१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय ग्रिडमा जोडियो खलंगा, ८ जिल्लामा पुग्न बाँकी 

काठमाडौँ — दार्चुलाको सदरमुकाम खलंगामा नेपाल विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याएको छ । प्राधिकरणले बलाँच-खलंगा ३३ केभी प्रसारण सञ्चालनमा ल्याएसँगै खलंगा नेपालकै विद्युत् प्रणालीमा आबद्ध भएको छ । 

अब ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिन बाँकी भएको प्राधिकरणले जनाएको छ । बाजुरा, हुम्ला, कालीकोट, मुगु, डोल्पा, रुकुम र सोलुखुम्बु राष्ट्रिय ग्रिडमा जोडिन बाँकी छ । यीमध्ये तीन जिल्ला बाजुरा, रुकुम र सोलुखुम्बुलाई यसै वर्ष राष्ट्रिय ग्रिडमा जोड्ने प्राधिकरणको तयारी छ ।


खलंगामा यसअघि भारतको उत्तराखण्डबाट विद्युत् ल्याइएको थियो । राष्ट्रिय ग्रिडमा जोडिएसँगै दार्चुलामा भोल्टेजको समस्या समाधान हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले खलंगामा विद्युत्आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो ।


प्राधिकरणले विद्युत् आयात गरेबापत उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक रूपमा करिब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करिब ८ हजार ग्राहक छन् ।


बलाँच-खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्चुलाको थालीगाडमा निर्माणाधीन ३३/११ केभी सबस्टेसनको काम असारभित्र सकिने प्राधिकरणले जनाएको छ ।


प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२को चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाइ २५ किलोमिटर छ । सबस्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयाँमा २०७३ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।


प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सबस्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउनेछ ।


चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सबस्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्यचमेलिया, ६५ मेगावाटको कलंगा गाड, २५ मेगावाटको छत्तिगाड आयोजना जोडिनेछन् । त्यहाँ जोडिएको विद्युत् १३१ किलोमिटर बलाँच-अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा

प्रवाह हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?