१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बिमाबाट विदेशी मुद्रा कम भित्रियो

काठमाडौँ — पुनर्बिमा कारोबारबाट मुलुक भित्रिनेभन्दा बाहिरिने रकम (मुद्रा) धेरै भएको देखिएको छ । पछिल्ला पाँच वर्षमा पुनर्बिमाको कारोबार समेटेर बिमा समितिले गरेको अध्ययनले यस्तो देखाएको हो । 

अध्ययन प्रतिवेदनका अनुसार हरेक वर्ष बिमा कम्पनीमार्फत औसत ५ अर्ब ४८ करोड रुपैयाँ पुनर्बिमा शुल्कका लागि बाहिरिँदै आएको छ । यो गत पाँच वर्षको औसत तथ्यांक हो । सोही अवधिमा बिमा दाबी भुक्तानीबापत विदेशी पुनर्बिमा कम्पनीमार्फत ४ अर्ब ९९ करोड रुपैयाँ भित्रिएको देखिन्छ । उल्लिखित तथ्यांकका आधारमा नेपालले हरेक वर्ष बिमाबापत करिब साढे ४८ करोड रुपैयाँ नोक्सान व्यहोरिरहेको छ ।


पछिल्ला पाँच वर्षमा पुनर्बिमाबापत बाहिरिने रकमभन्दा दाबी भुक्तँनीबापत भित्रिने रकम थोरै रहेको प्रतिवेदनले औंल्याएको छ । समितिको ५१ औं वार्षिकोत्सवको अवसरमा ‘एन एसेसमेन्ट अफ रिइन्स्योरेन्स प्राक्टिस एन्ड इट्स इम्प्याक्ट अन इन्स्योरेन्स इन्डस्ट्रिज’ विषयक अध्ययन प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।


‘बिमा कम्पनीहरूले पुनर्बिमा शुल्कबापत विदेशी कम्पनीलाई भुक्तानी गरेको रकमभन्दा ती कम्पनीबाट नेपाली बिमा कम्पनीले दाबी भुक्तानीबापत पाएको रकम थोरै छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘यसको अर्थ नेपालमा पुनर्बिमा कम्पनी स्थापना भए पनि बिमाबापत मुलुकबाट बाहिरिने रकम रोकिएन भन्ने हो ।’


प्रतिवेदनका अनुसार पछिल्ला वर्षमा पुनर्बिमाबापत बाहिरिने रकम निरन्तर रूपमा बढिरहेको छ । आर्थिक वर्ष ०७०/७१ मा ३ अर्ब १३ करोड, ०७१/७२ मा ३ अर्ब ५२ करोड, ०७२/७३ मा ५ अर्ब ९८ करोड, ०७३/७४ मा ७ अर्ब २६ र आर्थिक वर्ष ०७४/७५ मा ७ अर्ब ४९ करोड रुपैयाँ पुनर्बिमा शुल्कबापत बाहिरिएको छ ।


समितिले प्रमुख दुई पक्ष पत्ता लगाउन अध्ययन गरेको थियो । पहिलो, नेपाली बिमा क्षेत्रमा विदेशी पुनर्बिमा कम्पनीको प्रभाव छ/छैन । दोस्रो, नेपाल पुनर्बिमा कम्पनीको स्थापनापछि प्रिमियमबापत विदेशिने रकम रोकिएको छ/छैन । ‘विदेशी पुनर्बिमा कम्पनीले नेपाली बिमा क्षेत्रमा उल्लेख्य प्रभाव पारेको देखिएन,’ अध्ययनले भनेको छ, ‘यसैगरी, नेपाल पुनर्बिमा कम्पनीले बिमाबापत बाहिरिने रकम रोक्न सफल भएको देखिएन ।’


बिमाबापत बर्सेनि बाहिरिएको ठूलो रकम मुलुकमै रोक्ने उद्देश्यले नेपाल पुनर्बिमा कम्पनीको स्थापना भएको हो । यसकारण बिमा कम्पनीले आफ्नो कुल कारोबारको कम्तीमा २० प्रतिशत स्वदेशीमै पुनर्बिमा गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यसकारण पछिल्ला वर्षमा नेपाल पुनर्बिमा कम्पनीको व्यवसाय बढिरहेको अध्ययनले देखाएको छ ।


‘व्यावसायिक वृद्धि देखिए पनि निरन्तर रूपमा बाहिरिएको ठूलो रकम नेपालमै रोक्न नेपाल पुनर्बिमा कम्पनीको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनले सुझाएको छ । गत आर्थिक वर्ष मात्र मुलुकबाट पुनर्बिमामार्फत ९ अर्ब ७ करोड रुपैयाँ बाहिरिएको तथ्यांक सार्वजनिक भएको थियो । यो जोखिम सुरक्षणका लागि नेपाली बिमा कम्पनीले विदेशी पुनर्बिमा कम्पनीसँग गरेको पुनर्बिमाबापतको भुक्तानी हो । आर्थिक वर्ष ०७३/७४ को तुलनामा गत वर्षको पुनर्बिमाबापतको भुक्तानी (शुल्क) कम हो ।


अघिल्लो आर्थिक वर्ष बिमा कम्पनीले पुनर्बिमाबापत भुक्तानी गर्दा कुल ९ अर्ब २९ करोड रुपैयाँ बाहिरिएको थियो । उक्त अवधिमा बिमा कम्पनीको पुँजीगत आधार बढ्नुका साथै नेपाल पुनर्बिमा कम्पनीसँगको व्यवसाय बढेकाले बाहिरिने रकम घटेको विज्ञहरूले जनाएका छन् । मुलुकबाट बाहिरिएको रकममध्ये निर्जीवन बिमा कम्पनीले ७ अर्ब ८८ करोड र जीवन बिमा कम्पनीले १ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेका सरकारी तथ्यांक छ ।


गत चार वर्षमा नेपाल पुनर्बिमा कम्पनीले १० अर्ब २६ करोड रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । जसमध्ये करिब ९ अर्ब ८९ करोड स्वदेशी र करिब साढे ३७ करोड रुपैयाँ विदेशी बिमा कम्पनीबाट प्राप्त भएको पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बताए । ‘चार वर्षको अवधिमा करिब साढे ३७ करोड रुपैयाँ विदेशी मुद्रा मुलुक भित्रिएको छ,’ उनले भने । चालु आर्थिक वर्षमा करिब अर्ब रुपैयाँ प्रिमियम संकलन गर्ने लक्ष्य रहेको उनले बताए ।


उल्लिखित पौने १० अर्ब रुपैयाँमध्ये सबै रकम रोकिएको होइन । उक्त बिमा शुल्कमध्ये ३ अर्ब ६० करोड रुपैयाँ पुनर्बिमा ‘रेट्रोसेसन’ मार्फत बाहिरिएको छ । यसरी हेर्दा गएको चार वर्षमा ७ अर्ब २९ करोड रुपैयाँ बाहिरिनबाट जोगिएको देखिन्छ । समितिको अध्ययनले भने बिमा व्यवसायका हकमा मुलुक अझै ऋणात्मक अवस्थामा रहेको देखाएको हो । हाल बिमा कम्पनीले आफ्नो पुँजी र सञ्चिति (नेटवर्थ) को ०.५ देखि ५ प्रतिशतसम्मको जोखिम आफंै बहन (रिटेन्सन) गर्न सक्छन् ।

प्रकाशित : जेष्ठ २, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?