नासिँदै मौलिकता थपिँदै होटल

घनश्याम खड्का

म्याग्दी — पर्यटकको आगमन वृद्धि भएसँगै मुक्तिनाथको प्राचीन सभ्यता र मौलिकता नासिँदै जान थालेको छ । परम्परागत मुण्डे घर भत्काएर आरसीसी ढलान घर बनाउने होडबाजी चलेको छ । सडकको पहुँच वृद्धिसँगै मुस्ताङका प्राचीन बस्ती प्रभावित हुन थालेका छन् । मौलिकता हराउँदै र आधुनिकताले अँचेटदै गइरहेको छ ।

नासिँदै मौलिकता थपिँदै होटल

मुक्तिनाथ रानीपैवा क्षेत्रमा ७२ घर छन् । यीमध्ये ४२ वटा ठूला पर्यटक लक्षित होटल हुन् । बाँकी घरमा पनि बाहय तथा धार्मिक पर्यटक लक्षित टी हाउस, रेस्टुरेन्ट, क्युरियो तथा किनारा पसल छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकक्याप) मुक्तिनाथ कार्यालयको अभिलेखअनुसार मुक्तिनाथ रानीपैवामा पछिल्ला दुई वर्षमा १० वटा आधुनिक र महँगा होटल थपिए ।


थप तीनवटा अत्याधुनिक होटल एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माणाधीन छन् । 'विश्वभरबाट ओइरिने बाहय तथा धार्मिक पर्यटक, सडक पहुँच र सूचना प्रविधिको प्रभावबाट हिमालपारिका परम्परागत बस्ती अछुत रहेनन् । हाम्रा प्राचीन सभ्यता र संस्कृति नासिँदै छन् । आधुनिकतालाई रोक्न सक्ने क्षमता हामीले गुमाइरहेका छौं,' बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष फोन्चोक छेक्तेन गुरुङ (धारा) ले भने, 'पदमार्ग र सडक मार्ग जोडिएका बस्तीमा सम्पदा नासिने क्रम तीव्र छ, भित्री बस्तीमा कसरी जोगाउने चिन्ता छ ।'


बेनी-जोमसोम-मुक्तिनाथसम्मै सडक पहुँचपछि नेपाली र भारतीय पर्यटकको आगमन ह्वात्तै बढेपछि राख्ने क्षमता पुगेन । त्यसैले थोरै क्षेत्रफलमा धेरै पाहुना राख्न आरसीसी भवननै विकल्प बनेको स्थानीयको भनाइ छ । मुक्तिनाथमा एकै रात एक हजारभन्दा बढी पर्यटक बास राख्न सकिन्छ ।


चिसो मुक्तिनाथका होटलमा तातोपानीसहित स्नानकक्ष, न्यानो शयन कक्ष, निःशुल्क वाइफाईसहितका होटलमा न्यूनतम १ हजार ५ सयदेखि ५ हजारसम्मका कोठा पाइन्छन् । 'मुक्तिनाथमा गाँसबास पाइँदैन भन्ने दिन गए । हामी सबैलाई राम्रो र स्तरीय सेवा दिन सक्छौं । किफायती खर्चमा हिँड्न चाहने यात्रुका लागि पनि साना होटल उपलब्ध छन्,' रानीपौवास्थित होटल बब मार्लिका कर्मछिरिङ गुरुङले सुनाए ।


मुक्तिनाथमा मात्र होइन, मुस्ताङका पदमार्ग र सडक मार्ग पुगेका प्रायः सबै बस्तीलाई आधुनिकताले छोपेको छ । प्राचीन मौलिकता बोकेका मुण्डे घर नासेर आधुनिक आरसीसी भवन ठडिन थालेका छन् । पुरानो भेषभुषा र संस्कृति बिस्तारै म्युजियम पस्न थालेका छन् । परम्परागत सवारी साधन घोडा विस्थापित भए । हरेक मुस्ताङीका दैलोमा मोटर पुगेको छ ।


'विश्वका सबै प्राचीन सभ्यता आधुनिकताको मारमा परेका छन् । हामी पनि अछुतो रहेनौं । पूरै रोक्न सक्ने अवस्थामा पनि छैनौं,' घरपझोङ गाउँपालिका उपप्रममुख शर्मिला गुरुङले भनिन्, 'मुस्ताङको सम्पदा सुरक्षा गर्न गुरुयोजना निर्माण गर्न प्रयत्नशील छौं ।'

प्रकाशित : वैशाख २७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?