कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निजी जग्गामा तेजपात

डिल्लीराम खतिवडा

उदयपुर — कोदो, मकै, भटमास र तोरी खेती गर्दै आएका रौतामाई गाउँपालिका ६ नामनताका किसान व्यावसायिक तेजपात खेतीमा लागेका छन् । अन्नबालीको तुलनामा तेजपातले राम्रो आम्दानी दिन थालेपछि उनीहरू यसमा लागेका हुन् ।

अन्नबालीको तुलनामा तेजपातले बढी नै आम्दानी दिने गरेको छ । कोदो, मकै, भटमास, दाल र तोरी खेतीभन्दा यो खेती सजिलो भएकाले पनि किसानले तेजपात लगाएका हुन । जंगलमा प्रशस्तै पाइने तेजपात पछिल्लो समय मासिँदै गएको छ । जंगल अतिक्रमणसँगै तेजपातसमेत मासिँदै गएपछि निजी जंग्गामा नै व्यावसायिक खेती सुरु गरेको स्थानीयले बताए ।


मकै र कोदोले गुजारा गर्न गाह्रो भएपछि तेजपताको खेती गर्न सुरु गरेको स्थानीय किसानले बताए । सडक विस्तारसँगै भरियाको काम ट्र्याक्टर, ट्रक र अन्य यातायातका साधनले गर्न सुरु गरेपछि त्यसको पनि विकल्प खोज्दै जाँदा तेजपताको सुरु गरेको रौतामाई ६ नामनताका किसान तिलकबहादुर रानामगरले बताए ।


‘भारी बोकेर खान पुग्नै छोडेपछि गुजाराका लागि खेती सुरु गरियो,’ तिलकबहादुरले भने, ‘गुजाराका लागि सुरु गरिएको तेजपातको खेती केही समयपछि व्यावसायिक बन्न पुग्यो ।’ तेजपातले गुजारासँगै किसानको आर्थिकस्तरमा समेत वृद्धि भएकाले पछिल्लो समय उल्लेखनीय रूपमा खेती हुने गरेको उनले बताए ।


यो खेती गरेर १ लाख रुपैयाँ अम्दानी गर्न सकिने कृषि अभियन्ता गंगा रानामगरले बताए । ‘किसानले तेजपात खेती, वार्षिक आम्दानी र यसको गुणबारे जानकारी पाएपछि आफैं खेती सुरु गरें,’ रानामगरले भने, ‘तेजपातको औषधीय गुण र बिक्रीका लागि बजार र खेती गर्दा झनझट व्यहोर्नु पर्दैन ।’ त्यसैले मकै र कोदोको विकल्पमा पछिल्लो समय तेजपातको व्यावसायिक खेती बढेको उनको भनाइ छ ।


नामनता र आसपासका गाउँका झन्डै २ सय १८ किसानले व्यावसायिक तेजपातको खेती गर्दै आएका छन् । ‘दुई वर्षयता ३ सय बोट तेजपातले आम्दानी दिन थालेको छ,’ अर्का किसान मानबहादुर रानामगरले भने, ‘दुई वर्षयता बर्सेनि २ लाख रुपैयाँ आम्दानी हुँदै आएको छ ।’ आगामी वर्षदेखि बोट बढदै जाँदा आम्दानीसमेत वृद्धि हुने उनले बताए ।


‘तेजपातको खेती गरेर किसानले गुराजा मात्रै गरेका छैनन्,’ त्रियुगा उद्योग वाणिज्य महासंघका अध्यक्ष गजेन्द्र भगतले भने, ‘तेजपातको खेतीबाट गरेको अम्दानीले छोराछोरीको शिक्षा र स्वास्थ्यमा लगानीका साथै ऋणसमेत तिरेका छन् ।’ तेजपातले रोपेको दुई वर्षदेखि नै अम्दानी दिन्छ ।


आधुनिक वैज्ञानिक पद्धतिले खेती गरेमा एक बोट तेजपातबाट वार्षिक तीन सय केजी पात उत्पादन गर्न सकिने डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

प्रकाशित : वैशाख १५, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?