कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चालकलाई फूलमाला

रासस

दार्चुला — व्यास गाउँपालिका-५ धौलाकोटका रतनसिंह धामी गत साता धौलाकोटको नाजीसम्म ट्रयाक्टर पुग्दा निकै खुसी भए । उनले तीन जना ट्रयाक्टर व्यवसायी, सडक निर्माण गरिरहेको महालक्ष्मी कन्स्ट्रक्सनका प्रतिनिधिलाई गाउँमै फूलमाला लगाएर भव्य स्वागत गरे । खुसीयालीमा खसी काटिए । गाउँमा भव्य भोज भयो ।

वर्षौंदेखि तुइनमार्फत खाद्यान्न ओसारपसार गर्दै आएका स्थानीय निकै उत्साही छन् । घर नजिकै सडक भएर खाद्यान्न ढुवानी हुन थालेपछि गाउँभरि खुसीको माहोल छ ।


एक दशक अघिबाटै दार्चुला तिंकर सडकको नाम सुनेका व्यवसायीले घर नजिकैबाट सडक बनिरहेको र गाउँमा सवारीसाधन गुड्न थालेकामा खुसी मनाएका छन् ।


‘सडक अहिले नै पुग्ला भनेर सोचेको थिएन,’ धामीले भने, ‘यो वर्ष सडक योजना कार्यालय, ठेकेदार सबैको सहयोगले सडक चाँडो पुग्यो ।’ अस्थायी ट्रयाक खुलाइएको भए पनि ट्रयाक्टर चल्न थालेका छन् । भारतीय बजारबाट तुइनमार्फत खाद्यान्नलगायत सामग्री ल्याउँदा ल्याउँदा हैरानी खेपिरहेका बेला नेपालतिरको सडकले गति लिएकामा पूरै गाउँमा खुसीयाली छ ।


‘तुइनको विकल्पको रुपमा स्थानीयले सडक हेरेका छन्,’ पहिलो पटक धौलाकोटको नाजीमा ट्रयाक्टर पुर्‍याउनुभएका व्यवसायी चक्रबहादुर बमले भने, ‘विगतको भन्दा अहिले सडकको काम राम्रो छ । तीन ठाउँमा सडक सुधार गर्नुबाहेक ट्रयाक्टर नियमित चल्छन् । अहिले दिनहुँ खाद्यान्न ढुवानीको माग बढ्दो छ ।’ दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले पटक पटक उक्त सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने आवाज उठाइरहेका थिए । अहिले उक्त माग जनस्तरबाटै उठ्न थालेको छ ।


उक्त सडक योजना प्रमुख अच्युतविलास पन्तले निर्माणाधीन दार्चुला तिंकर सडकको सुधार गरिँदै लगिने बताए । उनका अनुसार केही ठाउँमा सडकको चौडाइ बढाउनुपर्ने र केही ठाउँमा ‘लेबल’ मिलाउनुपर्नेछ ।


संघीय सडक सुपरीवेक्षण अनुगमन कार्यालय सुर्खेतका क्षेत्रीय प्रमुख घनश्याम गौतमले उक्त सडकको अनुगमन गरी सडक सुधार र ग्रेड मिलान तथा निर्माण कार्यमा तीव्रता दिन निर्देशन दिएका छन् । उनले विगतमा कामको जिम्मा लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई तत्काल काम गर्न निर्देशन दिए । अहिले निर्माण भइरहेका सडकलाई सुधार गर्दै अघि बढ्न सुझाव दिइएको योजना प्रमुख पन्तको भनाइ छ ।


एक वर्षमा १५ किलोमिटर ट्रयाक

एक दशकदेखि गति नलिएको उक्त सडकले चालु आर्थिक वर्षमा भने गति लिएको छ । निर्माण सुरु भएको दस वर्षमा कुल ४० किलोमिटर सडकको ट्रयाक खोलेकामा चालु आर्थिक वर्षमा मात्रै १५ किलोमिटर ट्रयाक खुलाइएको हो । विगतको तुलनामा यो वर्ष कामले गति लिएको छ । सदरमुकाम खलंगादेखि सुनसेरासम्म कुल ४० किलोमिटर सडक छ ।


चालु वर्षमा दुहुँ गाउँपालिकाको पिपलचौरीस्थित विजयपुर भीरदेखि सुनसेरासम्मको १५ किलोमिटर सडक ट्रयाक खुला गरिएको दार्चुला तिंकर सडक योजनाका योजना प्रमुख पन्तले जानकारी दिए । उक्त सडक व्यास गाउँपालिका केन्द्र सुनसेरासम्म पुग्न झन्डै दुई किलोमिटर मात्रै बाँकी छ । निर्माणकार्य चालु भएको हुँदा दुई साताभित्रै सुनसेरासम्म ट्रयाक खुलाइने बताइएको छ ।


यो वर्ष बझाङको कालंगाड जलविद्युत् आयोजनाबाट नौ हजार ती सय किलोग्राम जिलेटिन सापटी ल्याएर काम गराइएको हो । यो सडक निर्माणपछि व्यासका वडा नं ६, ५, ४, ३, र २ का स्थानीयलाई आवतजावतमा सहज हुने गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताए । कच्ची सडक भए पनि आफ्नै देशको बाटो भएर यात्रा गर्न सजिलो हुने उनले उल्लेख गरेका छन ।


महाकाली करिडोरको ८८ किमि ट्रयाक खुल्यो कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्मको नाका जोड्ने गरी निर्माण भइरहको महाकाली करिडोरको ८८ किलोमिटर ट्रयाक खुलाइएको छ । गत वर्षबाट निर्माण कार्य सुरु भएको करिडोरले यो वर्ष गति बढाएको छ । कञ्चनपुर हुँदै, डडेल्धुरा, बैतडी र दार्चुला गरी चार जिल्ला जोड्ने गरी करिडोर सुरु गरिएको हो ।


चीनको तिब्बत जोड्ने गरी सो करिडोर निर्माण थालिएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म ४२५ किलोमिटर लामो सडक निर्माण गर्न सके सुदूरपश्चिम प्रदेशको उत्तरी नाका व्यापारिक दृष्टिकोणले महत्त्वपूर्ण सडक बन्ने योजना प्रमुख अच्युत पन्तले बताए । पञ्चेश्वर बन्ने हल्लाले सडक घुमाउँदा लम्बाइ बढेपछि दीर्घकालीन रूपमा तिब्बत जोड्न र धार्मिक पर्यटकीय दृष्टिकोणले सो सडक सहज हुनेछ ।


अहिले महाकाली करिडोरमा लामा चन्द्र एन्ड वसन्त निर्माण सेवाले काम गरिरहेको छ । सो करिडोरअन्तर्गत बैतडीको बाराकोट भटालामा १७ किलोमिटर, गाँजरी-सिल्लेकमा १७ किलोमिटर, सलेना-धरमघरमा १० किलोमिटर र बेत-जोलजिवीमा १० किलोमिटर तथा दार्चुला-राताकाठामा ७ किलोमिटर ट्रयाक खुलाइएको छ । डडेल्धुराको जोगबुडा-कुँणा-ब्रहम्देव १७ किलोमिटर सडक सञ्चालनमा आएको छ ।


सडक निर्माण गर्नुपूर्व हुनुपर्ने वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम सुरु गरिएको छ । विगतमा महाकाली करिडोरको ईआइए नहुँदा सडक निर्माणमा ढिलाइ भएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?