किसानले पाएनन् उखुको मूल्य

ओमप्रकाश ठाकुर

सर्लाही — ‍उखु खरिद गरेको रकम भुक्तानी नै नगरी चिनी उद्योग बन्द भएपछि सर्लाहीको दक्षिणी क्षेत्रका किसान निरास छन् । दक्षिणी क्षेत्रका दुई उद्योग किसानलाई रकम नतिरी बन्द भएका छन् भने उत्तरी क्षेत्रको एक उद्योगले किसानलाई ढिलो भए पनि समयतालिका बनाएर भुक्तानी गरिहेको छ । 

धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग वैशाख ३ गते र गोडैताको बगदहस्थित महालक्ष्मी चिनी उद्योग यो वर्षको उखु क्रसिङ सकेर वैशाख ६ गते बन्द भएका छन् । अन्नपूर्णले ९ लाख ७ हजार ६ सय ९२ क्विन्टल र महालक्ष्मीले ११ लाख २७ हजार ३ सय ९५ क्विन्टल उखु क्रसिङ गरेको छ ।


यी दुई उद्योगले यस वर्ष किसानलाई भुक्तानी नै गरेका छैनन् । हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले भने यस वर्ष ३५ लाख १४ हजार क्विन्टल उखु क्रसिङ गर्दै सोमबार काम बन्द गरेको छ । इन्दुशंकरले किसानलाई १ अर्ब ६५ करोड दिनुपर्ने भुक्तानीमध्ये ४२ करोड मात्र भुक्तानी गरेको छ ।


अन्नपूर्णले गत वर्षदेखि नै भुक्तानी नदिएकाले आफूहरू मारमा परेको बारा उधोरणका मुकेश सिंहको दुःखेसो छ । 'गत वर्ष अन्नपूर्ण चिनी उद्योगमा २ हजार क्विन्टल उखु बिक्री गरे, एक रुपैयाँ भुक्तानी दिएको छैन, यस वर्ष पनि ८ सय क्विन्टल बिक्री गरेको छु, त्यो पनि पनि पाइन,' उनले भने, 'यस वर्षको क्रसिङ सकेर मिल बन्द भए पनि हामीले उद्योगबाट भुक्तानी पाउन सकेका छैनौं, हाम्रो त घर व्यवहार धान्नै गाह्रो पर्‍यो, किसानको पीरमर्का कसले बुझिदिने ।'


चिनी उद्योगी र किसान प्रतिनिधिबीच उद्योग सञ्चालनअघि गत पुस अन्तिम साता बर्दीबासमा भएको बार्तामा उखु खरिद गरेको ४५ दिनभित्र भुक्तानी दिने सहमति भएको थियो । यस सिजनका लागि उखु क्रसिङ सकेर बन्द हुँदासमेत किसानले भुक्तानी नपाएको भन्दै किसान नेताहरूले असन्तुष्टि जनाइरहेका छन् ।


उद्योग सञ्चालनका बेला किसानसँग भएको सहमति उद्योगीले एकपक्षीय रूपमा उल्लंघन गरेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीको आरोप छ । उनले चिनी मिल सञ्चालकले विभिन्न समस्या खडा गरेर भुक्तानी आलटाल गर्न खोजेको गुनासो गरे । 'मिल सञ्चालनअघि भएको सम्झौता उद्योगीले तोडेका छन्, किसानको उखु क्रसिङ गरेर मिल बन्द गरे पनि भुक्तानीमा आलटाल गरिरहेका छन्,' उनले भने, 'अझै पनि किसानको समस्यामा मिल सञ्चालक अनुदार नै बनेका छन, यो राम्रो पक्ष हैन, समस्यामा परेका किसानहरूको धैर्यको बाँध जहिले पनि टुट्न सक्छ ।'


हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले भने प्रतिक्विन्टल ४ सय ७१ रुपैयाँको दरले अहिलेसम्म ९ लाख ५३ हजार क्विन्टल उखुको तालिका बनाएर भुक्तानी गरिरहेको जनाएको छ । उद्योगले दोस्रो चरणको भुक्तानीको तालिका पनि चाँडै निकाल्ने उद्योग प्रशासनले जनाएको छ ।


अन्य दुई चिनी उद्योगीले भने चिनी बिक्री नभएकाले किसानको भुक्तानी दिन नसकिएको बताएका छन् । महालक्ष्मी र अन्नपूर्णले उत्पादन भएको चिनी बिक्री हुनासाथ किसानको भुक्तानी सुरु गर्ने जानकारी दिए ।

प्रकाशित : वैशाख २२, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?