कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

८ अर्बका पुल र सडक अलपत्र

४ अर्ब भुक्तानी, प्रगति न्यून
विमल खतिवडा

काठमाडौँ — अर्बौं लगानी गरेर निर्माण थालिएका उपत्यकाका केही सडक वषौर्ंदेखि अलपत्र छन् । ठेक्काको समयावधि सकिँदासमेत केहीको काम सुरु भएकै छैन, केहीको निर्माण सुस्त छ । 

८ अर्बका पुल र सडक अलपत्र

सवारी साधनको अत्यधिक चाप हुने सडक स्तरोन्नतिका लागि सरकारले अर्बौं लगानी गरे पनि प्रगति सोचेअनुरूप हुन सकेको छैन । त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक चार खण्डमा विभाजन गरी ठेक्का लगाइएको थियो ।

१ अर्ब ६३ करोड ८८ लाख ९४ हजार रुपैयाँमा ठेक्का लगाइएको सबै खण्डको सम्झौता अवधि सकिएको छ, काम भने ७५ प्रतिशत मात्रै भएको छ । उपत्यका भित्रिने र बाहिरिने नाका भएकाले यो सडकमा दैनिक सवारीको लाम लाग्छ ।

साढे १२ किमि सडक निर्माण थालिएको चार वर्ष भइसकेको छ । चार खण्डकै ठेक्का सम्झौता ०७२ असारमा भएको हो । दुई खण्डको ०७५ असोज, दुई खण्डको ०७५ कात्तिक र पुसमा समय सकिएको छ । चारमध्ये तीन खण्ड शैलुङ कन्स्ट्रक्सन र एक खण्ड बिरुवा सीएमले ठेक्का लिएका हुन् । यसको ठेक्का काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले लगाएको हो ।

आयोजनाका अनुसार सुरुमा सोचेअनुरूप काम हुन नसके पनि अहिले निर्माणले गति लिएको छ । 'सबै खण्डको सम्झौता सकिएको छ तर निर्माण सकिएको छैन,' आयोजनाका इन्जिनियर एवं प्रवक्ता विश्व विजयलाल श्रेष्ठले भने, 'मुआब्जा र सडकमा पर्ने घर भत्काउने विवादले लामो समय काम अघि बढ्न सकेन । गत साउनमा मात्र सरकारले यथास्थितिमा काम गर्न भनेपछि निर्माणले तीव्रता पाएको छ ।' आयोजनामार्फत ८ अर्बभन्दा बढीका पक्की पुल र सडक निर्माणाधीन छन् । जसमध्ये पौने ४ अर्ब भुक्तानी भइसकेको छ ।


त्यस्तै चाबहिल-जोरपाटी-वाग्मती-साँखु सडकको पनि ठेक्का सम्झौता सकिइसकेको छ । निर्माण भने अधुरै छ ।

यो खण्डको पाँच भागमा विभाजन गरेर ठेक्का लगाइएको थियो । जसमा चार खण्डको ०७२ असोजमा र एक खण्डको ०७४ असारमा ठेक्का सम्झौता भएको हो । पाँचै खण्डको सम्झौता अवधि सकिएको छ । १ अर्ब ७३ करोड ५४ लाख १५ हजारमा ठेक्का लागेको सडकमा जम्मा ५० प्रतिशत काम भएको आयोजनाले जनाएको छ । सडक १२ किमि छ ।

'पानी नपरेको भए चाबहिल खण्डको काममा केही प्रगति हुन्थ्यो,' प्रवक्ता श्रेष्ठले भने, 'पिच गर्ने तयारी गरिरहेको अवस्थामा शौचालयको ढल फुटयो, यो बनाउने ठेक्कामा छैन । आकाशको पानी सडकमा परे मात्र सफा गर्ने हो ।' अदालतले जग्गाको मुआब्जा दिएर काम गर भनेपछि केही ठाउँमा समस्या भएको छ । 'जग्गाको मुआब्जा दिन सरकारले निर्णय गर्नुपर्छ तर निर्णय गरेको छैन, एक ठाउँमा मात्र दिएर पनि भएन, सबैतिर दिनुपर्ने हुन्छ,' उनले भने, 'त्यसैले हामी मुआब्जामा गएका छैनौं, उपलब्ध चौडाइमा काम गर्ने हो ।' उनका अनुसार पहिला पर्खाल लगाइसकेको ठाउँमा पनि काम गर्न पाइएको छैन ।

