कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलामे बिलेटको आयात बढ्यो, क्लिंकर घट्यो

माधव ढुंगाना

भैरहवा — भैरहवा नाका हुँदै औद्योगिक कच्चा पदार्थको आयातमा वृद्धि भएको छ । फलामे बिलेट, हाइस्पिड डिजेल र पत्थर कोइलाको आयात उच्च छ । उद्योग र सडक निर्माणले गति लिएपछि आयात बढेको हो । सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयात भने बर्सेनि घटदो छ । 

भैरहवा भन्सारका अनुसार आव ०७५/०७६ को फागुनसम्म १८ अर्ब २२ करोड ७४ लाख रुपैयाँको ३० करोड ९८ लाख ६६ हजार किलो फलामे बिलेट आयात भएको छ । अघिल्लो आवको यही अवधिमा १४ अर्ब ३३ करोड १५ लाख रुपैयाँ मूल्यको २८ करोड ५८ लाख ४० हजार किलो फलामे बिलेट आयात भएको थियो ।


तीन वर्षअघिसम्म तीन/चारवटा मात्र फलामे डन्डीका उद्योग थिए । भैरहवा र आसपासमा अहिले आठवटा सञ्चालनमा छन् । एउटा सञ्चालनको तयारीमा छ । लक्ष्मी स्टिल, श्रीस्टिल, पञ्चकन्या, फेरो स्टिल, एभरेस्ट रोलिङ, अम्बे, गोयन्का र हाइटेक उद्योगले फलामे डन्डी उत्पादन गर्दै आएका छन् । सिद्धिलक्ष्मी उद्योग सञ्चालनको तयारीमा छ ।


०७२ सालको भूकम्पपछि फलामे डन्डीको माग बढेपछि यस क्षेत्रमा लगानी बढेकोे एभरेस्ट रोलिङ मिलका सञ्चालक अरुण गोयन्काले बताए । 'त्यतिबेला स्वदेशको उत्पादनले नपुगेपछि भारतबाट आयात गर्नुपरेको देखेर लगानी गरेको देखिन्छ,' उनले भने, 'अहिले खपतभन्दा धेरै स्वदेशी उत्पादन हुन थालेपछि बजारमा समस्या आउन थालेको छ ।' यहाँबाट आव ०७५/०७६ को फागुनसम्म २ अर्ब ९९ करोड ७७ लाख रुपैयाँ मूल्यको १७ करोड ७४ लाख ३० हजार किलो पत्थर कोइला आयात भएको छ । गत आव ०७४/०७५ को यसै अवधिमा यसको आयात १ अर्ब १० करोड ४४ लाख रुपैयाँ मूल्यको ११ करोड ३१ लाख २३ हजार किलो परिमाणमा थियो ।


आव ०७५/०७६ को फागुन महिनासम्म हाइस्पिड डिजेलको आयात १० अर्ब २२ करोड रुपैयाँ मूल्यको १ लाख ४३ हजार लिटर छ । गत आवको यही अवधिमा ७ अर्ब ५१ करोड मूल्यको १ लाख ३१ हजार लिटर थियो । उद्योगले हाइस्पिड डिजल र पत्थर कोइला विद्युतको कमी हुँदा ऊर्जाका रूपमा प्रयोगका लागि आयात गर्ने गर्छन् ।


आव ०७४/०७५ को फागुन महिनासम्म यस नाकाबाट अलकत्रा बिटुमिनको आयात ६१ करोड ९२ लाख रुपैयाँ मूल्यको १ करोड १६ लाख ९५ हजार लिटर भएकामा चालु आवको यही अवधिमा बढेर १ अर्ब ७३ करोड ३७ लाख मूल्यको २ करोड ३८ लाख ७३ हजार लिटर भएको छ ।


'मुलुक संघीयतामा गएपछि संघीय र प्रादेशिक आयोजनाबाहेक स्थानीय गाउँपालिका तहको अधिकांश योजना सडक निर्माण रहेकाले अलकत्रा बिटुमिनको आयात बढेको छ,' सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले भने, 'भैरहवा नाका मुलुकको मध्य भागमा पर्ने र यहाँबाट जताततै आपूर्ति गर्न पायक पर्ने कारणले पनि यस नाकाबाट आयात बढेको हुन सक्छ ।'


एक दशकअघिसम्म नेपालका सरकारी दुई सिमेन्ट उद्योगबाहेक निजी क्षेत्रबाट सञ्चालित सबै सिमेन्ट उद्योग निर्भर रहनुपरेको भारतबाट आयातित क्लिंकरको आयात भने पछिल्ला वर्षमा घटदै गएको छ । यसको मुख्य कारण हाल नेपालमा आफ्नै क्लिंकरसहितका ठूला सिमेन्ट उद्योगको स्थापना हुनु र क्लिंकर उत्पादन नगर्ने उद्योगले पनि स्वदेशी उत्पादित क्लिंकर प्रयोग गर्नु हो । आव ०७६/०७७ सम्ममा नेपाल क्लिंकरमा पूरै आत्मनिर्भर हुने अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक राजेश अग्रवालले दाबी गरे ।

प्रकाशित : वैशाख २६, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?