कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एनसेलका कर्मचारीलाई आएन सेयर

नारायण शर्मा

काठमाडौँ — एनसेलका कर्मचारीका नाममा एक जलविद्युत् कम्पनीमा गरिएको भनिएको २३ करोड ५० लाख रुपैयाँको हिसाब त्यहाँको व्यवस्थापनले ५ वर्ष बितिसक्दा पनि देखाउन सकेको छैन । 

एनसेलमा कार्यरत ४ सय ७८ कर्मचारीहरूको कल्याण कोषमा जम्मा भएको रकम ०७१ सालमा लमजुङको नामार्जुङ मादी हाइड्रोमा एनसेल व्यवस्थापनले लगानी गरेको थियो । उक्त रकम आफ्नो सहमतिबिना लगानी भएको कर्मचारी बताउँछन् ।


आफूहरूको रकम लगानी गरिएको नामार्जुङ मादी हाइड्रो पावरको सेयर दिन वा हिसाबकिताब देखाउन लिखित माग गर्दासमेत व्यवस्थापनले बेवास्ता गरेको आरोप कर्मचारीको छ ।


प्रतिकर्मचारी ५/५ लाखका दरले त्यो हाइड्रोमा लगानी गर्ने भन्दै त्यहाँका निर्देशक तथा सुरक्षा प्रमुख महेन्द्रकुमार भट्टचन, इन्जिनियर प्रकाश बराल र विज्ञ शंकर कटुवालले नामार्जुन मादी हाइड्रोका मुख्य सञ्चालक खोमबहादुर केसीलाई रकम दिएका हुन् । सेयर तिनै तीनजनाको नाममा कायम भएको दाबी कर्मचारीले गरेका छन् ।


रकम सम्झौता गर्दा र भुक्तानी दिँदा मजदुरहरूको हकहितमा काम गर्ने ‘श्रम सम्बन्ध समिति’ का अध्यक्ष भट्टचन थिए । एनसेलको नाफाबाट बोनस बाँडेर बाकी रहेको रकम कर्मचारी कल्याण कोषमा जान्छ । सम्झौताअनुसार रकम पटकपटक गरेर दिनुपर्नेमा त्यसो नगरी एकमुष्ठ भुक्तानी गरेर व्यवस्थापनले अख्तियार दुरुपयोग गरेको कर्मचारीको आरोप छ । हाल श्रम सम्बन्ध समितिका अध्यक्ष बनेका विशालमणि उपाध्याय सम्पर्कमा आउन चाहेनन् ।


उता हाइड्रोपावर कम्पनीले भने २२ करोड ९३ लाख मात्र रकम बुझाएको बताउँदै ५७ लाख रकम अपुग भन्दै पत्राचार गरेको छ । लमजुङमा रहेको ११ दशमलव ८८ मेगावाट क्षमताको हाइड्रोको ०७१ सालमा कुल लागत १ अर्ब ९६ करोड देखाइएको थियो ।


कर्मचारीको नाममा जानुपर्ने सेयर रकम सोझै एनसेल व्यवस्थापनका माथिल्ला तहका तीन कर्मचारीको नाममा कायम गरिएको दाबी कर्मचारी गर्छन् । आफूहरूको लगानी रहेको भनिएको रकम देखाउन वा सेयर कायम गराउन माग गर्दा व्यवस्थापनले बेवास्ता गर्दै आएको कर्मचारीको आरोप छ ।


एनसेलबाट लगानी गरिएको रकमका मुख्य हस्ताक्षरकर्ता एक निर्देशक महेन्द्रकुमार भट्टचनले आफूहरूले उक्त हाइड्रोमा लगानीका लागि पटकपटक रकम बुझाएको र सेयर कर्मचारीको नाममा ल्याउन कम्पनी रजिस्टारको कार्यालयमा काम थालिएको दाबी गरे ।

प्रकाशित : वैशाख २०, २०७६ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?