१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

खुल्न थाले चिया बगान

काठमाडौँ — संघीय सरकारले लागू गरेको कानुन कार्यान्वयनमा स्थानीय सरकारले सहयोग पुग्ने गरी दबाब सिर्जना नगरेको आरोप
ल अर्जुन राजवंशी (बिर्तामोड) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको चेतावनीपछि जिल्लामा ठूला चिया बगानहरू खुल्न थालेका छन् ।

खुल्न थाले चिया बगान

श्रम ऐन कार्यान्वयन गर्न नसक्ने भए बगान सञ्चालकलाई लिखित रूपमा पत्र बुझाउन मन्त्री विष्टले निर्देशन दिएपछि केही ठूला चिया बगानमा काम सुचारु भएको छ ।


नेपाल चिया विकास निगमअन्तर्गत झापामा रहेका टोकला, बर्ने र बाह्रदशी चिया बगान तथा कारखाना आइतबारदेखि सञ्चालनमा आएका छन् । दमकमा रहेको हिमालय महालक्ष्मी टी गार्डेनमा पनि शनिबारदेखि काम सुचारु भएको छ ।


निगम र हिमालय महालक्ष्मीले श्रम ऐनअनुसार मजदुरलाई दैनिक ज्याला र सेवा सुविधा दिने सहमति गरेका छन् । हिमालय महालक्ष्मी टी गार्डेनले श्रम ऐन र सामाजिक सुरक्षा ऐन पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति गरेको छ । आन्दोलनरत नेपाल चिया बगान श्रमिक संघ, अखिल नेपाल चिया मजदुर संघ र नेपाल कृषि तथा चिया बगान श्रमिक संघसँग टी गार्डेनको व्यवस्थापन पक्षले लिखित सहमति गरेको छ ।


सहमतिअनुसार ०७५ साउन १ देखि ऐनमा उल्लेख भएको दैनिक ज्याला ३ सय ८५ दिनुपर्नेमा ९ महिनासम्म २ सय ७८ मात्रै दिँदै आएकामा दैनिक ज्यालामा फरक परेको १ सय ७ रुपैयाँका दरले कामदार तथा कर्मचारीले पाउने सम्पूर्ण बाँकी ज्याला एक वर्षभित्र किस्ता बन्दीमा भुक्तानी गर्ने सहमति भएको छ ।


निगमले भने ऐनअनुसार ०७५ साउनदेखि नभई काम सुचारु भएको आइतबारदेखि श्रम ऐनअनुसार दैनिक ज्याला र सेवा, सुविधा प्रदान गर्ने जनाएको छ । मजदुर हडतालका कारण निगमले करोडौंको क्षति बेहोर्नुपरेकोले साउनदेखि ऐन कार्यान्वयन गर्न नसक्ने निगमका प्रशासन प्रमुख लोकनाथ दंगालले बताए ।


जिल्लामा अब अनुदान माग गरिरहेका ठूला उद्योगीका बगान मात्र सञ्चालनमा आउन बाँकी छ । ३ हजार हेक्टरमा चिया खेती गर्दै आएका साना किसानका सबै बगानमा काम सुचारु छ । साना किसान सहकारीद्वारा सञ्चालित चारवटै कारखाना पनि सञ्चालनमा छन् ।


साना किसानले ट्रेड युनियनहरूसँग श्रम ऐनअनुसार ज्याला र सेवा, सुविधा दिने लिखित सहमति गरी बगान र कारखाना सञ्चालन गरिरहेका छन् । जिल्लामा अब सुरेश मित्तल, चण्डी पराजुली, छत्र गिरी, कुमार गिरी, शिव गुप्ता, गोविन्द सरिया, जेपी शर्मा, भक्ति अधिकारी, राजेन्द्रसिंह राजवंशीलगायतका ठूला बगान सञ्चालनमा आउन बाँकी छ ।


