शुभकार्यलाई ‘करोडपति सिजन–३’ को १० लाख हस्तान्तरण

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुरको वार्षिक ग्राहक योजनाअन्तर्गत ‘करोडपति सिजन–३’ को पहिलो मासिक विजेता शुभकार्य सेभिङ एन्ड क्रेडिट लिमेटेडलाई १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ ।

सोमबार थापाथलीस्थित कान्तिपुर पब्लिकेन्सन्सको कार्यालयमा कान्तिपुर दैनिकका समाचार सम्पादक श्रीश भण्डारीले शुभकार्यका प्रबन्ध निर्देशक सुमन कार्कीलाई नगद हस्तान्तरण गरेका थिए ।

आलोकनगर, नयाँ बानेश्वरमा रहेको शुभकार्य सेभिङका तर्फबाट राजेश लामा, विवश मगर, तेज साहु र कृष्ण तामाङले पनि नगद बुझिलिए । ‘पुरस्कार जित्नुभन्दा १५ दिनअघिसम्म मैले व्यक्तिगत ग्राहकका रूपमा सब्स्क्रिप्सन लिएको थिएँ,’ कार्कीले भने, ‘संस्थाबाट ग्राहक भएपछि पुरस्कार जितियो, झन् खुसी लागेको छ ।’ आफूले जितेको भए अनायास खर्च भएर सकिनेमा अब संस्थागत प्रयोजनमा खर्च गर्ने उनले बताए । सदस्यसँग सल्लाह गरेर केही प्रतिशत समाज सेवामा लगाउने उनको भनाइ थियो ।

केहीअघि गरिएको ‘लक्की ड्र’ मा संस्थाको नाम परेको थियो । ‘पत्रिकामा संस्थाको नाम आएको छ भनेर दाइले फोन गर्नुभयो,’ कार्कीले भने, ‘म त डराएँ । गल्ती त केही गरेको छैन, किन नाम आयो भन्ने लाग्यो ।’

हरेक साता आइतबार कान्तिपुर टेलिभिजनको ‘कल कान्तिपुर’ कार्यक्रममा ‘लक्की ड्र’ हुने गरेको छ । कान्तिपुर वार्षिक ग्राहक योजनामा कान्तिपुर दैनिक र द काठमाडौं पोस्टका वार्षिक ग्राहकले सहभागिता जनाउन पाउनेछन् ।

लक्की ड्रमार्फत एक जना ग्राहकले बम्पर उपहारका रूपमा एक करोड नगद पाउनेछन् । ‘लक्की ड्र’ मार्फत मासिक १० लाख रुपैयाँ जित्न सक्नेछन् । साप्ताहिक ‘लक्की ड्र’ मा १ लाख रुपैयाँ नगद पाउनेछन् ।

ग्राहक बन्नासाथ ग्राहकले हातहातै शिखर इन्स्योरेन्सबाट ५ लाखको दुर्घटना बिमासहित स्वास्थ्य बिमामा ७ सय ५० रुपैयाँ छुट पाउनेछन् । र्स्क्याच कार्डमार्फत २ सयदेखि २ हजार ५ रुपैयाँसम्मको नगद छुट पाउनेछन् । पत्रिकाको ग्राहकले ल्यापटप, एलईडी टीभी, स्मार्ट फोन, वायरलेस हेड फोन, स्मार्ट वाचसमेत पाउनेछन् ।

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोहनी लाउँदै मनास्लु

मनास्लु क्षेत्र भ्रमण गर्नेमा जर्मन र फ्रान्सेली पर्यटक धेरै 
हरिराम उप्रेती

गोरखा — पछिल्लो दुई महिनामा मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या बढेको छ । मार्च, अप्रिल, मे तथा अक्टोबर र नोभेम्बरलाई मनास्लु संरक्षण क्षेत्र भ्रमणको उपयुक्त समय मानिन्छ ।

गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न आएका पर्यटक ।तस्बिर : कान्तिपुर

मार्चमा ९ सय ५९ र अप्रिलमा १ हजार १ सय ५९ पर्यटक उक्त क्षेत्र पुगेको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का प्रमुख नरेन्द्र लामाले बताए । ‘अझै पर्यटक बढ्थे,’ लामाले भने, ‘यस वर्ष धेरै समय हिमपात भयो, फागुनभर पर्यटक आउन सकेनन्, चैतबाट मात्र पर्यटकको चाप बढ्यो ।’ अघिल्ला वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको उनले बताए ।

सन् २०१८ मा ७ हजार ६ सय ४० पर्यटक मनास्लु संरक्षण क्षेत्र घुम्न आएका थिए । ‘चालु वर्ष ८ हजार पर्यटक आउँछन् भन्ने अनुमान गरेका छौं,’ उनले भने । मनास्लु क्षेत्र भ्रमण गर्ने जर्मन र फ्रान्सेली पर्यटक धेरै छन् ।

