कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नामार्जुङमा दसैंलाई बिजुली

सर्वसाधारणलाई सेयर खुलाउने तयारी
लालप्रसाद शर्मा

पोखरा — कास्कीको मादी गाउँपालिका २ सेतीखोलामा निर्माणाधीन नामार्जुङ मादी जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सकिएको छ । १२ मेगावाट क्षमताको आयोजना सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा छ । विद्युत् गृह, बाँध, डिसेन्डिङ वेसिनमा धमाधम काम भइरहेको छ ।

नामार्जुङमा दसैंलाई बिजुली

१ हजार २ सय ४५ मिटर लामो नहर तयार भएको छ । आयोजनाका कार्यकारी अध्यक्ष खुमबहादूर केसीले आगामी दसैंभित्र विद्युत् उत्पादन हुने लक्ष्यका साथ काम भइरहेको बताए । उनले भने, 'अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । दसैंअघि राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछौं ।'


हिमालयन हाइड्रो पावर लिमिटेडअन्तर्गत दूरसञ्चार सेवा प्रदायक एनसेलका कर्मचारी -एलआरसी समूह) ४ सय ७८ र विभिन्न क्षेत्रका एक सय बढी गरी करिब ६ सय जनाको सेयरमा २ अर्ब २२ करोड रुपैयाँको लगानीमा आयोजना बन्दै छ । जनता बैंकको संयोजकत्वमा विभिन्न ५ बैंकबाट ७० प्रतिशत ऋण र अरू रकम नगद लगानी गरिएको छ ।

'हामीले असारभित्रै पब्लिक सेयर खुलाउने तयारी गरिरहेका छौं, के कति खुलाउने भन्ने छिट्टै निर्णय गर्छौं,' अध्यक्ष केसीले भने, 'निर्माणको काम सकेर दसैंअघि नै राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारीसाथ काम भइरहेको छ ।' दर्जन बढी उपकरणसहित ३ सय कामदारले काम गरिरहेका छन् ।

आयोजनाले २०६७ भदौमा विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता गरेको थियो । सम्झौतालगत्तै आयोजनास्थलको पारिपट्टी पहिरो गएर नदी थुनियो । साथै नदी ७ मिटर अग्लो पनि भयो । यसले आयोजना बनाउने/नबनाउने अन्योल भयो ।

३ वर्ष त्यत्तिकै थन्किएपछि पुनः सर्भे र डिजाइनिङ गर्नुपर्‍यो । सबै प्रक्रिया पुर्‍याएर २०७२ को सुरुमै काम थाल्दा भूकम्प गयो । नाकाबन्दी सुरु भयो । यसले पनि काम अवरुद्ध भएको केसीले बताए । 'सबै प्रकारका बाधा अवरोध पार गरी २०७३ मंसिरबाट काम सुरु भएर अहिले ९० प्रतिशत सकिएको हो,' उनले भने ।


यतिबेला डिसेन्डिङ वेसिन, पेनस्टक पाइप जडान, विद्युत् गृहमा काम भइरहेको छ । नहरलाई बन्द गरिएको छ । ६३ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गरिने प्राविधिक इन्चार्ज अमित पन्तले बताए । उत्पादित बिजुली साढे ४ किलोमिटर तल रहेको अपरमादी जलविद्युत् आयोजनाको सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याइनेछ । यसको पनि काम भइरहेको छ ।


आयोजनाले हिउँदमा ४ र वर्षायाममा ७ रुपैयाँमा विद्युत् बिक्री गर्ने प्राधिकरणसँग सम्झौता गरेको छ । विभिन्न समस्याले निर्माणमा ढिलाइ भएकाले नयाँ दरमा सम्झौता गर्नुपर्ने अध्यक्ष केसी बताउँछन् ।


यसैबीच मादीखोलामा पक्की पुल नहुँदा आयोजनालाई निर्माण सामग्री ढुवानीमा समस्या भएको छ । आयोजनाका साइट इन्चार्ज तारा पौडेलका अनुसार झोलुंगेपुलबाट सामान ओसार्नुपर्ने बाध्यता छ । ज्याउदुमा पुल बन्न ढिलाइ भएकाले समस्या भएको उनको भनाइ छ । अहिले खोलामा काठ तेर्साएर अस्थायी साँघुमार्फत सवारी चलाउनुपरेको छ ।

प्रकाशित : वैशाख १८, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?