कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पशु बिमाले किसानलाई लाभ

चन्द्र कार्की

तेह्रथुम — संखुवासभाको धर्मदेवी नगरपालिका २ फुङलिङका श्रीबहादुर खडकाको भैंसी ब्याए लगत्तै मर्‍यो । ऋण खोजेर किनेको भैंसी मरेपछि उनको टाउकामा थप आर्थिक बोझ थपियो ।

भैंसी किन्दा लागेको ऋण कसरी तिर्ने चिन्तामा परेका खडकाले बिमा कम्पनीबाट ६७ हजार ५ सय रुपैयाँ बुझेपछि बल्ल राहत महसुस गरे ।


बिमा गर्दा क्षतिपूर्तिबापतको रकम पाइनेमा उनलाई विश्वास थिएन । ७५ हजार रुपैयाँको भैंसीको बिमा गराएका खड्काले त्यसको ९० प्रतिशत रकम अर्थात् ६७ हजार ५ सय रुपैयाँ क्षतिपूर्ति पाए । उनले केही रकम थपेर अर्को भैंसी ल्याएका छन् । एउटा भैंसी मरेपनि बिमा रकमको सहायताले अर्को भैंसी किन्ने हिम्मत बढेको बताए ।


खड्काजस्ता संखुवासभा, धनकुटा र तेह्रथुमका किसान अहिले पशु बिमामा आकषिर्त भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका डाँडागाउँका किसान यादवप्रसाद कोइरालाले पनि भैंसीको ८० हजार रुपैयाँँ बराबरको बिमा गराएका छन् ।


भैंसीलाई उन्नत जातको राँगाको सिमेनबाट कृत्रिम गर्भाधान गराएका कोइरालाले बिमा गर्दा जोखिम घटेको सुनाए । 'भैंसी केही भएर मरिहाले पनि बिमा गराएकाले ढुक्क छु,' उनले भने ।


धर्मदेवी नगरपालिका मुढे शनिश्चरेमा रहेको भेटेरिनरी पसल सञ्चालकसमेत रहेका पशु स्वास्थ्य प्राविधिक दिलबहादुर श्रेष्ठले पछिल्लो समय पशुपालक किसानमा बिमाप्रति आकर्षण बढेको बताए । पशु बिमाका फाइदाबारे किसानले बुझेकाले बिमा गराउनेको संख्या बढेको उनको भनाइ छ ।


धर्मदेवी नगरपालिका र आसपासका ग्रामीण बस्तीका ५ सयभन्दा बढी किसानले गाई, भैंसी, बाख्रा, भेडा, बंगुर, साँढे, राँगोलगायत पशुको बिमा गराएका छन् । तीन वर्षअघिबाट यी जिल्लामा सुरु भएको पशु बिमा कार्यक्रममा सहभागी हुने किसानको संख्या प्रत्येक महिना बढिरहेको श्रेष्ठले बताए ।

प्रकाशित : वैशाख २२, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?