नेदरल्यान्ड, ब्राजिल, स्पेन, अर्जेन्टिना, जोडर्न, फिनल्यान्ड, उरुग्वे, पोल्यान्ड, जापान, चीन, टर्की, अमेरिका र दक्षिण अफ्रिकाका नागरिक पनि उक्त क्षेत्रको भ्रमणमा आउने गरेका छन् ।

एमक्यापअन्तर्गतको पर्यटक जाँच चौकी जगत्ले पदयात्रा मार्ग भएर जाने पर्यटकको विवरण संकलन गर्दै आएको छ । विदेशी पर्यटकको मात्रै अभिलेख राख्ने गरिन्छ । आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको एमक्यापले जनाएको छ ।

प्राकृतिक र सांस्कृतिक महत्त्वसहित मनमोहक मनास्लु पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताए । संरक्षित जंगलमा पाइने लोपोन्मुख प्रजातिका वन्यजन्तु, चराचुरुंगी, गुम्बा, हिमशृंखला र वातावरणले पर्यटक तान्ने स्थानीय बताउँछन् ।

संरक्षण क्षेत्रअन्तर्गत नुब्री र चुम उपत्यका पर्यटकको रोजाइमा पर्छन् । ५ हजार २ सय मिटर उचाइको लार्के पार गरेर मनाङ निस्कने पर्यटक पनि त्यहाँ पुग्छन् । सामान्यतया आठ दिनमा लार्के पार गर्न सकिन्छ ।

निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि खुला गरेको हो । चुम क्षेत्र भने २०६३ असोज ३० बाट मात्र खुला भएको थियो । त्यसयताका हरेक वर्ष उक्त क्षेत्र आउने पर्यटकको संख्या बढ्दै आएको छ ।

खुला गरिएयता ५४ हजार ८ सय ४४ पर्यटक पुगेको एमक्यापको अभिलेखमा छ । पर्यटकको चाप बढेसँगै होटल व्यवसाय फस्टाएको छ । ‘पर्यटक आउने सिजनै हो,’ सिर्दिबासकी सञ्जु गुरुङले भनिन्, ‘होटल खाली राख्नुपरेको छैन, चहलपहल राम्रै छ ।’

चुमनुब्री गाउँपालिकाअन्तर्गतको ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार, सिर्दिबास र सामागाउँलाई समेटेर मनास्लु संरक्षण क्षेत्रका रूपमा विकास गरिएको छ ।

पदमार्ग सुधारको खाँचो
बर्खायाममा पदमार्ग क्षेत्रका केही भागमा ढुंगा झर्ने तथा पहिरोले कटान गर्दा असुरक्षित रहेको भन्दै स्थानीयले चिन्ता जनाए । चौंरीखर्क कटेर छेकम्पार पुग्न ज्यानको बाजी लगाउनुपर्ने अवस्था रहेको छेकम्पारका स्थानीय कान्छा लामाले बताए ।

‘माथि भीरमा वन्यजन्तु हिँड्दा ढुंगा खस्न सक्छ, पानी परेको बेला त यसै पहिरोको डर, तल हेरे पनि भीर छ,’ उनले भने, ‘चौंरीखर्कको बाटो मर्मत गर्न पनि गाह्रो छ, वैकल्पिक बाटो बनाउन कसैले चासो दिएन ।’

चौंरीखर्कको बाटो सुधारका लागि आगामी आर्थिक वर्ष प्राथमिकतामा राखेर काम गर्ने एमक्यापका प्रमुख लामा बताउँछन् । ‘सानोतिनो पैसाले हुँदैन, आगामी आर्थिक वर्ष अप्ठ्यारो पदमार्ग सुधारमा बजेटलाई प्राथमिकता दिन्छौं,’ लामाले भने ।

लार्केपासदेखि मनाङको भीमथानसम्मको पदमार्ग पनि सुधार गर्नुपर्ने उनले बताए । चालु अर्थिक वर्ष रुविनालाबाट न्याकसम्म पदमार्ग सुधार्न रकम छुट्टाइएको छ । पर्यटन बोर्डले एमक्यापमार्फत उक्त पदमार्ग सुधारका लागि १० लाख तथा धर्मशालामा क्याम्पसाइट निर्माणका लागि १५ लाख बजेट छुट्याएको लामाले बताए ।

‘रुविनाला क्षेत्रमा ग्लासिएर माथि पदमार्ग छ, यस्तो बाटो अस्थायी प्रकृतिको हुन्छ,’ उनले भने, ‘अहिले छुट्टिएको पैसा पर्याप्त होइन, बाटो क्लिएर गरेर अप्ठ्यारो ठाउँमा सम्याउने काममा खर्चन्छौं ।’

धर्मशालामा क्याम्पसाइट निर्माणका लागि जेठ अन्तिम साता डिटेल सर्भेको काम सक्ने उनले सुनाए । ‘पर्खाल लगाएर टेन्ट टाँग्न मिल्ने ठाउँ बनाउने योजनामा छौं, शौचालय र खानेपानीको व्यवस्था गर्न सके पर्यटकलाई सजिलो हुन्छ ।’

प्रकाशित : जेष्ठ ७, २०७६ १०:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT