१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गोदामबाटै मल गायब

सरकारले अनुदानमा उपलब्ध गराएको २ हजार १ सय ६७ बोरा रासायनिक मल गोदामबाटै हरायो
विनु तिम्सिना

विराटनगर — रासायनिक मलको हाहाकार भइरहेका बेला विराटनगस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोसी कार्यालयको गोदामबाट लाखौं मूल्यको मल गायब भएको छ । सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १ सय ६७ बोरा रासायनिक 
मल भण्डारण गरिएको गोदामबाटै हराएको हो । 

साल्ट ट्रेडिङको गोदामबाट १ हजार ८ सय ८२ बोरा युरिया, २ सय ४७ बोरा डीएपी र ३८ बोरा पोटास गरी २ हजार १ सय ६७ बोरा रासायनिक मल हराएको साल्ट टे«डिङ कर्पोरेसन केन्द्रीय कार्यालयले जनाएको छ । हराएको मलको मूल्य १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ पर्छ ।


उक्त प्रकरणमा साल्ट्र टेडिङ कोसीका इन्चार्ज दिलचन्द्र राईलाई स्पष्टीकरण सोधिएपछि केन्द्रीय कार्यालयले २ वैशाखमा ३ महिनाका लागि निलम्बन गरेको छ । साल्टट्रेडिङले विराटनगर, सोनापुर र इटहरीमा गरी १० वटा गोदाममा मल भण्डारण गर्छ । रासायनिक मल राखिएको १० वटा गोदाम हेर्ने जिम्मेवारी पाएका राईलाइ गोदामबाट मल हराएपछि गत माघमा केन्द्रीय कार्यालयले स्पष्टीकरणसमेत सोधेको थियो ।


भण्डारण गरिएको मल हराएपछि त्यसको अनुसन्धान गर्न कर्पोरेसनको केन्द्रीय कार्यालयले प्रबन्धक निर्देशक राधेश्याम चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । चौधरीको नेतृत्वमा आएको छानबिन समितिले छानबिन प्रक्रिया पूरा गरेर काठमाडौं फर्किएको छ । उसले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।


यसले गर्दा घटनाका दोषी यकिन भएको छैन । केन्द्रीय कार्यालयले लेखापरीक्षण गर्दा आयात भएको, बिक्री भएको र भण्डारण भएको मलको विवरण नमिलेपछि घटनामाथि छानबिन सुरु भएको हो ।


गोदामबाट ठूलो परिमाणको रासायनिक मल हराएकाले छानबिन समिति गठन गरेर छानबिन भइरहेको समितिका संयोजक राधेश्याम चौधरीले बताए ।


कर्पोरेसनको अञ्चल कार्यालय विराटनगरका प्रमुख नवीनचन्द्र झा, भण्डार शाखाका असिस्टेन्ट खगेन्द्रप्रसाद बस्नेतलगायत सबै कर्मचारीसँग लिखित बयान लिइसकेको उनले जानकारी दिए । सूक्ष्म हिसाबले अध्ययन भइरहेको बताउँदै उनले छानबिनको प्रतिवेदन केही दिनभित्रै सार्वजनिक गर्ने बताए ।


मल गायब प्रकरणमा केन्द्रीय कार्यालयले राईलाई निलम्बन गरेको भए पनि कार्यालय प्रमुख झालाई भने निलम्बन गरेको छैन । मल हराएको दोस्रो दिन नै आफूले कार्यालय प्रमुख झालाई त्यसबारे जानकारी गराएको तर झाले केन्द्रीय कार्यालयमा सूचना नदिएको राईले बताए ।


कर्पोरेसनको उच्च तहका ‘हाकिम’ को मिलेमतोमा मल गायब पारिएको बताउँदै उनले मल हराएको विषयमा सूचना दिने आफूलाई नै निलम्बन गरेर ठूला कर्मचारीलाई बचाउने चलखेल भएको आरोप लगाए । मल ढुवानी गर्ने पशुपति रोडवेजसँगको मिलेमतोमा बाटोबाटै मल गायब पारिएको उनको दाबी छ ।


मल हराएको विषयमा छानबिन समिति गठन भइसक्दा पनि यता झाले भने मल हराएको विषय अस्वीकार गरे । गोदाममै कतै रहेको बताउँदै उनले मल हराएको विषयमा सत्यता नरहेको दाबी गरे ।


युरिया मल मोरङको बूढीगंगा गाउँपालिकाको निमुवास्थित गोदाममा भण्डारण गरिएको ठाउँबाट गत कात्तिकमा हराएको थियो । त्यस्तै पोटास र डीएपी सुनसरीको सोनापुरस्थित गोदामबाट गत वर्षको जेठ २२ गते हराएको बुझिएको छ ।


साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट ४ सय सहकारीलाई अनुदानको मल बिक्री वितरण गर्दै आएको छ । अहिले चैते धान, मकै, उख, तरकारी खेतीलगायत बालीमा रासायनिक मलको आवश्यक छ । मल अभावमा कृषकहरू महँगो मूल्यमा भारतबाट तस्करी गरिएको कम गुणस्तरको प्रयोग गर्न बाध्य छन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?