घरैपिच्छे माछा पोखरी

ठाकुरसिंह थारू

बर्दिया — बढैयाताल गाउँपालिका ५ र त्यस आसपास क्षेत्रमा साढे २ सयभन्दा बढी माछा पोखरी छन् । झन्डै दुई सय स्थानीय बासिन्दाले व्यावसायिक माछापालन गरी आर्थिक अवस्था सुधारेका छन् । स्थानीय मीनराज पंगेनी, पुष्प भुसाल, सीताराम चौधरी, रामप्रकाश चौधरी र भक्तराम थारूलगायत किसानले माछाबाटै राम्रो आम्दानी लिइरहेका हुन् ।

घरैपिच्छे माछा पोखरी

उनीहरूले धान खेतलाई पोखरी बनाएका छन् । यसअघिको जिल्ला कृषि विकास कार्यालयले यस क्षेत्रलाई माछा पकेट क्षेत्रका रूपमा घोषणा गरेपछि किसान उत्साहित छन् । बढैयातालबाट पानी ल्याउन सहज हुने भएकाले किसानलाई राहत छ । वडा ५ मा यस क्षेत्रकै सबैभन्दा ठूलो ७० हेक्टर क्षेत्रफलमा फैलिएको प्राकृतिक ताल छ ।


उक्त तालमा तीन दशकअघि तत्कालीन जिल्ला पञ्चायतले माछापालनका लागि ठेक्का दिएको थियो । त्यसयता यस क्षेत्रमा व्यावसायिक माछापालन सुरु भएको मानिन्छ । त्यसअघि उक्त तालको संरक्षण स्थानीयले गर्दै आएका थिए । बढैयाताल आसपास माछापालनका लागि पोखरी बनाउने लहरै चलेको छ ।


यहाँका किसानले धान खेतमा पोखरी खनेका छन् । अहिले पनि पोखरी खन्ने क्रम धमाधम छ । बढैयाताल ७० हेक्टर र निजी पोखरी १३५.७५ हेक्टर गरी गरी २ सय ६३ हेक्टरमा माछापालन हुने गरेको छ । १ हजार ७ सय ५६ दशमलव २ टन माछा उत्पादन हुने गरेको कृषिको तथ्यांक छ । बढैयाताल पकेट क्षेत्रमा मात्रै माछाबाट वाषिर्क ८ करोड ७९ लाख १२ हजार रुपैयाँ आम्दानी हुने गरेको छ ।

माछापालन गर्ने किसानले ५ लाख १७ हजार १ सय २९ रुपैयाँसम्म कमाउने गरेका छन् । यस वर्षदेखि पालिकाले ताललाई पर्यटकीय क्षेत्र बनाउने भन्दै ठेक्का तोडेको छ । 'बढैया क्षेत्र माछाका लागि प्रख्यात ठाउँ हो । यहाँका माछा देशका विभिन्न स्थानसम्म पुर्‍याइन्छन्,' माछापालन गर्दै आएका मीनराज पंगेनीले भने, 'यो पेसामा फाइदा पनि छ ।'


बढैयाताल आसपासको जग्गा माछापालनका लागि अति उत्पादनशील र पानी जम्ने भएकाले किसानलाई फाइदा पुगेको माछा प्राविधिकहरूले बताए । यहाँका पोखरीमा ४ दशमलव ६ टन प्रतिहेक्टर र तालमा १ दशमलव ५ टन प्रतिहेक्टर माछा उत्पादकत्व शक्ति रहेको छ ।


तालको क्षेत्रफल बढी भएकाले चराचुरुंगी, सर्प तथा भ्यागुताले साना माछा खाइदिने गरेकाले पोखरीको भन्दा कम उत्पादकत्व भएको हो । यहाँ उत्पादन भएको माछा दाङ २९, नेपालगन्ज र कोहलपुर ३१, गुलरिया र स्थानीय बजारमा ३० प्रतिशत निर्यात हुने गरेको छ । त्यसैगरी चिसापानी-धनगढीमा ८ प्रतिशत र भारतमा २ प्रतिशत माछा निर्यात हुने गरेको कृषिको अभिलेखमा उल्लेख छ ।


स्थानीय माछापालक किसानले कल्पवृक्ष सहकारी संस्था स्थापना गरेका छन् । समूहले माछा किसानलाई ऋण लगानी गर्दै आएको छ । गाउँपालिकाले पनि त्यस क्षेत्रलाई माछा पकेट क्षेत्रकै रूपमा विकास गर्ने जनाएको छ । त्यसका लागि विभिन्न कार्यक्रम ल्याइएको छ । गाउँपालिका प्रमुख लालबहादुर श्रेष्ठले बढैयाताल क्षेत्रलाई पर्यटकीय र माछाकोे पकेट क्ष्ाेत्रका रूपमा विकास गर्ने काम अगाडि बढाइसकेको बताए ।

प्रकाशित : वैशाख २७, २०७६ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?