरु भएको १८ वर्षपछि विशेष आर्थिक क्षेत्र (सेज) मा चहलपहल सुरु भएको छ । अधिकांश उद्योगले आवश्यक पूर्वाधारका लागि सम्झौता गरिसकेका छन् । एउटा उद्योगले परीक्षण उत्पादन थालेर विदेश निर्यातका लागि अनुमति मागेको छ । 

सेजमा १० उद्योग स्थापनाको तयारी

सेजमा एकैपटक १० उद्योग स्थापना हुन थालेका हुन् । लामो समय उद्योग स्थापना नहुँदा यो अलपत्र अवस्थामा थियो । ‘लामो समयसम्म सञ्चालनमा नआउँदा विरक्त लाग्ने अवस्था थियो,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले भने, ‘बल्ल भैरहवा सेजले गति लिएको छ । अब कुनै द्विविधा छैन ।’


विशेष आर्थिक क्षेत्र ऐन, २०७३ संशोधनपछि कतिपय कानुनी बाधा/अडचन सुल्झिएकाले सञ्चालनमा सहजता भएको उनले बताए । गत चैत दोस्रो साता ऐन संसद्बाट पारित भएर राष्ट्रपतिबाट स्वीकृत हुने क्रममा छ । पछिल्लो संशोधनले उद्योगले निर्यात गर्नुपर्ने उत्पादित वस्तुको प्रतिशत घटाउनुका साथै सेजलाई तिर्नुपर्ने जग्गा भाडाको दर कम गराएको छ । सेजमा स्थापना हुने उद्योगले मेसिन तथा उपकरणको आयात गर्दा विशेष आर्थिक क्षेत्रको सिफारिसमा भन्सार छुट पाउने व्यवस्था गरेको छ ।


‘ऐन संशोधन भएपछि धेरै अन्योल हटेर लगानीकर्तालाई उत्साहित गरेको छ,’ भट्टले भने, ‘लगानीकर्ता आकर्षित गर्न ऐन संशोधन गरिएको हो ।’ उनका अनुसार ऐन संशोधनबाट उद्योग स्थापना गर्दा जग्गा भाडाबापत उद्योगीले तिर्नुपर्ने प्रतिवर्गमिटर २० बाट घटेर १५ रुपैयाँ कायम हुने सम्भावना छ ।


७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्नुपर्ने प्रावधान हटाएर ६० प्रतिशतमा झारिएको छ । संशोधित ऐनले उद्योगले मेसिन तथा उपकरणको आयात गर्दा विशेष आर्थिक क्षेत्रको सिफारिसमा भन्सार छुट पाउने व्यवस्था गरेको उनले जनाए ।


सेजमा सञ्चालनमा आएको शक्ति मिनरल्स प्रालिले विदेशमा निर्यातका लागि अनुमति मागेको छ । एलईडी म्यानुफ्याक्चरिङ इन्डस्ट्रिज, भारतीय लगानीको स्टिलका भाँडाबर्तन बनाउने भिस्टार ग्लोबल प्रालि, एस प्लास्टिक कम्पनीले उद्योग स्थापनाको काम गरिरहेका छन् ।


पन्चकन्या समूहले स्टिल टयांकी, फाइपको सीपीभीसी फिटिङ, पीभीसी र पीपीआर पाइप फिटिङको चारवटा उद्योग स्थापनाको तयारी गरेको छ । नानु हर्बल उद्योगसहित अन्य एउटा उद्योग पनि स्थापनाको तयारीमा छ । पञ्चकन्या औद्योगिक समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले आफ्ना चारवटै उद्योग सेजमा स्थापना गर्नका लागि जमिन सम्याउने काम चलिरहेको बताए ।


‘पहिला विद्युत्को सुनिश्चितता नभएकाले अन्योलमा थियौं,’ उनले भने, ‘सेज व्यवस्थापन र विद्युत् प्राधिकरणले चाँडै विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि आशावादी बनेका छौं ।’ सेजमा उपलब्ध ६९ प्लटमा उद्योग स्थापना गर्न २२ वटा उद्योगले सम्झौता गरेर जमिनको भाडा बुझाउँदै आएका छन् । तीमध्ये १० वटा उद्योगले पूर्वाधार निर्माण अघि बढाइसकेका छन् । थप सातवटा सम्पर्कमा आइसकेका छन् ।


सम्झौता गरेर पनि सम्पर्कमा नआएका उद्योगको हकमा वैशाख १३ गतेपछि अन्तिम सातदिने सूचना जारी गर्ने तयारी सेजले गरेको छ । कार्यकारी निर्देशक भट्टले सूचना जारी गरेपछि पनि सम्पर्कमा नआउने उद्योगलाई हटाइने बताए ।


उनका अनुसार सेजमा आवश्यक बैंक, बिमा कम्पनी, पेट्रोल पम्पलगायत पूर्वाधारका लागि सम्झौता भइसकेको छ । ०५८ सालबाट निर्माण सुरु सेजमा ८५ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।


सम्झौता रद्द

साढे दुई वर्षअघि उद्योग सञ्चालनका लागि सम्झौता गरेको एक समूहले सम्झौता भंग गरेको जनाएको छ । सिद्धार्थ औद्योगिक ग्रुपअन्तर्गतको एक्सन पोलिमर प्रालिले सम्झौता रद्द गरी धरौटीलगायतको सबै रकम फिर्ता गर्न सेजसँग माग गरेको छ ।


गत वैशाख ११ गते विशेष आर्थिक क्षेत्र प्राधिकरणमा कम्पनीले दर्ता गराएको निवेदनमा उद्योग सञ्चालनका लागि सहज वातावरण सिर्जना हुन नसकेकाले सम्झौता रद्द गरेको जनाइएको छ । उसले ०७३ भदौ ८ मा सेजसँग उद्योग सञ्चालनका लागि सम्झौता गरी जमिनको भाडा तिर्दै आएको थियो ।


कम्पनीका सञ्चालक तथा सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवालले भैरहवा सेज सञ्चालनमा अति ढिलाइ भएका कारण अब उद्योग खोल्नुको कुनै औचित्व नभएकाले सम्झौता रद्द गरेको बताए ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?