ठूला आयोजनाको निर्माण सुस्त

मोहन बुढाऐर

धनगढी — गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ शिलान्यास गरेको कैलालीको सहजपुर हुँदै बोक्टान–दिपायल जोड्ने सडक खण्डको निर्माण सुस्त छ  । आयोजना सुरु भएको दुई महिनामा पुँजीगततर्फको खर्च २ प्रतिशतभन्दा कम भएको छ  ।

उक्त सडक आयोजनामा चालु आर्थिक वर्ष ०७५/०७६ मा १० करोड ५० लाख ३ हजार बजेट छुट्याइएको छ । चैतसम्ममा २ लाख ७९ हजार मात्र भुक्तानी भएको कोष लेखा नियन्त्रकको कार्यालय धनगढीले जनाएको छ ।


सुदूरका प्रमुख चार सहरको स्वरूपलाई परिर्वतन गर्ने गरी एसियाली विकास बैंक (एडीबी) को ९ अर्बको ऋण सहयोगमा सुरु हुने क्षेत्रीय सहरी विकास आयोजनाको काम अलपत्र छ । चालु आर्थिक वर्षमा कामै हुन सकेको छैन । आयोजना प्रमुख सुरेश वाग्लेले चालु आवमा पुँजीगततर्फको ३६ करोड ५६ लाख रुपैयाँ विविध कारणले खर्च गर्न नसकिएको बताए ।


उनका अनुसार चालु आवमा उक्त रकम धनगढी, महेन्द्रनगर, शुक्लाफाँटा र गोदावरी नगरभित्र सडक विस्तार, नाली निर्माण, फोहोर व्यवस्थापन, दिसाजन्य फोहोर व्यवस्थापन र भवन निर्माणका लागि आएको हो ।


‘काम सुरु हुन नसकेर शतप्रतिशत रकम फिर्ता जाने भएको छ,’ वाग्लेले भने, ‘यो वर्ष चालु पुँजीतर्फको बजेटमा काम भएको छ ।’ उनका अनुसार चालु पुँजीगत रकमले योजनाको सर्भे, डिजाइन, डीपीआर तयार गरी टेन्डर आह्वानको काम भएको छ ।


औद्योगिक करिडोर र अत्तरिया–मोहना ६ लेन आयोजनाको म्याद पनि यही जेठ महिनामा सकिँदै छ । ठेकेदार कम्पनीले डेड वर्ष म्याद थप गरिनुपर्ने माग गरेको छ । आयोजनाका प्रमुख होमबहादुर एसीले ६ लेन सडकको भौतिक प्रगति ४० प्रतिशत भए पनि वित्तीय प्रगति २८ प्रतिशत मात्रै भएको बताए । कोष तथा लेखा नियन्त्रक कार्यालयले उक्त आयोजनाको चालु आर्थिक वर्षको कुल बजेट ४० करोडमा ५० प्रतिशतभन्दा बढी (२० करोड ९५ लाख ८६ हजार ७ सय ८९) रकम ठेकेदार कम्पनीलाई भुक्तानी दिएको जनाएको छ ।


रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पनि २९ प्रतिशत मात्रै प्रगति भएको छ । चालु आवको पुँजीगततर्फ २ अर्ब १२ करोड २७ लाख बजेटमा चैत मसान्तसम्ममा ठेकेदार कम्पनीले ६२ करोड १९ लाख ३२ हजार ७ सय ३२ रुपैयाँ भुक्तानी लिएको छ । यो चालु आर्थिक वर्षको कुल बजेटको २९ प्रतिशत मात्रै हो ।


चार वर्षअघि नै सम्पन्न भइसक्ने १८ किलोमिटर हुलाकी सडक खण्डको निर्माण पनि अझै पूरा भएको छैन । हसुलियादेखि लालबोझी कान्द्रा नदीसम्मको १८ किलोमिटर सडक निर्माणमा ४६ प्रतिशत मात्रै प्रगति भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षको बजेटमा ४० करोड १० लाख २५ हजार बराबरको काममध्ये १८ करोड ५१ लाख ३५ हजार ५ सय १ को काम सम्पन्न भई भुक्तानी भएको छ ।


उक्त सडक खण्डको दुई किलोमिटर सडक वसन्ता जैविक मार्गमा परेकाले निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इन्जिनियर पदमबहादुर मडैले बताए । उनका अनुसार वन विभागले जैविक मार्गभित्रबाट सडक लैजाँदा वन्यजन्तुमैत्री बन्नुपर्ने अडान राखेका कारण २ किलोमिटर सडक क्षेत्रका रुख हटाउन सकिएको छैन । ‘वन्यजन्तु जैविकमैत्री सडक निर्माण गर्न रि–डिजाइन गर्नुपर्ने हुन्छ,’ इन्जिनियर मडैले भने, ‘रि–डिजाइन गरेर सडक निर्माण गर्नुपर्‍यो भने योजना चार वर्ष अझै पछाडि धकेलिने निश्चित छ ।’


सुदूरपश्चिम प्रदेशसभामा विपक्षी दलका नेता डा. रणबहादुर रावलले वर्तमान सरकारले विगतमा नेपाली कांग्रेसले सुरु गरेका ठूला आयोजनाको कामलाई गति दिन नै नचाहेको आरोप लगाए ।

प्रकाशित : वैशाख २८, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?