कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कोसी करिडोरलाई ढुंगागिट्टी महँगो

काठमाडौँ — स्थानीय खोलाबाट ढुंगागिट्टी निकाल्न नपाएपछि कोसी करिडोरअन्तर्गतको तुम्लिङटार सबस्टेसनमा प्रयोग हुने ढुंगागिट्टी १० गुणाले महँगिएको छ । तुम्लिङटारस्थित सबस्टेसन निर्माणका लागि आवश्यक पर्ने ढुंगागिट्टी ठेकेदार कम्पनीले इटहरीबाट ल्याइरहेको आयोजना प्रमुख राजन ढकालले जानकारी दिए ।

संखुवासभास्थित सवा खोलाबाट ढुंगागिट्टी निकाल्न सामुदायिक वनले नदिएपछि ठेकेदार कम्पनीले १० गुणा बढी मूल्य तिरेर निर्माण सामग्री ल्याइरहेका छन् । 'इटहरीबाट आयोजनास्थलमा एक ट्रक सामान ल्याउन मात्रै दुई दिन लाग्छ,' आयोजना प्रमुख ढकालले भने, 'यहाँ ७-८ हजारमा पाइने ढुंगागिट्टी इटहरीबाट ल्याउँदा ७० हजारसम्म पर्छ ।'


अरुणसभा सामुदायिक वन उपभोक्ता समितिको विरोधपछि यहाँ सञ्चालित दुईवटा क्रसर उद्योग एक वर्षदेखि बन्द छन् । डिभिजन वन कार्यालयले ती क्रसर उद्योगमा सिलबन्दी गरिदिएको छ । खोलाभित्रै डोजर लगाएर क्रसर उद्योगीले ढुंगा र बालुवा झिक्न थालेपछि समस्या भएको उपभोक्ता समितिका अध्यक्ष मोहन बस्नेत बताउँछन् । खोलाभित्रबाट बालुवा र ढुंगा झिक्न थालेपछि सभाखोलाको पक्की पुलमा पनि जोखिम बढेको उनले बताए ।


'हाम्रो नुहाउने र कपडा धुने त्यही ठाउँ हो, गहिरिन थालेपछि समस्या भयो,' उनले भने, 'सुरुमा बाहिरको मात्र ढुंगा चलाउन आग्रह गर्दा क्रसरवालाले मानेनन्, त्यसपछि वन कार्यालयमा उजुरी गरेर क्रसर चलाउन बन्द गरेका हौं ।' क्रसर बन्द भएपछि यहाँ सञ्चालित ठूला र साना विकास निर्माणका काम ठप्प छ ।


भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत् यही प्रसारण लाइनमा जोड्ने तयारी साथ काम थालिएको हो ।


कोसी कोरिडोरअन्तर्गत इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सबस्टेसन निर्माण फेबु्रअरी २०२० मा सक्ने लक्ष्य छ । यसका लागि २ करोड ५३ लाख डलर लाग्ने अनुमान छ । सबस्टेसन निर्माणको कामलाई दोस्रो प्याकेजअन्तर्गत राखेर टेन्डर गरिएको छ ।


सबस्टेसन निर्माणको ठेक्का भारतीय कम्पनी लार्सेन एन्ड टर्बोले करिडोरको पहिलो प्याकेजमा इनरुवा-वसन्तपुर-वानेश्वर-तुम्लिङटार १०५ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइन छ । प्रसारण लाइनको यो खण्ड अबको दुई महिनामा सक्ने लक्ष्य छ । आयोजनाको पहिलो प्याकेजको अनुमानित लागत ३ करोड ७५ लाख अमेरिकी डलर छ ।


तेस्रो प्याकेजमा वसन्तपुर-ढुंगेसाँघु -ताप्लेजुङ) ३३ किलोमिटर प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । २ करोड २० लाख डलर अनुमानित लागत रहेको आयोजनाको काम डिसेम्बर २०२० मा सक्ने लक्ष्य छ ।


स्थानीयस्तरमा निर्माण सामग्री रोकिँदा आयोजनाको काम रोकिने विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 'ठेकेदार कम्पनीले स्थानीयस्तरमा पाउने निर्माण सामग्रीको आधारमा ठेक्का रकम हालेको हुन्छ,' उनले भने, 'निर्माण सामग्री १० गुणा महँगो भएको गुनासो छ ।'


'सबै ठाउँमा अवरोध भएपछि कसरी विकास निर्माणको काम गर्ने,' उनले भने, 'सबस्टेसन बन्न ढिलाइ हुन्छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?