कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

'हातैले पत्ती माडेर पाहुनालाई चिया'

रमेशचन्द्र अधिकारी

धनकुटा — चिया कृषक र व्यवसायीहरूले चियाको बजार तथा निर्यातका लागि राज्यले उचित वातावरण दिन नसकेको गुनासो गरेका छन्  । राष्ट्रिय चिया दिवसको अवसरमा धनकुटाको हिले बजारमा आयोजित कार्यक्रममा सहभागी चिया कृषक, उत्पादक र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पदाधिकारीबीचको अन्तरक्रियाका सहभागीले यस्तो गुनासो गरेका हुन्  ।

'हातैले पत्ती माडेर पाहुनालाई चिया'

व्यवसायी र कृषकले चिया तथा कफी विकास बोर्डले अपेक्षित रूपमा चियाको बजारीकरणमा काम गर्न नसकेको बताए । दुई दशकदेखि व्यावसायिक चिया खेतीमा संलग्न अधिकांश कृषकले बजार अभावमा चिया बगान मासेर विकल्प खोज्ने अवस्थामा पुगेको उल्लेख गरे ।

चिया सहकारी संघका अध्यक्ष इन्द्र सारूमगरले विदेश निर्यात गरेर मनग्य आम्दानी गर्न सकिने भए पनि त्यसप्रति राज्यको ध्यान नगएको बताए । 'बोर्डले कम्तीमा मार्केटिङको पहल गरिदिए पनि कृषक उत्साहित हुने थियौं,' उनले भने, 'चियापत्तीलाई हातैले माडेर पाहुनालाई चिया खुवाउनमै सीमित हुनुपरेको छ ।'


गुराँसे टी स्टेटका प्रबन्धक नवीन कार्कीको पनि त्यस्तै गुनासो छ । उनले नेपालको चिया अन्य देशको भन्दा फरक र स्तरीय भए पनि उचित मार्केर्टिङको अभाव रहेको बताए । २७ प्रकारको चिया उत्पादन गर्न सक्ने क्षमता रहे पनि बजार अभावमा अहिले ५ प्रकारमा सीमित बनेको उनले जानकारी दिए । चिया व्यवसायी भीम खेवा लिम्बू, पाख्रीबास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना, छथरजोरपाटी गाउँपालिकाका उपाध्यक्ष भीमकला श्रेष्ठलगायतले अन्तर्राष्ट्रिय बजारमा नेपालको चियाको सम्भावना रहेको उल्लेख गरेका थिए ।


यस्तै चिया तथा कफी विकास बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेलले नेपालको समृद्धिका लागि चियाको बजारको भूमिका उल्लेख हुने बताए । उनले चिया व्यवसायी तथा कृषकका गुनासोलाई सकारात्मक रूपमा लिएको जनाए । मुलुकमा १५ हजार साना कृषक चिया खेतीमा निर्भर रहेको जानकारी दिए ।


चिया मजदुर संघका अध्यक्ष नारायण तामाङले चिया मजदुरका लागि निर्धारण गरिएको पारिश्रमिक राज्यले कडाइका साथ दिलाउनुपर्नेमा जोड दिए । विश्व बजारमा धनकुटाबाट उत्पादित चियाको माग उल्लेख्य रूपमा बढेको कार्यक्रममा जानकारी दिइयो । गुराँसे टी स्टेट तथा जुन चियाबारीलगायतबाट उत्पादित चिया जर्मन, जापान, अमेरिका, फ्रान्स, पोल्यान्ड, चीन, भारतलगायतका मुलुकमा निर्यात हुने गरेको छ ।

यस्तै तीनजना कृषक र व्यवसायी सम्मानित भएका छन् । सम्मानित हुनेमा चौबिसेका कृषक दिलीप चेम्जोङ, धनकुटा २ का डिल्लीश्वर दर्नाल र जुन चियाबारीका व्यवस्थापक मोरिस रहेका छन् । उनीहरूलाई पाख्रीबास नगरपालिकाका उपप्रमुख देवकला तिम्सिना र चिया तथा कफी विकास बोर्डका उपनिर्देशक लक्ष्मण पोखरेलले सम्मान गरे ।

प्रकाशित : वैशाख १८, २०७६ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?