१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नुवाकोटमा मल अभाव – 'अचार बाँडेजस्तो भयो'

कृष्ण थापा

नुवाकोट — जिल्लामा रासायनिक मलको हाहाकार भएको छ । मकै र चैते धानमा मल राख्न नपाउँदा किसान चिन्तित छन् । 'चैते धान र मकैलाई मल हाल्नैपर्‍यो,' विदुर नगरपालिका १२ चैनपुरका राजेन्द्रप्रसाद पनेरूले भने, 'पुग्दो मल पाइएन ।'

नुवाकोटमा मल अभाव – 'अचार बाँडेजस्तो भयो'

सिफारिसपत्र लिन ज्ञान केन्द्र आएका पनेरूले गाउँमा १ हजार ५ सय बोराभन्दा बढी मल आवश्यक रहेको बताए । 'अहिले मुस्किलले ३ सय बोरा पनि पाउन गाह्रो छ,' उनले भने, 'यो त गाउँमा अचार बाँडेजस्तो भयो ।' उनी चारघरे उपभोक्ता कृषि सहकारी संस्थामार्फत रासायनिक मल वितरण गर्छन् । संस्थाका अध्यक्षसमेत रहेका पनेरूले भने, 'मल लिन आउने जति सबैलाई दामासाहीले दिँदासमेत भाग पुगेको छैन ।' मान्द्रेढुंगा, मूलथला, चैनपुर, डाँडाखर्क, भदुवारलगायत गाउँका किसानलाई उक्त सहकारीमार्फत रासायनिक मल वितरण गरिन्छ ।


विदुर ३ का भीमप्रसाद रिमाल पनि रासायनिक मलका लागि सदरमुकाम विदुर धाइरहेका छन् । 'मकै र धानबालीलाई मल चाहियो,' सिर्खाली कृषि सहकारी संस्थाका अध्यक्ष रिमालले भने, 'चाहेजति मल पाइएन ।' उनलाई ३ हजार बोरा मल आवश्यक छ । २ सय बोरासम्म मात्र मल पाएको बताए । 'सदरमुकामबाट मल आएको सुन्दा गाउँलेहरू सडकमै हारालुछ गर्छन् । गोदाममा लगेर थन्क्याउन पाइँदैन । मलको हाहाकार पर्‍यो,' उनले भने ।

मल पाइने आसले किसान घरमै धर्ना कसेर बस्न थालेको रिमालले बताए । 'विदुर ३ मकैको बीउ उत्पादन गर्ने पकेट क्षेत्र हो,' अध्यक्ष रिमालले भने, 'युरिया मल नभए मकै फल्दैन ।' संस्थाले बुनीबेंसी, पुसुमटार, माझगाउँ, छापथोक, देवीघाट, सिर्खाली, कुमलटार, छोटेटार, ढोडेनी, मैदीटार, कछाडगाउँ, पिललडाँडा र बुद्धसिङघाटलगायत क्षेत्रमा रासायनिक मल वितरण गर्ने गरेको छ ।


एक रोपनी जग्गामा मकैलाई २ किलो र धानलाई ४ किलो मल लाग्ने किसानले बताए । 'सिजनमा मल नहाले एक रोपनी जग्गामा लगाएको धान स्वाट्टै घटेर आधा फसल मात्र दिन्छ,' रिमालले भने, 'ज्याला तिरेर लगाएको फसलमा मल नहालेपछि किसान मर्कामा पर्छन् ।' उनले ३ सय बोरा मल पाउने भएका छन् ।


जिल्लामा १५ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । चैते धान ६ हजार हेक्टर क्षेत्रफलमा हुन्छ । 'मलको समस्या परेको हो,' कृषि ज्ञान केन्द्र प्रमुख केशव खनालले, 'एक साताभित्रमा समस्या हल हुन्छ ।' नुवाकोटमा कम्तीमा ९ हजार टन रासायनिक मल चाहिने केन्द्रले जनाएको छ । अहिले कृषि सामग्री संस्थान त्रिशूलीले मल ल्याउन सकेको छैन । ल्याएको मल भारतीय नाकामा रोकिएको केन्द्रले जनायो ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?