लगनखेल-सातदोबाटो सडक खण्डमा पनि निर्माण सुस्त छ । सडकमा पर्ने घर भत्काउन नसक्दा समस्या परेको आयोजनाले जनाएको छ । उक्त सडकमा जेठ मसान्तसम्म चार/पाँच सय मिटर पिच गर्ने दाबी आयोजनाको छ । इमाडोल-लामाटार खण्डमा मुआब्जाको मुख्य समस्या छ । थोरै खाली ठाउँमा मात्र काम भएको छ ।

ढोलाहिटी-सुनाकोठी-चापागाउँ-सरस्वतीकुण्ड खण्डमा बढी समस्या छ । 'सबैभन्दा बढी समस्या भएको सडक यही हो,' प्रवक्ता श्रेष्ठले भने, 'सुरुको प्याकेजमा ५ सय मिटर मात्र पिच भएको छ, दोस्रो प्याकेजमा काम भएकै छैन । स्थानीयले अब घर नभत्काउने, भएको सडकलाई पिच गरिदिनुपर्ने माग राखेका छन् ।' यो क्षेत्रमा सबैभन्दा बढी मठमन्दिर छन् । 'हाम्रो डिजाइन २० मिटरको छ, सडक ४/५ मिटरभन्दा छैन,' श्रेष्ठले भने, 'घर नभत्काई सडक पिच गर्नुपर्ने माग स्थानीयको छ, हाम्रो भनाइ सडकमा पर्ने घर नभत्काई सडक बनाउन सक्दैनौं भन्ने हो ।'

यो खण्डका स्थानीय सडककै कारण पीडित छन् । दैनिक जनजीवन प्रभावित छ । धूलो र खाल्डाले समस्या थपेको छ । निर्माण व्यवसायीको लापरबाहीले निर्माणमा ढिलाइ भएको स्थानीयले बताउँदै आएका छन् । ढिलाइबारे बुझ्न खोज्दा निर्माण व्यवसायी सम्पर्कमा आउन चाहँदैनन् ।

यो खण्डलाई चार भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । दुई खण्डको सम्झौता सकिएको छ भने दुई खण्डको बाँकी छ । १३ किमि सडक निर्माणको ठेक्का रकम १ अर्ब ३२ करोड ६ लाख ८ हजार छ ।त्यस्तै कर्मनासा-गोदावरी कुण्ड सडक खण्डमा डेढ किमि मात्र पिच भएको छ । दुई खण्डमध्ये एकको समय सकिएको छ ।

जोरपाटी-सुन्दरीजल सडकखण्डमा केही काम भएको छैन । सामान्य मर्मतको काम मात्र भएको उनले बताए । नक्खुखोला-बुङ्मती सडकमा भने काम भइरहेको छ । लथालिंग सडकले राजधानी कुरूप बन्दै गएको छ । उपत्यकाका अधिकांश सडक र पक्की पुलको ठेक्का आयोजनामार्फत भएका छन् ।

अहिले ८ अर्ब १६ करोड ५८ लाख २९ हजारको ठेक्का चालु छ । प्रगति भने सन्तोषजनक छैन । 'समस्या भएको त्रिपुरेश्वर-कलंकी-नागढुंगा सडक खण्डमा अहिले समस्या छैन, धमाधम काम भइरहेको छ,' सडक विभागका महानिर्देशक केशवकुमार शर्माले भने, 'असारबाट यो बाटोको बिजोग हेर्नुपर्ने छैन, सहज बन्छ ।' अहिले यो खण्डमा दोस्रो तहको पिच निर्माणको काम भइरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?