विस्तार गरिँदै अप्टिकल फाइबर 

साढे दुई वर्षपछि बल्ल कार्यान्वयन

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको साढे दुई वर्षपछि नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गअन्तर्गत प्रदेश १ देखि ३ सम्म अप्टिकल फाइबर बिछयाउने काम सुरु गर्ने भएको छ ।

विस्तार गरिँदै अप्टिकल फाइबर 

टेलिकमले आज सोमबारदेखि अप्टिकल फाइबर विस्तारको काम सुरु गर्न लागेको हो । अप्टिकल फाइबर विस्तारको काम गर्न टेलिकमले विभिन्न ५ कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।


प्रदेश १ मा ५९६ किलोमिटर अप्टिकल फाइबर बिछयाउने टेलिकमले जनाएको छ । यसका लागि कोरियाली कम्पनी एलएस कबल्ससँग सम्झौता भइसकेको छ । प्रदेश २ मा १ हजार २८ किलोमिटर अप्टिकल फाइबर विस्तार हुनेछ । प्रदेश २ मा काम गर्न आराग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेल्वे र चाइना फयुलको जोइन्ट भेन्चरले पाएका छन् ।


प्रदेश ३ मा ४ सय ५५ किलोमिटरमा फाइबर बिछयाइने टेलिकमले जनाएको छ । यो कामको जिम्मा हङकङको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल -सीसीएसआई) ले पाएको छ । अप्टिकल फाइबर विस्तारको क्रममा आवश्यक पर्ने डीडब्ल्यूडीएम र राउटरजस्ता उपकरणका लागि क्रमशः सीसीएसआई र सिंगापुरको सीटीएस कम्युनिकेसनसँग सम्झौता भएको छ ।


आज (सोमबार) देखि धादिङ, सिन्धुली र धनकुटाबाट एकैपटक काम सुरु हुने टेलिकमले जनाएको छ । धादिङबाट सुरु हुने कामको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । टेलिकमले मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको चियोभन्ज्याङदेखि गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर विस्तार गर्दै छ ।


दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरी अप्टिकल फाइबर विस्तारका लागि टेलिकमलाई जिम्मा दिएको हो । प्राधिकरण र टेलिकमबीच २०७३ असोज १२ गते सम्झौता भएको थियो । अप्टिकल फाइबर विस्तारको काम दुई वर्षमा सक्ने उल्लेख भए पनि ढिला गरी काम सुरु भएको हो ।


यो योजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा ८ सय ४ किलोमिटर अप्टिकल फाइबर बिछयाइनेछ । लोकमार्गको वरपरका जिल्ला सदरमुकाम जोड्ने गरी थप १ हजार ५ सय ७२ किलोमिटर लिंक विस्तार गरिनेछ । यसअन्तर्गत कुल २ हजार ३ सय ७६ किलोमिटर अप्टिकल फाइबर विस्तार गरिने टेलिकमले जनाएको छ । लोकमार्गमा ९६ कोर क्षमताको अप्टिकल फाइबर विस्तार हुनेछ भने लोकमार्गबाट विभिन्न जिल्ला सदरमुकामसम्म ४८ कोरको अप्टिकल फाइबर विस्तार हुनेछ ।


सदरमुकामबाट नगरपालिका जोड्न २४ कोरको अप्टिकल फाइबर प्रयोग हुनेछ । तीन प्रदेशका ३२ जिल्ला सदरमुकाम र स्थानीय निकाय अप्टिकल फाइबर सञ्जालमा जोडिनेछन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?