१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

तीन महिनामै ८ लाखभन्दा बढीको तरकारी बिक्री

प्रताप विष्ट

हेटौंडा — मकवानपुरगढी गाउँपालिका ३ धमिलेका बद्रीप्रसाद तिम्लसिनाले तीन महिनामा ८ लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गरेका छन् । ५ बिघा जमिन भाडामा लिएर उनले खेती सुरु गरेका हुन् । एक वर्षमा १५ लाख रुपैयाँभन्दा बढीको तरकारी बिक्री गर्ने लक्ष्य छ ।

जीआई टनेल निर्माण गर्न काठमाडौंस्थित तरकारी विकास निर्देशनालयले तिम्लसिनालाई ८ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । उनले साढे ५ कट्ठा जमिनमा जीआई टनेल बनाएका छन् । १० कट्ठामा ८ वटा बेग्लै प्लास्टिकका टनेल छन । चार बिघाभन्दा बढी जमिनमा खुला रूपमा तरकारी खेती गरेका छन् ।


२०४० देखि तरकारी खेती गर्दै आएका ५० वषर्ीय तिम्लसिनाले भाडामा जग्गा लिएर तरकारी खेती गरेको यो पहिलो वर्ष हो । अहिले सबैभन्दा बढी काँक्रो र माछे खुर्सानी उत्पादन भइरहेको छ । फर्सी, जुकिनी फर्सी, गोलभेंडा, भेंडे खुर्सानी, करेला र बरेला पनि उत्पादनको चरणमा छन् ।


जेठ २ गतेसम्म साढे चार लाख रुपैयाँभन्दा बढीको काँक्रो बिक्री गरेको तिम्लसिनाले बताए । 'माछे खुर्सानी १ लाख ७५ हजारको, जुकिनी फर्सी १ लाख ९० हजार, फर्सी ७५ हजार, करेला र बरेला ५० हजार रुपैयाँको बिक्री गरिसकें,' कृषक तिम्लसिनाले भने, 'यो सिजनमा पनि १५ लाखभन्दा बढीको तरकारी उत्पादन गरेर बिक्री गर्ने लक्ष्य लिएको छु ।' वाषिर्क १ लाख २० हजार रुपैयाँ दिने गरी उनले जग्गा भाडामा लिएका हुन् ।


मल्चिङ र सिँचाइ प्रविधिबाट बिरुवालाई पानी पुर्‍याएका छन् । मकवानपुरगढी गाउँपालिकाका कृषि प्राविधिकहरूले नियमित प्राविधिक सहयोग प्रदान गरिरहेका छन् । 'नियमित उपस्थित भएर प्राविधिक ज्ञान दिने गरेका छन्,' कृषक तिम्लसिनाले भने, 'उनीहरूको सहयोग र हौसलाले पनि तरकारी खेती गर्न ऊर्जा मिलेको छ ।'


तरकारी हेटौंडास्थित तरकारी बजारका थोक बिक्रेतालाई बिक्री गर्छन् । दैनिक १ देखि २ ट्रक तरकारी उत्पादन भइरहेको छ । बजार भाउ राम्राे भएकाले उत्साहित भएको तिम्लसिनाले बताए । अहिले बजारमा काँक्रो प्रतिकिलो २५ रुपैयाँ र गोलभेंडा सयदेखि ११० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको छ । माछे खुर्सानी प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म बिक्री भइरहेको छ । 'मैले उत्पादन गर्ने तरकारी विषादी र रासायनिक मलरहित छ,' तिम्लसिनाले भने ।


उनले गरेको तरकारी खेती अवलोकन गर्न छिमेकी गाउँका कृषक मात्र होइन, जापानी राजदूतसमेत पुगे । ५ दिनअघि अवलोकनमा आएका राजदूत हौसला दिएर फर्किए । 'जग्गा भाडामा लिएर व्यावसायिक ढंगले यसरी मकवानपुर जिल्लामा कुनै पनि कृषकले तरकारी खेती गरेका छैनन्,' मकवानपुरगढी गाउँपालिकाका कृषि विकास प्रमुख चन्द्रकान्त चौधरीले भने ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?