कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

तार नपुग्दा तल्लो मोदीको उत्पादनमा ढिलाइ

दिप्ती सिलवाल

पर्वत — पावर हाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिँदा दुई महिनाअघि परीक्षण उत्पादनको तयारी गरेको तल्लो मोदीको काममा ढिलाइ भएको छ । परादीस्थित पावर हाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करिब ७ मिटर नपुग्दा उत्पादनमा ३ महिना बढी ढिलाइ हुने देखिएको हो ।

आयोजनाले तारको दूरी नाप्ने इन्जिनियरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौं नोक्सान हुने बताएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावर हाउसदेखि प्रसारण लाइनसम्म पुर्‍याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो । चैतमा परीक्षण उत्पादनको दाबी गरेको आयोजनाको तार छोटो भएपछि अहिलेसम्म नयाँ तार तान्ने काम हुन सकेको छैन ।


‘सानो कामले धेरै दु:ख पाइयो,’ आयोजना प्रमुख पवनकुमार यादवले भने, ‘चैतमै फागुनमै परीक्षण उत्पादन दिने योजना थियो । चौपट भयो ।’ पावर हाउसदेखि प्रसारण लाइनसम्म विद्युत् पठाउन आयोजनाले एउटा मात्रै टावर बनाए पुग्छ । टावरका सबैजसो संरचना पूरा गरेको आयोजनाले ७ मिटर तारकै कारण उत्पादन दिन ढिलाइ गर्नुपरेको हो ।


२०६९ साउनमा निर्माण सुरु आयोजनाको उत्पादन लक्ष्य ०७४ असारमा थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो । अघिल्लो असार मसान्तभित्र उत्पादन गर्ने भनिए पनि पूर्वाधारतर्फ काम नसकिएको र टनेलभित्र केही समस्या आएका कारण ढिलाइ भएको आयोजनाले जनाएको थियो । लक्ष्यअनुसार समयमै काम सक्न स्थानीयको अवरोध, प्राकृतिक प्रकोपलगायतका कारणले ढिलाइ भएको प्रमुख यादवले बताउँदै आएका थिए ।


‘मार्च फस्ट तारिखमा पानी हाल्ने लक्ष्य थियो,’ यादवले भने, ‘सानो त्रुटिले समस्या भयो ।’ मनाङ ट्रेड लिङ, फेवा कन्स्ट्रक्सनलगायतका व्यवसायी कम्पनीले टनेल, पावर हाउस र ड्याम क्षेत्रमा काम गरेका थिए । आयोजनाले टर्बाइन जोड्ने र टनेलदेखि टर्बाइनसम्मको ह्युमपाइप जोड्ने काम (रनवे) को जोडाइ परीक्षण, पेन्टिङलगायत काम सकेको छ । अघिल्लो वर्ष लामो झरीका कारण रनवे आसपासमा पहिरो खसेर पाइप बिछ्याउन समस्या परेपछि काममा ढिलाइ भएको थियो ।


सिभिलतर्फको निर्माण केही महिनाअघि नै सकिएको सहायक कम्पनी फेवा कन्स्ट्रक्सनका प्रतिनिधि त्रैलोक्यराज चालिसेले बताए । ‘बीचमा पहिरोले केही समस्या भएको थियो,’ उनले भने, ‘प्राविधिक काम सकेर हामीले जिम्मा लगाइसक्यौं ।’ पावर हाउससम्म पाइप बिछ्याउने, पावर हाउस फिनिसिङ, टर्र्बाइन र जेनेरेटर जडानलगायत फागुनअघि नै सकिएका थिए ।


विद्युुत् गृहदेखि प्रसारण लाइनसम्म पावर जोड्ने काम अन्तिम चरणमा पुगेका बेला ७ मिटर मात्रै तार कम हुँदा उत्पादन दिन नसकिएको आयोजनाले जनाएको छ । ‘अब अर्को तार मगाउनुपर्छ,’ यादवले भने, ‘त्यसका लागि केही समय लाग्ने भयो ।’ उत्पादन मिति पटकपटक सरेका कारण परीक्ष्ँण उत्पादनको समय तोक्न नमिल्ने उनले बताए । ३ अर्ब ६० करोडको लागत स्टिमेटमा सुरु आयोजनाले निर्धारित समयमा उत्पादन दिन नसकेपछि लागत पनि बढेको छ ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?