बढ्यो जुट निकासी

कान्तिपुर संवाददाता

विराटनगर — भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी तयारी वस्तु उत्पादन गर्दै आएका सुनसरी मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगले चालु वर्षको आठ महिनामा ३ अर्ब ७० करोड ४० लाख मूल्य बराबरका जुटका सामग्री भारत निकासी गरेका छन् । यो गत वर्षको यही अवधिको तुलनामा २४ दशमलव ५२ प्रतिशतले बढी हो ।

गत वर्ष यही अवधिमा ३ अर्ब ३७ करोड ४२ लाख मूल्य बराबरका जुटका सामग्री निकासी भएको निकासी तथा प्रवद्र्धन केन्द्रको तथ्यांकमा उल्लेख छ । केन्द्रका प्रमुख कृष्ण रेग्मीका अनुसार चालु वर्षको आठ महिनामा जुटका बोरा र ब्याग मात्र १ अर्ब ६७ करोड ६ लाख मूल्यको निकासी भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ३४ करोड २७ लाखको निकासी भएको थियो ।

त्यसैगरी जुटका उत्पादन शीर्षकमा यस वर्ष आठ महिनामा २ अर्ब ३ करोड ३३ लाख मूल्यका जुटका सामग्री निकासी भएको छ । रेग्मीका अनुसार गत वर्ष यही अवधिमा २ अर्ब ३ करोड १४ लाखको निकासी भएको थियो ।

मुलुकमा स्थापित ११ वटा जुट उद्योगमध्ये हाल ६ वटा मात्र सञ्चालनमा छन् । ती उद्योगले धागो, सुतली, हेसिन र स्याकिङ क्लोथ निकासी गर्दै आएका छन् । त्यसमध्ये गोल्छा समूहका अरिहन्त मल्टी फाइवर्स र रघुपति जुट मिलले मात्र ३ अर्ब १७ करोड मूल्य बराबरका जुटका सामग्री निकासी गरेको तथ्यांक छ ।

जुट उद्योगले विगतका वर्षमा वार्षिक सरदर ५ अर्ब मूल्य बराबरका जुटका सामग्री निकासी गर्दै आएको थियो ।

जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले चालु वर्षमा सात अर्बभन्दा बढीका जुट सामग्री निकासी गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

खुलेनन् इलाम र कन्यामका बगान 

विप्लव भट्टराई

इलाम — ४४ दिनदेखि जारी श्रमिक आन्दोलनका कारण बन्द रहेका इलामका दुईवटा चिया बगान अझै खुल्न सकेका छैनन् । मुलुककै पुरानो इलामसहित कन्याम चिया बगान सञ्चालनमा आउन नसकेका हुन् । केही दिनदेखि झापालगायत क्षेत्रका कारखाना सञ्चालनमा आएपछि यहाँ पनि आन्दोलन टुंगिने अपेक्षामा रहेका श्रमिक निरास छन् । 

व्यवस्थापनले ती बगानमा कम आम्दानी हुने भन्दै सरकारले तोकेको सेवा सुविधा दिन नसक्ने अडान राखेको श्रमिक नेता दीपक तामाङले बताए । पूर्वका अन्य चिया बगान र कारखाना क्रमशःसञ्चालनमा आउन थालेका छन् । आन्दोलनका कारण इलाम र कन्यामका तीन सय श्रमिक समस्यामा छन् । कन्याम बगानमा स्थायी र पार्टटाइमरसहित अढाइ सय कार्यरत छन् भने इलाममा ५१ रहेका छन् ।

चिया टिपेरै घर चलाउने बाध्यता भएका उनीहरू कष्टमा छन् । ‘सबैतिर बगान खुल्न थाले पनि हाम्रो नखुल्दा झन पीडा भएको छ,’ इलाम बगानकी सरस्वती चम्लागाईले भनिन्, ‘अधिकांश श्रमिकलाई दैनिक खर्च धान्न पनि समस्या छ ।’ अधिकांश श्रमिक छिटो समस्या समाधान गरेर बगानमा फर्कन पाइयोस् भन्ने अपेक्षामा छन् । सरकारले दिएको सुविधा मात्र माग गरेकाले यसलाई गम्भीर रूपमा लिइनुपर्ने कन्यामका उमेश रेग्मीले बताए ।

सिजन सुरु हुनासाथ थालिएको मजदुर आन्दोलनका कारण इलामका चिया बगानमा हरियो चियापत्ती हुर्केर काम नलाग्ने अवस्थामा पुगेको छ । गत वर्षको साउनमा सरकारले चिया श्रमिकको न्यूनतम पारिश्रमिक मूल्य ३ सय ८५ रुपैयाँ तोकेको थियो । अहिलेसम्म पनि दैनिक २ सय ६५ रुपैयाँमा काम गरिरहनुपरेको उनीहरूको गुनासो छ । श्रमिकहरूले साउन १ गतेदेखिकै बढेको ज्याला पाउनुपर्ने, दसैं खर्चलगायत अन्य सेवा सुविधा पाउनुपर्ने माग राखेका छन् ।

यता त्रिवेणी संघाई ग्रुपले भने समाधानको प्रयासमा आफूहरू रहेको जनाएको छ । पहाडी बगानमा आम्दानी कम हुने र सरकारले पनि आफूहरूसँग सल्लाह नगरी सेवा सुविधा बढाएकाले थेग्नै नसक्ने अवस्थामा पुगेको दाबी उक्त कम्पनीको छ । केही दिनभित्र समस्याको समाधान निकाल्न सकिने अध्यक्ष सुवास संघाईको भनाइ छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्