कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तीन महिना कमको मुद्दती लिन नपाइने

यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाले तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने व्यवस्था हुन लागेको छ । निक्षेप तान्ने होडमा बैंक तथा वित्तीय संस्थाले निकै कम अवधि (एक साताभन्दा कम) का मुद्दती निक्षेप योजना ल्याएका छन् ।

तीन महिना कमको मुद्दती लिन नपाइने

त्यस्ता योजना (स्किम) ले अस्वस्थ प्रतिस्पर्धा बढाएकाले मुद्दती निक्षेपमा तीन महिनाको सीमा तोक्ने निर्णय भएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । यो विषय नियमन समितिमा निर्णय भइसकेकाले एक/दुई दिनभित्रै निर्देशन जारी हुने जनाइएको छ ।


‘मुद्दती निक्षेपमा तीन महिनाभन्दा कम अवधिको बचत राख्न पाइने छैन,’ स्रोतले भन्यो, ‘बैंकहरूबीच देखिएको अस्वस्थ प्रतिस्पर्धा रोक्न यस्तो व्यवस्था गरिन लागेको हो ।’ बचत बढाउने होडमा वित्तीय संस्थाबीच देखिएको अनौतिक प्रतिस्पर्धा रोक्न उक्त निर्णय भएको स्रोतले बताएको छ ।


‘हाल केही बैंकहरूले निकै थोरै अवधिको मुद्दती निक्षेपमा उच्च ब्याजदरको योजना ल्याएका छन्,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधिले बचत बढाउनुको साटो विकृति बढाउँछ ।’ यही कारण पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा मुद्दती बचतको अंश बढ्दै गएको छ । राष्ट्र बैंकका अनुसार गत फागुनसम्म कुल बचतमा मुद्दतीको अंश ४७.५ प्रतिशत, बचतको ३३.५ र चल्तीको ८.५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा कुन निक्षेपमा मुद्दतीको अंश ४४ प्रतिशत, बचतको ३६.५ र चल्तीको ८.४ प्रतिशत थियो ।


यस्तै राष्ट्र बैंकले निक्षेप योजनामा कुनै प्रकारको नगद, जिन्सी तथा गरगहना उपहार दिन नपाइने व्यवस्था गर्न लागेको छ । यो व्यवस्था नयाँ भने होइन । यसअघि वित्तीय कारोबार गरेबापत नगद तथा जिन्सी उपहार दिन नपाइने व्यवस्था थियो । केही बैंकले घुमाउरो बाटोबाट निक्षेपमा गरगहना दिने योजना सार्वजनिक गरेपछि राष्ट्र बैंकले तिनलाई रोक्न थालेको हो ।


व्यक्तिगत कल डिपोजिटमा १० प्रतिशतको सीमा लगाउने व्यवस्था करिब २ महिनापछि कार्यान्वयनमा आउने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले वाणिज्य बैंकमा कल निक्षेपको सीमा १० प्रतिशत कायम गर्ने घोषणा गरेको थियो । सुरुमा ०७६ असारभिक्र बैंकहरूले व्यत्तिगत कल डिपोजिटलाई १० प्रतिशतमा झार्नुपर्ने व्यवस्था थियो । अहिले त्यो सीमा बढाएर ०७७ असारभित्र कुल निक्षेपको बढीमा १० प्रतिशत झार्ने गरी राष्ट्र बैंकले निर्देशन दिन थालेको स्रोतले बताएको छ ।


‘कल डिपोजिट’ मुद्दती, चल्ती र साधारण बचतजस्तै एक किसिमको निक्षेप खाता हो । यो खातामा कम समया अवधिका लागि निक्षेप राखिन्छ । छिनछिनमा धेरै रकमको कारोबार

गर्ने व्यक्ति वा व्यवसायीका लागि यो खाता उपयोगी हुन्छ ।


तत्काल धेरै रकम बचत गर्नुपर्ने र रकम झिकिने टुंगो नहुने भएकाले यो खातामा जम्मा हुने बचतको प्रकृति अल्पकालको हुन्छ । व्यवसायी तथा ठूला व्यावसायिक घरानाहरूले यही खातामा बचत गर्ने गर्छन् । अल्पकालीन प्रकृतिको हुने भएकै कारण बैंकहरूले पनि यो खातामा केहीले धेरै त कहिले कम ब्याज दिन्छन् । यसकारण यो खाताको ब्याजदर प्रायः परिवर्तन भरहन्छ । यद्यपि हाल बैंकले कल डिपोजिटमा साधारण बचतमा दिने ब्याजभन्दा बढी ब्याज दिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।


गत फागुनसम्मको तथ्यांकअनुसार २८ वटा वाणिज्य बैंकमध्ये १४ वटाको कल डिपोजिट १० प्रतिशतभन्दा बढी छ । तीमध्ये पनि एक–दुईवटाको कल डिपोजिट २५ प्रतिशतभन्दा धेरै छ ।

विगतमा बैंकहरूले कल डिपोजिटमा नक्कली निक्षेप जम्मा गर्ने प्रचलन पनि थियो । उदाहरणका लागि विकास बैंकले वाणिज्य बैंकबाट ऋण लिने र उक्त रकम सोही बैंकको कल डिपोजिटमा जम्मा गरी ब्याज खाने चलन पनि थियो । यसो गर्दा एउटै रकम ऋण प्रवाह र निक्षेप संकलनमा

गणना हुने भएकाले त्यसलाई नक्कली निक्षेप भनिएको हो ।



प्रकाशित : वैशाख २०, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?