स्थानीय सरकारप्रति गुनासो

स्थानीय सरकारले श्रम ऐन कार्यान्वयन गराउन चिया उद्योगीलाई दबाब नदिएको गुनासो मजदुरहरूले गरेका छन् । भोकभोकै ४३ दिनसम्म आन्दोलन गर्दासम्म चासो नदिएको उनीहरूको आरोप छ । 'चुनावमा भोट माग्न आउँदा चिया मजदुरका सबै समस्या समाधान गर्न लागिपर्छौं भनेका थिए । आज हामी ४३ दिनसम्म सडक आन्दोलनमा रहँदासम्म उनीहरूले एक शब्द केही बोलेका छैनन्,' भद्रपुरस्थित बुधकरण टी स्टेटका मजदुर राजकुमार तामाङले भने ।


उनले ऐन कार्यान्वयनमा उद्योगीमाथि दबाब सिर्जना गर्न स्थानीय सरकारका कार्यालयमा धर्ना र ज्ञापनपत्र बुझाएको बताए । 'आन्दोलनकै क्रममा हामीले स्थानीय तहमा धर्ना दिनुका साथै प्रमुखहरूलाई ज्ञापनपत्रसमेत बुझाउँदा पनि उहाँहरूबाट मजदुरका लागि कुनै कदम चालिएन,' तामाङले भने ।


बिर्तामोडस्थित गोमादेवी टी स्टेटका मजदुर राजकुमार श्रेष्ठले चुनावमा चिया मजदुरकै भोट निणर्ायक भन्दै दिनरात क्वाटर र घरमा धाउने नेताहरू अहिले नदेखिएको गुनासो गरे । 'अहिले हामीलाई समस्या पर्दा उहाँहरूले कुनै सहयोग गर्नु भएको छैन,' उनले भने । ट्रेड युनियन कांग्रेसका जिल्ला सभापति यज्ञप्रताप अधिकारीले संघीय सरकारले लागू गरेको कानुन कार्यान्वयनमा स्थानीय सरकारहरूले सहयोग पुग्ने गरी दबाब सिर्जना गर्नुपर्नेमा त्यसो हुन नसकेको बताए ।


भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले उद्योगीहरूले संघीय सरकारसँगै संवादमा रहेकाले आफूहरूले कुनै कदम नचालेको दाबी गरे । श्रम ऐन कार्यान्वयन नगर्ने चिया उद्योगीलाई स्थानीय सरकारले कारबाही गर्ने अधिकारसमेत नरहेकाले चुप बसेको बताए । अर्जुनधारा नगरपालिकाका मेयर हरि रानाले ऐन कार्यान्वयन नगर्ने छुट कसैलाई नभएको बताए ।


उनले चिया क्षेत्रमा देखिएका समस्या संघीय सरकारबाटै समाधानको उपाय खोज्ने कार्य भइरहेकाले आफूहरू भूमिकाविहीन देखिएको सुनाए । 'मजदुर साथीहरूको कुरा सही छ । हाम्रो भूमिका र जिम्मेवारी के हुने भन्ने नै स्पष्ट छैन । यस्तो अवस्थामा हामी कसरी अगाडि बढ्न सक्छौं ?' मेयर रानाले भने ।


बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले संघीय सरकारले यस विषयमा कुनै निर्देशन दिए तत्काल कदम चाल्ने बताए । 'कानुन मानेर जानुको विकल्प छैन भनेर हामीले उद्योगीहरूलाई भनिरहेका छौं । ठोस निर्णय गरेर अघि बढ्ने अवस्था छैन,' उनले भने ।


श्रम ऐन ०७४, श्रम नियमावली ०७५ र सामाजिक सुरक्षा ऐन ०७४ कार्यान्वयनको माग गर्दै जिल्लाका चिया मजदुर चैत १७ देखि आन्दोलनमा छन् । उनीहरूले आइतबार नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलको निवास अगाडि धर्ना दिएका छन् ।

प्रकाशित : वैशाख ३०, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?