१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लुम्बिनी भ्रमण वर्ष सुरु

सिद्धार्थ राजकुमारको जन्मभूमि लुम्बिनी र त्यस आसपासका धार्मिक, पर्यटकीय, पुरातात्विक तथा ऐतिहासिक महत्वका स्थानको पहिचान, संरक्षण र संवर्द्धनका लागि भ्रमण वर्ष घोषणा

लुम्बिनी — आन्तरिक पर्यटन प्रवर्द्धनका लागि शनिबारबाट लुम्बिनी भ्रमण वर्ष आरम्भ भएको छ । संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको पूर्वतयारीस्वरूप प्रदेश ५ सरकारले भ्रमण वर्ष २०७६ घोषणा गरेको हो ।

लुम्बिनी भ्रमण वर्ष सुरु

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा आयोजित समारोहमा दीप प्रज्वलन गरेर भ्रमण वर्ष शुभारम्भ गरिन् ।

लुम्बिनीको महत्त्वलाई मुलुकभित्र र बाहिर प्रचार गरेर पर्यटक आकषिर्त गर्न प्रदेश सरकाले भ्रमण वर्षभरि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । भ्रमण वर्षका लागि प्रदेश सरकारले ४ करोड १९ लाख बजेट विनियोजन गरेको छ । बुद्ध पूणिर्माको दिन पारेर भ्रमण वर्ष सुरु गरिएको हो ।


यसअघि एक महिनासम्म प्रदेश पर्यटन मन्त्रालयले गठन गरेका विभिन्न समितिले मुलुकका विभिन्न जिल्लामा पुगेर भ्रमण वर्षको प्रचारप्रसार गरेका थिए । शनिबार शुभारम्भका दिन विदेशबाट समेत अतिथि आएका थिए । प्रदेश समृद्धिको आधार पर्यटन भएको निष्कर्षसहित प्रदेश सरकारले लुम्बिनीको प्रवर्द्धनमा जोड दिएको छ ।


राष्ट्रपति भण्डारीले कपिलवस्तु, रूपन्देही र नवलपरासीका महत्त्वपूर्ण बुद्धस्थललाई बुद्ध परिपथले एकअर्कामा जोडेर विश्वकै उत्कृष्ट सांस्कृतिक पर्यटकीय स्थल बनाउन सकिने बताइन् । राष्ट्रिय गौरवको लुम्बिनी गुरुयोजना सक्दो छिटो कार्यान्वय गर्न सरकारको ध्यानाकर्षण गरिन् ।


एकीकृत लुम्बिनी विकासको गुरुयोजना तर्जुमा गर्न स्थानीय समुदायबाट प्राप्त सहयोग र सद्भावको प्रशंसा गरिन् । सक्दो छिटो लुम्बिनीको गुरुयोजना पूरा गर्न सरकारको ध्याकर्षण गराइन् । भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम छिटो सक्नुपर्नेमा उनको जोड थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाएर शान्तिकामीलाई एकपटक पुग्नैपर्ने ठाउँ बनाउने बताए । आफू प्रधानमन्त्री बनेपछि लुम्बिनीको विकासका लागि निरन्तर क्रियाशील रहेको बताए । उनले सन् १९७० मा महासचिव उत्थान्तको सक्रियतामा बनेको लुम्बिनी अन्तर्राष्ट्रिय समितिलाई सक्रिय बनाउन आफू लाग्ने बताए ।


मुख्यमन्त्री शंकर पोखरेलले विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक बनाउन भ्रमण वर्ष शुभारम्भ गरिएको बताए । 'जुन ढंगले यहाँको विकास हुनुपर्ने हो,' उनले भने, 'त्यो नभएपछि स्थानीयसँग साझेदारी गरी अघि बढेका हौं ।


लुम्बिनीबाहेक अन्य बौद्ध सम्पदाको अवस्था दयनीय रहेको उनले बताए । लुम्बिनीबाहेक बौद्ध स्थलको विकासका लागि नयाँ सोचका साथ अघि बढ्नुपर्ने उनले औंल्याए । 'अब कपिलवस्तुका दुई बुद्ध स्थल गोटिहवा र निग्लिहवामा उहाँका तस्बिर राखिन्छ,' उनले भने, 'यसले कनकमुनि र क्रकुछन्द बुद्ध कस्ता थिए भन्ने जानकारी सजिलै हुन्छ ।'


भ्रमण वर्षका कार्यक्रमले थप पर्यटक यहाँ आउने लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले बताए । 'लुम्बिनी प्रदेश समृद्धिको आधार बन्छ,' उनले भने, 'यसबाट स्थानीय बासिन्दाले पर्यटकीय लाभ लिन सक्छन् ।' सिद्धार्थ राजकुमारको जन्ममूमि लुम्बिनी र आसपासका धार्मिक, पर्यटकीय, पुरातात्त्विक र ऐतिहासिक महत्त्वका स्थानको पहिचान, संरक्षण र संवर्द्धन गर्न प्रदेश सरकारले भ्रमण वर्ष घोषणा गरेको होे ।


प्रदेशले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विभिन्न समयमा कार्यक्रम आयोजना गरेको छ । लुम्बिनीसँगै तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा र सिसहनियालगायतका ठाउँलाई समेटेर प्रवर्द्धनात्मक कार्यक्रम गरिनेछ । भ्रमण वर्षमा प्रसूति उत्सव कार्यक्रम गरिनेछ ।


यस्तै लुम्बिनी फुड फेस्टिबल, सुजाता खिर उत्सव र मायादेवी मन्दिर परिसरमा मासिक फुल मुन डे उत्सव गरिनेछ । धार्मिक यात्रा, त्रिपिटक वाचन, पूजाआजा, योग तथा ध्यान शिविर र सडक प्रदर्शनीको आयोजना गरिनेछ । बुद्धसँग सम्बन्धित सडक प्रदर्शनी नेपालका सातवटै प्रदेशमा र पर्यटन व्यवसायीसँगको सहकार्यमा बुद्धको महिमा गाँसिएका भारतका कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा पनि प्रदर्शन गर्ने कार्यक्रम छ ।


वर्षभरिमा लुम्बिनीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । लुम्बिनी पर्यटकीय हिसाबले घुम्ने मात्र होइन, आध्यात्मिक ऊर्जा पनि उत्तिकै पाइन्छ भन्ने सन्देश विश्वमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले बतााए । 'अधिकांश फोटो खिचाउन मात्र यहाँ आउँछन्,' उनले भने, 'त्यो लुम्बिनी नबुझेकाका लागि हो ।'


शान्ति र धार्मिक महत्त्व बुझाउने काम भ्रमण वर्षले गर्ने उनले बताए । पछिल्लो एक वर्षयता यहाँ भएको शान्ति गतिविधिले करुणामैत्री, मुदिता र सद्भाव राम्रो पाउन सकिन्छ भन्ने सन्देश पुगेको उनले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?