कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वमन्त्री बोगटीको सम्झनामा कृषि मेला

काठमाडौँ — वामपन्थी नेता एवं पूर्वमन्त्री दिंवगत पोष्टबहादुर बोगटीको स्मृतिमा शनिबारदेखि कृषि प्रदर्शनी मेला हुने भएको छ ।

कृषि र पर्यटन प्रवर्द्धनको उद्देश्यले नुवाकोटको रानीपौवा बजारमा पाँच दिने मेला गर्न लागिएको आयोजक पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

पूर्वमन्त्री बोगटीको सम्झनामा कृषि मेला

ककनी गाउँपालिका नुवाकोटको सहआयोजना रहेको मेलाको नाम 'पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला २०७६' दिइएको छ । मेला जेठ ४ देखि ८ गतेसम्म चल्ने छ ।


प्रतिष्ठानका अध्यक्ष एवं नेकपाका नेता हितराज पाण्डेले देशमा खेतीयोग्य जमिन बाँझो रहेको बेला कृषिको आधुनिकीकरण, वैज्ञानिकीकरण र नुवाकोटको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्यले दिवंगत नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको बताए । रसुवा, धादिङ, काठमाडौंका कृषक र अवलोकनकर्तासमेत केन्द्रित गर्ने उद्देश्यले रानीपौवामा कृषि मेला राखिएको उनले प्रस्ट्याए । मेला नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिष्ठानका उपाध्यक्ष एवं मेला संयोजन समिति संयोजक हितबहादुर तामाङले मेलामा नुवाकोटको चिनारी ट्राउट माछा, स्ट्रबेरी, आलुलगायत कृषि उपज आकर्षण रहने बताए । त्यस्तै, धान, कोदो, मकै, गहुँलगायत खाद्यान्न, तरकारी तथा फलफूलजन्य लिची, आरुबखडा, चिउरी, काफल, ग्राउन्ड एप्पल, कफी, चिया, तरुल, सखरखण्ड, बदाम, पिँडालु, मुलालगायतको पनि स्टल रहने छन् ।

मेलामा रहने ४० वटा स्टलमा नुवाकोटका १२ वटै स्थानीय तहले आ-आफ्ना क्षेत्रका सबै प्रकारका कृषि उपज र छिमेकी जिल्लाहरु रसुवा, धादिङ र काठमाडौंका कृषकहरुका स्टलहरु रहने छन् । यो मेलापछि विभिन्न गाउँपालिकालाई उत्पादनको आधारमा वर्गीकरण र विशिष्टिकृत गर्न सजिलो हुने उनले बताए । उनका अनुसार प्रदर्शन अवधिभर करिब ५० हजारले दर्शकले अवलोकन गर्ने, २ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।


मेला अवधिमा स्थानीय बाजा तथा झाँकी, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री तथा सांसहरुको सम्बोधन, स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुति रहने छ । मेलामा उत्कृष्ट उत्पादन गर्ने कृषक, उत्कृष्ट कलाकारहरुलाई सम्मान गरिने जनाइएको छ ।


नुवाकोटको तुप्चेमा २०१० सालमा जन्मिएका पोष्टबहादुर बोगटीको ०७१ भाद्र ३० गते मष्तिकघात र हृदयघातका कारण निधन भएको थियो । बोगटीले उर्जामन्त्री र पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । किसान संघर्षको नेतृत्वसमेत गरेका बोगटी २०६४ सालको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

प्रकाशित : जेष्ठ १, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?