कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

मानसरोवर 'गेटवे’ मा यात्रुलाई खादा

विभिन्न धर्मावलम्बीहरुको साझा तीर्थस्थल कैलाश मानसरोबर जान लागेकामध्ये १९३ जना भारतीय तीर्थयात्री हिल्सा पुगे 

सिमकोट — मानसरोवर कैलाश दर्शनका लागि भारतीय तीर्थयात्रीको आगमन सुरु भएको छ । यो सिजनको सुरुमा हुम्ला पुगेको तीर्थयात्रीको समूहलाई शनिबार सिमकोटमा स्वागत गरियो । होटल व्यवसायी संघले बिहान एयरपोर्टमै पुगेर तीर्थयात्रीलाई बाजागाजासहित खादा लगाएर स्वागत गरेको हो । 

मानसरोवर 'गेटवे’ मा यात्रुलाई खादा

आइतबारसम्म २५५ यात्रु सिमकोट आएका छन् । तीमध्ये १ सय ९३ जना हिल्सा पुगिसके । होटल व्यवसायी संघका अध्यक्ष मिम लामाले पर्यटकलाई नेपालबारे राम्रो सन्देश दिनका लागि स्वागत गरिएको बताए । 'उहाँहरू खुसी हुनुभएको छ,' उनले भने, 'फर्केर गएपछि फेरि आउँआउँ बनाउन र अरूलाई नेपालबारे राम्रो जानकारी दिऊन् भनेर स्वागत गरिएको हो ।'


भारतको उत्तराखण्डका ६५ वषर्ीय राकेश गुप्ताले मानसरोवरको 'गेटवे' सिमकोटमा स्वागत पाउँदा अत्यन्त खुसी लागेको बताए । यसबाट मौसम र हावापानीका कारण कठिन मानिने मानरोवार कैलाश यात्रा शुभ हुने विश्वास व्यक्त गरे ।


होटल व्यवसायी संघले मानसरोवर जाने यात्रुलाई सिमकोट आएको दिन सिमकोटमै बस्नुपर्ने नयाँ व्यवस्था पनि लागू गरेको छ । नेपालगन्ज, सुर्खेतजस्ता गर्मी ठाउँबाट आएर उही दिन हिल्सा जाँदा लेक लाग्ने सम्भावना भएकाले जोखिम घटाउन यस्तो व्यवस्था गरिएको अध्यक्ष लामाले बताए । 'हामीले सम्भव भएसम्म सिमकोट आसपासका पर्यटकीयस्थलसमेत घुमाउने प्रबन्ध मिलाएका छौं,' उनले भने, 'यसले तीर्थयात्री र हुम्लालाई दोहोरो फाइदा हुन्छ ।'


आइतबार तीर्थयात्रुलाई सिमकोटबाट हिल्सा पुर्‍याउन भ्याइनभ्याई भयो । समिट एयरले आठ र माउन्टेन एयरले १५ फ्लाइट गरे । मानसरोवर कैलाश जाने यात्रुहरू नेपालगन्ज तथा सुर्खेतबाट जहाजमा सिमकोट र सिमकोटबाट हेलिकप्टरमा हिल्सासम्म पुग्ने गर्छन् । यो सिजनमा हेलिकप्टर कम्पनी यात्रु ओसार्न व्यस्त हुन्छन् । सिमि्रक एयरका प्रतिनिधि कमल गौतमले सिजन सुरु भएसँगै हेलिकप्टर कम्पनीको व्यस्तता बढ्ने बताए ।


छपाल लामा (प्रशिक्षार्थी)

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?