३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

टेलिकमको सेवाबाट आम्दानी ६२ करोड घट्यो

विजय तिमल्सिना

काठमाडौँ — नेपाल टेलिकमको पछिल्लो त्रैमासिकमा सेवाबाट हुने आम्दानी र नाफा दुवै घटेको छ । टेलिकमको पछिल्लो त्रैमासिकमा आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा आम्दानी साढे ६ प्रतिशतले घटेको छ । नाफा भने अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले घटेको छ ।

टेलिकमको सेवाबाट आम्दानी ६२ करोड घट्यो

टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार यो अवधिमा कम्पनीले सेवाबाट मात्रै ९ अर्ब ६ करोड १९ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ९ खर्ब ६८ करोड ५७ लाख ३३ हजार आम्दानी गरेको थियो । टेलिकमको कुल आम्दानीमा पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढीले कमी आएको छ ।


टेलिकमले अघिल्लो आर्थिक वर्षको माघदेखि चैत महिनासम्ममा ११ अर्ब ४८ लाख ३३ करोड रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको माघदेखि चैतको अवधिमा टेलिकमको कुल आम्दानी १० अर्ब ६६ करोड ३३ लाख ६६ हजार मात्रै आम्दानी गरेको छ ।


यो अवधिमा टेलिकमले प्रशासनिक र सञ्चालन खर्चमा भने कमी ल्याएको छ । पछिल्लो त्रैमासिकमा प्रशासनिक खर्च ३५ करोड २८ लाख ६७ हजार रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा प्रशासनिक खर्च ४७ करोड ५१ लाखभन्दा बढी थियो ।


घट्यो अन्तर्राष्ट्रिय कल

ओभर दि टप (ओटीटी) सेवाको व्यापकता, प्रतिस्पर्धाका कारण आम्दानी घट्दै गएको टेलिकमले जनाएको छ । नेपालमा रहेका टेलिकम सेवा प्रदायकले सबैभन्दा बढी नाफा अन्तर्राष्ट्रिय कलबाट कमाउँदै आएका थिए । अन्तर्राष्ट्रिय कलमा बढी शुल्क हुने भएकाले कम्पनीहरूले बढी नाफा पाउँथे ।


इन्टरनेटमा आधारित ओभर दि टप सर्भिसको लोकप्रियताका कारण अन्तर्राष्ट्रिय कलको संख्या घट्दो छ । उपभोक्ताले महँगो शुल्कको सट्टामा इन्टरनेटको प्रयोग गरी भाइबर,


ह्वाटस्एप, म्यासेन्जरजस्ता ओभर दि टप सेवाको सहायतामा कल गर्न थालेका छन् । टेलिकम कम्पनीको भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गए पनि डाटातर्फको आम्दानी वृद्धि हुँदै गएको अन्तर्राष्ट्रिय ट्रेन्न्ड छ । टेलिकमले आफ्नो वित्तीय विवरणमा भ्वाइस र डाटा सेवाबाट गरेको आम्दानी छुट्टाछुट्टै रूपमा सार्वजनिक गरेको छैन ।


चालु आर्थिक वर्षबाट सरकारले कर्पोरेट करको दरमा वृद्धि गरेकाले पनि नाफामा कमी आएको टेलिकमको वित्तीय विवरणमा उल्लेख गरेको छ । यो आर्थिक वर्षबाट सरकारले कर्पोरेट करको दर २५ प्रतिशतबाट ३० प्रतिशत पुर्‍याएको छ । यसले गर्दा पछिल्लो त्रैमासिकमा मात्रै ८० करोड रुपैयाँ कर भार बढेको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।


यसै आर्थिक वर्षबाट सरकारले दूरसञ्चार सेवा शुल्कको दर पनि बढाएको छ । अघिल्लो वर्षसम्म भ्वाइस सेवामा मात्रै ११ प्रतिशत दूरसञ्चार सेवा शुल्क लाग्दै आएको थियो । यो आर्थिक वर्षबाट सरकारले भ्वाइसमा लाग्दै आएको ११ प्रतिशत दूरसञ्चार शुल्कलाई बढाएर १३ प्रतिशत पुर्‍याएको छ भने डाटामा पनि सेवा शुल्क लगाउन थालेको छ ।


टेलिकम सेवा प्रदायकहरूले उपभोक्तालाई भार नपार्न भन्दै इन्टरनेटमा थपिएको दूरसञ्चार सेवा शुल्क पुरानै दरमा समायोजन गर्ने घोषणा गरेका थिए । टेलिकमले पछिल्लो त्रैमासिक अवधिमै नवीकरण शुल्कबापत नेपाल दूरसञ्चार प्राधिकरणलाई १८ करोड ९० लाख रुपैयाँ तिरेको थियो ।


मोबाइल सेवा अनुमतिपत्र ५ वर्षका लागि नवीकरण गर्न निवेदनसहित प्राधिकरणले यो शुल्क तिरेको हो । टेलिकमले मोबाइल सेवा अनुमतिपत्रबापत २० अर्ब रुपैयाँ तिर्नुपर्ने निर्णय दूरसञ्चार प्राधिकरणले गरेको छ । प्राधिकरणको यो निर्णयसँगै २० अर्बमा १८ करोड ९० लाख रुपैयाँ कटाएर टेलिकमले नवीकरण शुल्क तिर्नुपर्ने हुन्छ ।


यसै वर्षदेखि टेलिकमले फोजी विस्तारको काम थालेको छ । एक वर्षभित्र देशका प्रमुख सहरमा फोजी विस्तार गर्ने योजनासहित टेलिकमले ठेकेदार कम्पनीसँग सम्झौता गरिसकेको छ । फोजीको देशव्यापी सञ्जाल विस्तार भएपछि डाटाबाट हुने आम्दानी वृद्धि हुँदै जाने टेलिकमका अधिकारीहरू बताउँछन् ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?