कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मजदुर आन्दोलनको असर : टिप्नै नपाई छिप्पियो चिया

विप्लव भट्टराई

इलाम — विगत वर्षमा इलाम चिया बगानमा यतिन्जेल चारपटक टिपाइ भइसक्थ्यो । अर्गानिक उत्पादन थालेको यो बगानमा एक टिपाइमा ६ सय किलोसम्म हरियो चियापत्ती हुन्छ । योपटक सिजन सुरु हुनासाथ थालिएको मजदुर आन्दोलनका कारण एकै टिपाइ पनि हुन सकेको छैन ।

यसले गर्दा हरियो पत्ती काम नै नलाग्ने गरी हुर्कन थालेको छ भने चियामा नै निर्भर श्रमिकलाई बिहान-बेलुकाको छाक टार्नै मुस्किल भएको छ ।


'लहलह चिया टिप्नुको साटो सरकारले तोकेको ज्याला देऊ भनेर आन्दोलनमा लाग्नुपरेको छ,' इलाम बगानमा ३२ वर्षदेखि चिया टिप्दै आएकी सरस्वती चौलागाई भन्छिन्, 'हामीलाई पनि यसरी चिया हुर्केर गएको हेर्न कहाँ मन छ र ।' आफ्नै कोठे बाली जस्तै स्याहारेर बनाएको बगान सञ्चालन गर्न सरकार र उद्योगीले पहल गरेर चाँडो बगान सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ ।


जति चिया हुर्कन्छ उति दिनरात मिहिनेत गर्ने श्रमिकको छाती पोल्छ । बगान आसपास नै दिनहुँ रहने श्रमिकहरू जसरी पनि समस्या समाधान भएर काममा र्फकन पाइयोस् भन्ने चाहन्छन् । 'सरकारले आफैं पारिश्रमिक तोक्ने अनि यतिको विचल्ली भइसक्दा पनि समाधानको पहल नगर्ने प्रवृत्तिले दिनरात चिया सुमसुम्याएर पेट पाल्ने हामी समस्या पर्‍यौं,' इलाम बगानकै श्रमिक ठाकुर कटुवालले भने, 'श्रीमान्/श्रीमती नै बगानमा काम गर्ने भएकाले साँच्चै समस्या भएको छ ।'


घटदो श्रमिक संख्याका कारण स्याहार नपुगेको यो बगान एक महिनादेखि ठप्प हुँदा झन विरूप बन्दै गएको छ । एकतिर आर्थिक नोक्सानी त अर्कोतर्फ यहाँको पर्यटकीय पर्याय भएकाले पनि बगानको उचित संरक्षण आवश्यक देखिएको हो ।


२ सयभन्दा धेरै श्रमिकले काम गर्ने यो बगानमा अहिले ५१ जना मात्र छन् । त्यस्मा २६ जना स्थायी हुन् । बगानमा काम नभएपछि अन्यत्र काम खोज्नुपर्ने बाध्यता उनीहरूलाई छ । अन्य काममा पनि नियमित नहुने भएकाले उनीहरूलाई त्यति अवसर दिइँदैन ।

सरकारले तोकेबमोजिमको सेवा सुविधा पाउनुपर्ने माग गर्दै श्रमिकहरू आन्दोलनमा उत्रिएपछि इलामसहित चिया विकास निगमअन्तर्गतका कन्याम, चिलमकोट र सोक्तिम बगान र कारखाना सञ्चालनमा आउन सकेका छैनन् ।


संघाई ग्रुपले भने सरकारले आफ्नो सहमतिबिना नै पारिश्रमिक बढाउँदा यो समस्या आएको आरोप लगाएको छ । 'पहाडको बगानमा छ महिना मात्र पत्ती टिप्न सकिन्छ । यही बेला वन्द भएपछि समस्यामा छौं,' संघाई ग्रुपका अध्यक्ष सुवास संघाईले भने, 'कि त सरकारले चिया पत्ती पनि खरिद गरिदिनुपर्‍यो नत्र आम्दानी थेग्न नसक्ने पारिश्रमिक दिन कठिन छ ।' श्रमिकको सिधा रोजीरोटीसँग जोडिएको विषय भएकाले समस्या समाधानका लागि पनि सरकार नै लाग्नुपर्ने उनको तर्क छ ।


अन्य कतिपय कारखाना र बगानले श्रमिकसँग सम्झौता गरेर कार्य आरम्भ गरे पनि संघाई ग्रुपको जिम्मा रहेका बगान र कारखाना ठप्प रहेका हुन् । गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य ३ सय ८५ रुपैयाँ तोकेको थियो । अहिलेसम्म पनि दैनिक २ सय ६५ रुपैयाँमा काम गरिरहनुपरेको उनीहरूको गुनासो छ ।

प्रकाशित : वैशाख १९, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?